कोरोना भाइरस नेपालः थप ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

तस्बिर स्रोत, RSS
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
यो वृद्धिसँगै आइतवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,८०१ पुगेको छ।
तीमध्ये ८,४४२ जना अर्थात् ५१ प्रतिशतभन्दा बढी व्यक्ति निको भएका छन् भने ३८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४७ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।
अहिले देशभरि आइसोलेशनमा ८,१७४ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक वृद्धिको सङ्ख्या घटिरहेको छ।
"असार महिनाको सुरुतिर हामीले पीसीआर परीक्षण गरेकोमा ११ प्रतिशतको हाराहारीमा कोभिड पोजिटिभ हुने दर थियो जुन असार १९ गते तिर आउँदा १७ प्रतिशतसम्म पुगेको पाइन्छ," मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रीफ्रिङमा बोल्दै डा. गौतमले भने, "तर हिजोआज यो दुई प्रतिशतमा आएको छ।"
मन्त्रालयले शनिवार थप ७० जनामा सङ्क्रमण भएको पुष्टि गरेको थियो।
को हुन् सङ्क्रमित?
आइतवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका भए पनि युवा र पुरुषको सङ्ख्या बढी छ।
अहिले प्रदेश नं १ मा चार, प्रदेश नं २ मा २०, वाग्मती प्रदेशमा १४, गण्डकी प्रदेशमा १५, प्रदेश नं ५ २, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशमा ६ जनामा सङ्क्रमण देखिएको हो।
मन्त्रालयका अनुसार उनीहरूमध्ये धनुषाका १९, सुर्खेतका सात, कालीकोटका सात, तनहुँका छ र चितवनका पाँच जना छन्।
त्यसैगरी काठमाण्डूमा पाँच र ललितपुरमा एक जनामा पनि सङ्क्रमण देखिएको छ।
अहिलेसम्म काठमाण्डू उपत्यकामा सङ्कक्रमितको सङ्ख्या ३४७ पुगेको सरकारको तथ्याङ्क छ।
अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ३,९१६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। सरकारले आरडीटी भने प्रयोग गर्न छोडेको छ।
असार २८ गते आइतवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क
१६,८०१कुल सङ्क्रमण
१४७२४ घण्टामा घर फिर्ता
विगत २४ घण्टामा पीसीआर परीक्षण ३,९१६
सक्रिय सङ्क्रमित८,१७४
देशभरि क्वारन्टीनमा२३,७८४
अहिलेसम्म निको८,५८९
अहिले देशभरि क्वारन्टीनमा २३,७०० भन्दा बढी व्यक्ति छन्।
अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।
सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ। अहिले त्यहाँ सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू आइसोलेशनमा छन्।
महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू छन् भने धनकुटा, भोजपुर, मुस्ताङ, मनाङ र हुम्लामा सङ्क्रमितको सङ्ख्या शून्य छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा










