नेपाल-भारत सम्बन्ध: 'कूटनीतिक मौनता' र विवास्पद अभिव्यक्तिले नागरिक स्तरमै 'सम्बन्ध बिगार्ने 'खतरा'

प्रधानमन्त्री केपी शर्मा ओलीले रामको वास्तविक जन्मभूमि अयोध्या नेपालमा पर्ने भनी दिएको अभिव्यक्तिले चर्चा पाइरहेका बेला कूटनीतिक क्षेत्रका जानकारहरूले यस्ता "विवादास्पद अभिव्यक्ति"ले दुईदेशको सम्बन्ध नागरिक स्तरमै बिग्रिन सक्ने चेतावनी दिएका छन्।

उनीहरूले नेपालले नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपश्चात्‌ नेपाल र भारतबीच 'कूटनीतिक संवादहीनता' देखिएका बेला यस्ता अभिव्यक्तिले थप चिसोपन बढाउन सक्ने बताए।

एक भूतपूर्व परराष्ट्रसचिवले चाहिँ नेपाल र भारतको सम्बन्ध एउटा मात्र नभई धेरै कुराहरूले निर्धारण गरेकाले 'एकाध घटना'ले नागरिकस्तरमै सम्बन्ध नबिग्रिने बताएका छन्।

नेपाल र भारतले अहिले देखिएको चिसोपन अन्त्य गर्न तत्कालै वार्ताको वातावरण बनाएर संवाद सुरु गर्नुपर्ने नेपाल-भारत सम्बन्धका जानकारहरूको मत छ।

'कूटनीतिक मौनता समाधान होइन'

पूर्वपरराष्ट्रमन्त्री तथा भारतका लागि भूतपूर्व नेपाली राजदूत भेषबहादुर थापाले नेपाल र भारतबीचको कूटनीतिक संवादहीनतालाई तत्कालै अन्त्य गर्नुपर्ने बताए।

उनले भने, "अहिलेको अवस्थालाई दुवै देशहरूले जति चाँडो अन्त्य गर्‍यो त्यति नै दुवै मुलुकलाई फाइदा हुन्छ।"

"अहिलेको तीन चार महिनादेखिको संवादहीनताको अवस्थाले गर्दा त्यसका भागी चाहिँ नागरिक हुन्छन्। सरकारी मौनताले गर्दाखेरि नागरिकहरूलाई पनि असर पर्छ।"

उनले यो अवस्थाबाट पार पाउन कूटनीतिक रूपमा "जुन स्तरमा कुराकानी हुनुपर्ने हो र जुन प्रकारबाट ध्यानपूर्वक समाधानको खोजी दुवै पक्षबाट गर्नुपर्ने हो" त्यसको अभाव देखिएको बताए।

उनले भने, "त्यसको अभावमा सम्बन्ध अफ्ट्यारो अवस्थामा मात्र पुगेको होइन नागरिकहरूको बीचको सम्बन्धलाई पनि प्रश्नचिह्न खडा गरेको छ।"

उनले दुवै पक्ष मौन बस्नु समाधानको उपाय नभएकाले समस्या समाधान गर्नतर्फ अग्रसर हुनुपर्ने र विवादहरूलाई चर्काउने गतिविधि गर्न नहुने बताए।

'ओलीको अभिव्यक्तिले चिसोपन बढाउन सक्छ'

भारतका लागि भूतपूर्व नेपाली राजदूत तथा राजनीतिशास्त्री प्राध्यापक लोकराज बराल पछिल्ला दिनहरूका सरकार प्रमुखका साथै मन्त्रीहरूबाट समेत आएका अभिव्यक्तिले भारतसँगको सम्बन्धलाई थप बिगार्न सक्ने बताउँछन्।

उनी भन्छन्, "यसले त चिसोपनलाई अन्त्य गर्ने भन्दा पनि अझ बढाउने र उत्तेजित पार्ने जस्तो देखिन्छ। यसबेला सम्बन्ध सुधार गर्नुपर्नेमा अझ झन् त्यसलाई बिगार्ने कुरा पो हुन्छ जस्तो देखिएको छ। यो राम्रो भएन दुईटा छिमेकीबीचमा।"

उनले ओलीको अयोध्या नेपालमा पर्छ र राम नेपाली भूमिमा जन्मिएका हुन् भन्ने अभिव्यक्तिले भारतीयको भावनामा चोट पुग्न सक्ने बताए।

बराल भन्छन्, "भारतीय मिडियाले गाली गर्‍यो भन्ने आफूले यस्तो गरिदिने? त्यसले सबैतिर भावनामा चोट त पुगिहाल्छ नि!"

"उहाँमा स्टेट्सम्यानशिप पनि देखिएन, रणनीतिक हिसाबले पनि गलत छ। मुलुको हितमा पनि छैन। सम्बन्धको चिसोपनलाई न्यूनीकरण गर्नुपर्नेमा त्यो बढाउन काम किन गर्ने?"

उनले प्रधानमन्त्रीले "उडन्ते र मिथकमा आधारित कुरा"को पछि लाग्नु उपयुक्त नभएको बताए।

बरालका भनाइमा अहिले नेपालले भारतसँग सम्बन्ध सुधार गर्ने पहल गरेको जस्तो पनि देखिदैन र भारत पनि "मौन कूटनीति" अपनाएर बसेको जस्तो देखिएको छ।

"एकाध घटनाले सम्बन्ध निर्धारण हुँदैन"

अर्का पूर्वपरराष्ट्रसचिव मदनकुमार भट्टराई चाहिँ नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन बढे पनि नागरिक स्तरमै सम्बन्ध नबिग्रिने धारणा राख्छन्।

उनी भन्छन्, "नागरिक स्तरको सम्बन्ध बिग्रिन्छ भन्ने लाग्दैन। सीमा वा त्यस्तै एउटा मात्र कुराले नेपाल र भारतको सम्बन्धलाई डोहोर्‍याएको पनि छैन।"

उनले परराष्ट्र मामिलामा धेरै मान्छेले र जानकारी नभएका व्यक्तिले बोल्नु उपयुक्त नभएको बताए।

तर उनले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे भने टिप्पणी गर्न चाहेनन्।

उनले अहिले पनि नेपाल र भारतबीच संवादको विकल्प नभएकामा जोड दिँदै भने, "हामी चनाखो हुनुपर्छ र 'कसैको बारेमा कुरा गर्ने होइन कि कसैसँग कुरा गर्ने' शैली अपनाउनुपर्छ।"