कोरोना भाइरस: वन्यजन्तुको दुरुपयोग भए अझै धेरै थरी महामारी हुनसक्ने चेतावनी

चमेरो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, कोरोनाभाइरसको वर्तमान महामारी चमेरोबाट सरेको हुनसक्ने बताइएको छ

जुनोटिक रोग अर्थात् जनावरबाट मानिसमा सर्ने रोग झन् झन् बढ्दै गएको र वन्यजन्तु तथा वातावरण संरक्षणमा चासो नदिने हो भने त्यो अझै विस्तार हुने राष्ट्रसङ्घका विज्ञहरूले चेतावनी दिएका छन्।

कोभिड-१९ जस्तो रोगको उदय हुनुमा उनीहरूले मानिसमाझ रहेको जनावरको मासुप्रतिको बढ्दो माग, अनुचित कृषि अभ्यास तथा जलवायु परिवर्तन कारक रहेको उनीहरूले बताएका छन्।

बेवास्ता नगर्न चेतावनी

राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले मानव, जनावर तथा वातावरणीय स्वास्थ्यबीच तादात्म्य हुनुपर्ने बताएको छ।

बेवास्ता गरिएका जुनोटिक भनिने जनावरबाट सर्ने रोगले हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उसले बताएको छ।

बीबीसी सम्वाददाता इमोजेन फोक्स भन्छिन्, "इबोला, वेस्ट नाइल फिभर, सार्स र अनि यो कोभिड-उन्नाइस सबै जुनोटिक वा जनावरबाट सरेका रोग हुन्। यी रोग आफैँ जनावरबाट मानिसमा सर्दैनन्। जनावरको मासुको माग, बदलिँदो कृषि अभ्यास तथा जलवायु परिवर्तन यिनका कारक भएको सो प्रतिवेदनले जनाएको छ।"

कोभिड-उन्नाइसको महामारीले आगामी दुई वर्षभित्र विश्व अर्थतन्त्रमा ९० खर्ब डलरको नोक्सानी पुर्‍याउने बताइएको छ।

के भन्छन् विज्ञहरू?

जनावरबाट मानिसमा रोग आफै सर्दैन।

राष्ट्रसङ्घको वातावरण कार्यक्रम तथा अन्तर्राष्ट्रिय पशुसेवा अनुसन्धान निकायले तयार पारेको प्रतिवेदनले त्यस्तो रोग सार्न प्रकृतिलाई क्षयहुने मानवीय गतिविधिलाई कारक ठानेको छ।

उदाहरणका लागि भूक्षय, वन्यजन्तुको दुरुपयोग, स्रोतको जथाभावी दोहन तथा जलवायु परिवर्तनका कारण मानव जाति र जनावरबीचको अन्तरसम्बन्ध परिवर्तित भएको प्रतिवेदनले जनाएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

"बितेको एक शताब्दीमा हामीले कम्तीमा छवटा नयाँ प्रजातिका कोरोनाभाइरसको महामारी देखेका छौँ," राष्ट्रसङ्घकी उपमहासचिव तथा वातावरण कार्यक्रमकी कार्यकारी निर्देशक इंगर एन्डरसनले भनिन्।

"गएको दुई दशकमा कोभिड-उन्नाइस भन्दा अगावै यस्ता रोगले एक सय अर्ब डलर बराबरको आर्थिक नोक्सानी गराइसकेका थिए।"

न्यून तथा मध्यम आय भएका मुलुकहरूमा यस्ता जुनोटिक रोगहरूका कारण हरेक वर्ष बीस लाख मानिसको ज्यान गइरहेको उनले बताइन्। उनले ती रोगमा एन्थ्र्याक्स, बोभाइन टुबरकुलोसिस तथा रेबिज समेत रहेको बताइन्।

किसान

तस्बिर स्रोत, AFP

"यी समुदायले जटिल विकास समस्या बेहोरिरहेका हुन्छन् र यिनको पशुमा धेरै निर्भरता र निकटता रहन्छ।"

गत ५० वर्षयता मासु उत्पादन २६० प्रतिशतले बढेको उनले उदाहरण दिइन्।

विज्ञानको सुझाव

"हामीले कृषिलाई अत्यधिक सघन पारेका छौँ, पूर्वाधार विस्तार तथा स्रोतको दोहन गरिएको छ जसले वन्यजन्तुको वासस्थान अतिक्रमित भएका छन्।"

"मानवजातिमा पाइने सङ्क्रामक रोगहरूको २५ प्रतिशत बाँध सिँचाइ तथा पशुकृषि उद्योगसँग जोडिएका छन्। यातायात तथा खानेकुराको आपूर्ति सञ्जालले सीमारेखा तथा दूरी मेटाइदिएका छन्। अनि जलवायु परिवर्तनले रोग निम्त्याउने हानिकारक किटाणु फैलन मद्दत पुगेको छ।"

सो प्रतिवेदनले सरकारहरूलाई भविष्यमा महामारी रोक्न आवश्यक रणनीतिबारे बताएको छ। तिनमा दिगो भूमि व्यवस्थापन, जैविक विविधताको सुधार तथा वैज्ञानिक अनुसन्धानमा लगानी परेका छन्।

"विज्ञान प्रस्ट छ: यदि हामीले वन्यजन्तुको दुरुपयोग जारी राख्यौँ र पर्यावरण प्रणाली ध्वस्त पारिरह्यौँ भने आगामी वर्षहरूमा जनावरबाट मानिसमा सर्ने रोग निरन्तर बढ्नेछ," एन्डरसनले भनिन्।

"भविष्यमा हुने महामारी रोक्ने हो भने हामीले प्राकृतिक वातावरण संरक्षणमा निकै धेरै गम्भीर हुनुपर्छ।"