तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
केपी शर्मा ओलीः राम र अयोध्याबारे प्रधानमन्त्रीको 'वाणी-बम' सुनेर नेकपाकै नेताहरू चकित
प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू धर्मग्रन्थ रामायणमा वर्णन गरिएको अयोध्या नेपालमा रहेको र राम पनि नेपालमा जन्मिएको भनी गरेको दाबीले उनकै पार्टीभित्र तरङ्ग उत्पन्न गरिदिएको छ।
भारतको सत्तारूढ दल भाजपाका प्रवक्ताले ओलीको अभिव्यक्तिको निन्दा गरिसकेका छन्।
उनको अभिव्यक्ति सुनेर कैयौँ नेताहरू अचम्म परेका छन्। तिनै मध्येका एक नेकपा स्थायी समिति सदस्य बेदुराम भुसाल भन्छन्, "त्यो सुनेपछि म आफैँ अचम्मित भएको छु। प्रधानमन्त्रीलाई कसले बोल्न लगाउँछ?"
" अनावश्यक विषयमा बोल्न लगाएर, को हो त्यहाँ सल्लाह दिने, केही बुझिँदैन।"
पार्टी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरेका उनी वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन्।
प्रधानमन्त्री निकटस्थहरूले विभिन्न अनुसन्धान र प्रमाणहरूबाट प्रधानमन्त्रीको दाबी पुष्टि हुने तर्क गरेका छन्।
'प्रधानमन्त्रीलाई फसाए'
तर नेता भुसाल यदि कुनै नयाँ तथ्य पत्ता लागेको हो भने पनि अनुसन्धानको निष्कर्ष प्रकाशित गरेर सरकारले निर्णय गर्ने प्रक्रिया अपनाउनुपर्ने ठान्छन्।
"कुनै एक जनाले लेख लेखेर त हुँदैन। अकाट्य तथ्यमा आधारित हुनुपर्छ। आधार भए पनि सार्वजनिक रूपमा बोल्नुअघि त्यसबारे कसरी जाने भनेर एउटा टुङ्गो गरेर जानुपर्छ।"
आफ्नो ठम्याइ सुनाउँदै भुसाल प्रतिप्रश्न गर्छन्, "हजारौँ वर्षदेखि अयोध्या त्यहाँ (भारतमा) हो भनेर मान्छे बसेका छन्। कुन चाहिँ फन्टुसले मैले अनुसन्धान गरेँ भनेर उहाँलाई बोल्न लगायो, फसायो। नत्र यस्तो कुरा पनि बोल्न हुन्छ?"
नेकपाका विदेश विभाग उपप्रमुख राम कार्कीलाई पनि प्रधानमन्त्रीको अभिव्यक्ति उपयुक्त लागेको छैन। उनका भनाइमा राम र अयोध्याको प्रसङ्ग इतिहासभन्दा पनि मिथक हो।
यो विश्वासको कुरा मात्रै भएको भन्दै उनी तर्क गर्छन्, "त्यसैले राजनेताहरूले त्यस्तो विषयमा नबोल्दा राम्रो हुन्छ। अरू कसैले आफ्नो ज्ञान प्रकट गरेको भए राम्रो हुन्थ्यो।"
प्रधानमन्त्री ओलीले पार्टी स्थायी समिति बैठक चलिरहेका बेला यसअघि भारततर्फ लक्षित गर्दै सरकार ढाल्न चलखेल गरिरहेको आरोप लगाए र त्यसमा स्वर मिलेको भन्दै पार्टीका नेताहरूतर्फ पनि सङ्केत गरेका थिए।
ओलीको ताजा 'वाणी-बम'
पार्टी बैठकमा त्यसको चर्को आलोचना भयो र प्रधानमन्त्रीको राजीनामा मागियो।
नेता राम कार्कीले 'पार्टीका नेताहरूले त्यो अभिव्यक्ति असान्दर्भिक भनेको' प्रसङ्ग उल्लेख गरे र त्यसलाई प्रधानमन्त्रीले राम्ररी ग्रहण गरेको नदेखिएको बताए।
प्रधानमन्त्रीको अघिल्लो अभिव्यक्तिपछि चर्किएको विवादकाबीच बैठक स्थगित छ।
यही बेला प्रधानमन्त्रीले दिएको यस पटकको अभिव्यक्तिलाई भारत लक्षित अर्को 'वाणी-बम'को रूपमा लिइएको छ।
आत्मालोचनाको माग
नेकपाका अर्का नेता वामदेव गौतमले लेखेका छन्ः "राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु।"
ओलीसँग अयोध्याबारे पहिला पनि कुरा भएको स्मरण गर्दै उनले प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत् सम्बन्धमा अनुसन्धान र तथ्य सङ्कलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी ओलीलाई अनुरोध गरेका छन्।
राष्ट्रवादको प्रदर्शन र भारतसँगको सम्बन्ध
कतिपयले पछिल्ला दिनमा सरकारको काम र प्रधानमन्त्रीको अभिव्यक्ति भारतविरुद्ध लक्षित रहेको र त्यसमार्फत् 'राष्ट्रवादी छवि' प्रदर्शन गर्ने उद्देश्य लुकेको अर्थ लगाउने गरेको पाइन्छ।
तर पार्टीका विदेश विभाग उपप्रमुख कार्की भन्छन्, "उहाँको आफ्नो जुन शैली छ, त्यही शैलीले होला। व्यवहारमा त्यस्ता कुराहरूले राष्ट्रवादलाई प्रवर्धन गर्छ कि गर्दैन भन्ने सबैले विचार गर्नुपर्छ।"
लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेपछि रुष्ट भारतलाई प्रधानमन्त्रीले उसको प्रतीक चिह्नबारे गरेको अभिव्यक्तिले थप चिढ्याएको थियो। हालैका दुईवटा अभिव्यक्तिले त्यो तिक्तता झनै बढाउने देखिन्छ।
त्यसमा सहमत स्थायी समिति सदस्य भुसाल भन्छन्, "दुई देशबीचको कूटनीतिक सम्बन्धमा नकारात्मक प्रभाव नै पार्छ। विवाद बढाउने नै भयो नि।"
नेताकै प्रश्न: कस्तो तन्त्र?
तर प्रधानमन्त्री पक्षका नेताहरूले ओलीको भनाइको प्रतिरक्षा गर्दै आएका छन्।
पछिल्लो प्रकरणमा प्रधानमन्त्रीको भनाइको समर्थनमा उभिएका नेता कृष्णगोपाल श्रेष्ठले आलोचकहरूमाथि प्रहार गर्दै फेसबुकमा लेखेका छन्, "अयोध्या नेपालमै भएकोले त्यहीँ जन्मेको रामलाई नेपाली भन्दा विक्षिप्त भई…बरबराउने केही आफूलाई नेपाली हुँ भन्ने नेपालीलाई के भन्ने? (राम जन्मभूमि नेपाल)।"
तर प्रधानमन्त्रीका अर्का आलोचक स्थायी समिति सदस्य भीम रावलले 'सीमा मिचिएको, तराईका बस्ती डुबानमा परेको एवम् कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाएर भारतसँग कुरा गर्नुपर्ने' भन्दै विषयान्तर गर्न खोजेको टिप्पणी गरेका छन्।
उनले ट्वीटमा भनेका छन्, "देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो?"