कोरोना भाइरस नेपालः काठमाण्डू उपत्यकामा सङ्क्रमण बढिरहँदा परीक्षण बढाउने रणनीति के छ

तस्बिर स्रोत, RSS
बिहीवारसम्म काठमाण्डू उपत्यकामा २९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकोमा १९५ जना काठमाण्डूका, ५६ जना ललितपुरका र ४३ जान भक्तपुरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ५१ जना उपचारपछि घर फर्किसकेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार पछिल्ला दिनमा उपत्यकामा सङ्क्रमितहरूको सङ्ख्या थपिँदै गर्दा ‘ट्राभल हिस्ट्री’ नभएका अर्थात् बाहिर कतैको यात्रा नगरेका व्यक्ति पनि रहेका छन्।
बिहीवारसम्म देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या १६,५३१ रहेको छ। तीमध्ये ७,८९१ जना निको भइसकेका छन् भने ३५ जनाको मृत्यु भएको छ।
स्वास्थ्यकर्मीमा सङ्क्रमण
काठमाण्डूको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका सातजना कर्मचारीमा लक्षण देखिएपछि सोमवारदेखि आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरिएको अस्पतालले जनाएको छ।
त्यहाँ शल्यक्रिया र इन्डोस्कोपी लगायतका सेवा रोकिएको छ।
आकस्मिकसहित सबै सेवाहरू सञ्चालनमा रहँदा आइतवारसम्म दैनिक डेढ-दुई सयसम्म व्यक्तिले सेवा लिने गरेको अस्पतालका एक चिकित्सकले बताए।
काठमाण्डूकै महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका दुईजना कर्मचारीमा सङ्क्रमण देखिएपछि उनीहरूलाई आइसोलेशनमा राखी उपचार भइरहेको डा. सन्तकुमार दासले बताए।
“हामीले एक वार्डबाट अर्को वार्डमा सारेर उपचार गरिरहेकोले अरू सेवा चाहिँ प्रभावित भएको छैन,” उनले बीबीसी न्यूज नेपालीसित भने।

तस्बिर स्रोत, RSS
परीक्षण बढेन
सरकारले पीसीआर विधिमार्फत् परीक्षणको दायरा बढाउने कुरा हप्तौँदेखि गर्दै आए पनि तथ्याङ्क हेर्दा अहिलेसम्म ५-६ हजारको हाराहारीमा मात्रै परीक्षण हुन सकेको देखिन्छ।
बिहीवारसम्म पीसीआर विधिबाट कुल २,६६,४५७ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
कतिपय जनस्वास्थ्यविद् तथा सङ्क्रामक रोग विशेषज्ञले समुदायस्तरमा कोरोनाभाइरस सङ्क्रमण देखिसकेको बताउने गरे पनि सरकारी अधिकारीहरू हालसम्म त्यस्तो अवस्था नदेखिएको दाबी गर्छन्।
काठमाण्डूमा ट्राभल हिस्ट्री नभएकामा सङ्क्रमण भेटिए पनि समुदायमा गएर परीक्षण गर्दा ती व्यक्तिको सम्पर्कमा आएकाहरूमा सङ्क्रमण नभेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए।
'परीक्षण पर्याप्त भएन'
भाइरोलोजिस्ट डा. लुना भट्ट शर्मा राज्यले पर्याप्त पीसीआर परीक्षण गर्न नसकेको बताउँछिन्।
उनी भन्छिन्, "सेना, प्रहरी, कारागारमा भएका व्यक्ति, यातायात क्षेत्रमा काम गर्नेहरू तथा चालक लगायत नजिक रहेर काम गर्ने मानिसहरूको परीक्षण गरिनुपर्छ।"
परीक्षणको मापदण्ड तथा परीक्षण गरिने समूहलाई विस्तार गर्नुपर्ने उनको सुझाव छ।
त्यस्तै कोरोनाभाइरसबाट सङ्क्रमित भएको आशङ्कामा परीक्षण गराउन चाहने हरेकको परीक्षण गरिनुपर्ने डा. शर्मा सुझाउँछिन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा

'समुदायस्तरमा सङ्क्रमण छैन'
समुदायस्तरमा हालसम्म सङ्क्रमण नदेखिएको बताउँदै उनले भने, “पहिलो कुरा ठुलो क्लस्टरमा देखिएको भए भन्न सकिन्थ्यो।”
“दोस्रो कुरा १५ देखि ४० वर्ष उमेर समूहका अधिकांश पुरुषमा बढी सङ्क्रमण देखिएको छ। यदि समुदायस्तरमा देखिएको भए अरू उमेर समूह र अझ बढी महिला तथा वृद्धवृद्धामा सङ्क्रमण पक्कै देखिन्थ्यो।”
सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्दै गर्दा परीक्षणको दायरा पनि बढाउँदै लगिएको उनको दाबी छ।
डा. पाण्डेले भने, “बिहीवार मात्रै हामीले काठमाण्डूका विभिन्न छ स्थानमा समूहमा गएर नमुना सङ्कलन गर्यौँ।”
उनका अनुसार मानिसहरूको धेरै भिड हुने मालपोत कार्यालय, कर कार्यालय तथा ब्याङ्कहरू गएर नमुना सङ्कलन गर्न थालिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पनि काठमाण्डूका विभिन्न स्थानमा गई नमुना सङ्कलन गर्न थालिएको पुष्टि गरे।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार होल्डिङ्ग सेन्टरमा पनि गई नमुना सङ्कलन गरिनेछ।








