कोरोना भाइरसः हावाबाट फैलिने प्रमाण भेटिएको दाबी, विश्व स्वास्थ्य सङ्गठन भन्छ, 'पर्याप्त छैन'

तस्बिर स्रोत, AFP
हावाका साना कणमा पुगेका कोरोनाभाइरसबाट पनि मानिसमा सङ्क्रमण हुन सक्ने दाबी गर्दै केही वैज्ञानिकहरूले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोनाभाइरससम्बन्धी निर्देशिका संशोधन गर्न आग्रह गरेको विवरण न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ।
कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका विभिन्न ३२ देशका २३९ वैज्ञानिकहरूले यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई खुलापत्र पठाएर त्यस्तो माग गरेका हुन्।
उनीहरूले उक्त पत्रमा आफूले फेला पारेका प्रमाणहरू उल्लेख गरेका छन्।
ती वैज्ञानिकहरू आफ्नो अनुसन्धान चाँडै एउटा वैज्ञानिक जर्नलमा प्रकाशित गर्ने योजनामा भएको न्यूयोर्क टाइम्सले जनाएको छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्किने छिटाबाट अर्को व्यक्तिमा सर्छ।
जुन २९ मा अद्यावधिक गरिएको जानकारीमा उसले पाँच माइक्रोनभन्दा साना छिटा बने हावाको माध्यमबाट पनि कोरोनाभाइरस सर्न सक्ने जनाएको छ।
न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरूले हाछ्युँ गर्दा निस्किने साना वा ठूला ड्र्प्लेट अर्थात् छिटा हावामा केही परसम्म फैलिन सक्ने भएकाले कोरोनाभाइरसको सङ्क्रमण हुनसक्ने दाबी गरेका छन्।
तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले उपलब्ध प्रमाणहरू त्यो दाबी पुष्टि गर्न पर्याप्त छैनन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ

विश्व स्वास्थ्य सङ्गठनको कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने विभागकी प्रमुख प्राविधिक डा. बेनेडेटा अलेन्ग्रान्जीलाई न्यूयोर्क टाइम्सलाई हावाको माध्यमबाट फैलिन सक्ने सम्भावनाबारे आफूहरूले विगत दुई महिनादेखि विचार गरेको बताइन्।
"तर ठोस वा स्पष्ट प्रमाणका आधारमा हैन," उनले भनिन्, "यसबारे ठूलो विवाद छ।"








