कोरोना भाइरस भारत: अगस्ट १५ सम्ममा कोभिड-१९ विरुद्धको खोप तयार 'हुन सक्ने'

तस्बिर स्रोत, POOL/GETTY IMAGES
भारतीय चिकित्सा अनुसन्धान परिषद् आईसीएमआरले कोरोनाभाइरसविरुद्धको खोप अगस्ट महिनाको १५ तारिखसम्म सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने बताएको छ।
परिषद्ले खोपको परीक्षणमा संलग्न संस्थाहरूलाई पत्र लेखेर यस्तो जानकारी गराएको हो।
भारतमा विकास भइरहेको उक्त खोप आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेका छन्।
क्लीनीकल परीक्षण पूरा भएमा अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसको अवसर पारेर यो खोप सर्वसाधारणहरूका लागि उपलब्ध गराउन सकिने आईसीएमआरको भनाइ छ।
खोपको क्लीनीकल परीक्षणका लागि भारतका १२ संस्थालाई चुनिएको छ।
आईसीएमआरका निर्देशक डा. बलराम भार्गवले जुलाई २ मा ती १२ संस्थालाई आगामी जुलाई ७ सम्ममा परीक्षणको स्वीकृति लिइसक्नुपर्ने बताएका छन्।
पत्रमा उनले लेखेका छन्, "कोरोनाभाइरस रोक्नका लागि आईसीएमआरले विकास गरेको खोपको परीक्षण तीव्र गतिमा अघि बढाउनका लागि भारत बायोटेक कम्पनीसँग सम्झौता गरिएको छ।"
"कोरोनाभाइरसको एउटा स्ट्रेन निकालेर यो खोप विकास गरिएको हो।"

तस्बिर स्रोत, PALLAVA BAGLA/GETTY IMAGES
"क्लीनीकल परीक्षण पछि आईसीएमआर यो खोप अगस्ट १५ सम्ममा सर्वसाधारणसम्म पुर्याउन चाहन्छ।"
"भारत बायोटेक पनि युद्धस्तरमा काम गरिरहेको छ। तर यो खोपको सफलता क्लीनीकल परीक्षणका लागि चुनिएका संस्थाहरूको सहयोगमा निर्भर गर्छ।"
बायोटेक कम्पनी मार्फत विकास गर्न लागिएको खोपको नाम कोभ्याक्सीन हो।
भारत बायोटेकले ट्विटरबाट जुन २९ तारिखमा यो खोपको मानव शरीरमा गरिने परीक्षणबारे जानकारी गराएको थियो।
के भन्छन् विशेषज्ञ?
महाराष्ट्र सरकारले बनाएको कोरोना टास्क फोर्सका सदस्य डा. शंशाक जोशी भन्छन्, "यति कम समयमा खोप बनाउनु लगभग असम्भव छ।"
"सामान्यतया एउटा खोप बनाउन दुई वर्ष लाग्छ। निकै छिटो काम गरिए पनि कम्तीमा १२ देखि १८ महिना लाग्छ। त्यसभन्दा अघि नै खोप बनाउने कुरा असम्भव छ।"

तस्बिर स्रोत, SECHENOV MEDICAL UNIVERSITY PRES/GETTY IMAGES
उनले थपे: "मानव शरीरमा परीक्षणका बेला हामीले केही महत्त्वपूर्ण कुराहरूलाई बेवास्ता गर्न मिल्दैन।"
स्वास्थ्य विशेषज्ञ र इन्टर्न्याश्नल एसोसिएशन अफ बायोएथिक्सका पूर्वअध्यक्ष डा. अनन्त भान पनि आईसीएमआरको योजनाले छक्क परेका छन्।
उनी भन्छन्, "खोपलाई क्लीनीकल परीक्षणका लागि जुलाई ७ सम्ममा दर्ता गरिसक्न भनिएको छ। हालसम्म यसले प्री-क्लीनीकल परीक्षणको अवस्था नै पूरा गरेको छैन भने कसरी अगस्ट १५ मा यसलाई सार्वजनिक गर्न सकिन्छ?"
"के एक महिनाभन्दा कममा यो खोपसँग सम्बन्धित जोडिएका परीक्षण पूरा गर्न सकिन्छ?"
"के यो खोपको गुणस्तर बारे पहिलेदेखि नै धारण बनाई सकिएको छ?"


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा









