नेकपा विवाद: शीर्षस्थ नेतालाई ‘मिलाउने’ भूमिकामा देखिएका नेताहरू के भन्छन्

नेताहरू

तस्बिर स्रोत, RSS

प्रायः सबै राजनीतिक दलमा शीर्षस्थ नेताबीच देखिने असमझदारी हटाउने भूमिकामा केही नेता अघि सरिरहेका हुन्छन्।

शीर्षस्थ नेताबीच पार्टीदेखि सरकार सञ्चालनसम्मको विषयमा विवाद किन नहोओस्, त्यसलाई मिलाउनका निम्ति मध्यमार्गी नेताहरूको भूमिका महत्त्वपूर्ण हुने गरेको बताइन्छ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषयलाई लिएर सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका शीर्षस्थ नेताबीच सतहमा देखिएको ‘तनाव’ अन्त्य गराउने प्रयासमा त्यस्ता मध्यमार्गी नेताहरूले फेरि पनि लागेको बताएका छन्।

बीबीसी न्यूज नेपालीसँग बिहीवार अनुभव साट्दै सुवास नेम्वाङ, हरिबोल गजुरेल र सुरेन्द्र पाण्डेलेत्यस्तो कामलाई ‘पार्टीभित्रकै एउटा जिम्मेवारी’को रूपमा लिने गरेको बताए।

नेकपाको स्थायी कमिटीका ‘अधिकांश सदस्यले’ प्रधानमन्त्री ओलीको राजीनामा माग गरेसँगै विभिन्न समूहबीचको छलफलले पनि तीव्रता पाएका विवरणहरू सार्वजनिक भएका छन्।

यसबीचमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड र नेता माधवकुमार नेपालनिकट मानिने केही नेताहरू अहिले औपचारिक/अनौपचारिक छलफलमा व्यस्त छन्।

यसैबीच सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्‌को बर्खे अधिवेशन अकस्मात् अन्त्य गरेकी छन्।

प्रस्तुत छ बीबीसी न्यूज नेपालीका गनी अन्सारीले तीनजना मध्यमार्गी नेतासँग गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित अंशः

अहिले साह्रै दुःखी र स्तब्ध छौँ: सुवास नेम्वाङ

नेम्बाङ्

तस्बिर स्रोत, RSS

हामीले पार्टीलाई एकताबद्ध त बनायौँ, तर एकताको प्रक्रिया अहिले सकिसकेको छैन। त्यो प्रक्रियामा हामी अगाडि बढिरहेका छौँ।

र, अहिले यही बेलामा जनता, कार्यकर्ता र सिङ्गो देशले हामीलाई आशाको नजरले हेरिरहेका छन्।

कतिसम्म भने विपक्षी दलहरूले पनि नेकपामा यताउति भयो भने त्यसले सिङ्गो प्रणालीलाई नै असर पर्छ भनिरहेका छन्।

यो अवस्थामा त झनै पार्टी, जनता र कार्यकर्तालाई दिएको प्रतिबद्धता अनुसार चल्नुपर्ने स्थिति छ। पार्टी एकताबद्ध हुनुपर्छ भन्ने कुरा लिएर प्रधानमन्त्रीज्यूलाई भेटेर हामीले कुराकानी गर्यौँ।

र, यही कुरालाई लिएर आज हामीले पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई पनि भेट्यौँ। सबै एक हुनुपर्छ भन्ने कुरा हामीले राख्यौँ।

हामी त अहिले साह्रै दुःखी र स्तब्ध छौँ।

साँच्चै भन्नुहुन्छ भने एकदम अप्ठ्यारो अवस्थामा उभिरहेका बेलामा, कोरोनाभाइरस महामारीसँग जुझिरहेका बेलामा, राष्ट्रियताको विषयमा जनताका भावनालाई बोकेर अगाडि बढिरहेका बेलामा यसरी आफूभित्रको विवादलाई लिएर लडिराख्नुपर्दा, त्यो मिलाउन हामी हिँडिराख्नुपर्दा एकदम दुःख लागेको छ।

पार्टी अहिले ठूलो सङ्कटमा छ: हरिबोल गजुरेल

हरिबोल गजुरेल

तस्बिर स्रोत, Haribolgajurel/facebook

हाम्रो भूमिका अलि पुगेको छैन जस्तो लाग्छ। हामी विभिन्न नेताको पक्ष-विपक्षमा विभाजित छौँ।

हामीले आफ्नो पक्षका नेतालाई ‘तपाईँबाट यहाँयहाँ कमजोरी भयो त्यसलाई सच्याउनू’ भन्नुपर्ने हुन्छ। अहिले देखिएको समस्या मूलतः भूमिकालाई लिएर हो।

म त मध्यमार्गमै दृढतापूर्वक उभिने गर्छु। पार्टी अहिले एउटा ठूलो सङ्कटमा छ।

यो विभाजनलाई नेकपालाई मात्रै होइन कि समग्र राष्ट्रलाई नै एउटा दुर्घटनातर्फ डोर्याउनेछ।

संविधानमा सूत्रबद्ध भएका परिवर्तनका एजेन्डाहरू खतरामा पर्छन् र नेपाली जनताका इच्छा, आकाङ्क्षामाथि ठूलो कुठाराघात हुन्छ।

त्यसैले दुई नेता मिल्नुपर्छ भन्नेमा हामी लागिरहेका छौँ, हामीले कोशिश गरिरहेका छौँ।

मेरो भूमिका अलि फरक हुने गर्छ। तर यसपालि मलाई लाग्यो पार्टीलाई फुटबाट बचाउनुपर्छ नभए दुर्घटनामा जान्छ।

त्यही भएर निश्चित दूरी कायम गरी मैले नेताहरूलाई भेटिरहेको छु र कुराकानी गरिरहेको छु।

फुटबाट बचाउनु नै यसको मुख्य उद्देश्य हो। तर हामी कति सफल हुन्छौँ भन्ने कुरा आगामी छलफल र बहसहरूले निर्धारण गर्नेछन्।

हरेक व्यक्तिले केही कुरा त्याग्नुपर्यो: सुरेन्द्र पाण्डे

हामी पार्टीमा लागिरहेका कार्यकर्ताहरू विभिन्न समयमा विभिन्न भूमिकामा हुन्छौँ। यसलाई पार्टीकै एउटा जिम्मेवारीको रूपमा हामी लिन्छौँ।

सबैभन्दा पहिलो कुरा पार्टीका आधारभूत मान्यता, पद्धतिलाई र जनताप्रतिको जिम्मेवारीलाई बोध गर्दै हरेक व्यक्तिले आफ्ना केही कुरा त्याग्नुपर्यो र केही कुरा स्वीकार्नुपर्यो।

कमीकमजोरी स्वीकार गर्ने र आफैँले केही कुरा छोड्न तयार हुने कुराबाट न एकता सम्भव हुन्छ।

र, त्यो स्थिति बन्ने हिसाबले नै हामी कुराकानी गर्छौँ किनभने त्यागबाट नै सबैभन्दा ठूलो शक्ति सिर्जना हुन्छ।

हाम्रा प्रयासहरू तार्किक निष्कर्षमा पुग्दा खुशी लाग्छ।

पार्टीको भविष्य, आफ्नो भविष्य र सबैको भविष्यलाई लिएर जब सुरक्षा पैदा हुन्छ त्यसबाट सुखानुभूति हुनु स्वाभाविक नै हो।