रुसमा संविधान संशोधन गर्न सम्पन्न निर्वाचनको प्रचारमा किन बालबालिका र युद्धका तस्बिरहरू

    • Author, नाटालिया जोटोभा
    • Role, बीबीसी रुसी सेवा

रुसमा संविधान संशोधनका लागि जनमतसङ्ग्रहमा मतदातालाई विभिन्न किसिमले आकर्षित गरियो।

जनावर र बालबालिकाका तस्बिरसहित दोस्रो विश्वयुद्धको इतिहास र रुसी भाषाका विशेषता भएका सामग्रीहरू प्रचारप्रसारमा प्रयोग भए।

उक्त अभियानले केही महत्त्वपूर्व मुद्दाहरू पनि उठाएयो। तर भ्लादिमिर पुटिनको राष्ट्रपतीय कार्यकाल पुनर्स्थापित गर्ने वा सत्तामै रहन दिने जस्ता अन्य विषय भने उठाइएन। मतदान जुलाई १ मा सम्पन्न भयो।

चुनावका औपचारिक सामग्रीसँगै सामाजिक सञ्जालमा प्रभावशाली मानिएका व्यक्तिहरूले परिवर्तनको पक्षमा भिडिओ र तस्बिरहरू प्रेषित गरेका थिए।

बालबालिका र कुकुरका तस्बिर किन?

चुनावी विज्ञापनहरूमा अभिभावक र बालबालिकाको सामीप्य देखाइएको थियो।

पोस्टरमा खासगरी वृद्ध मानिसहरूलाई प्रभावित गर्नेगरी औषधिको पहुँच वा बजारभाउअनुसार निवृत्तिभरण वा हजुरआमालाई बालबालिकाले अँगालो मारेको तस्बिरहरू थिए।

एउटा संशोधनमा जनावरहरूलाई जिम्मेवारपूर्ण तरिकाले व्यवहार गरिनुपर्ने उल्लेख थियो। त्यसमा बालबालिका कुकुर र बिरालाहरूसँग रमाएको चित्रित गरिएको थियो।

संशोधनमा मतदान नहोला भन्ने आशयले बनाइएको एउटा विवादास्पद भिडिओमा सन् २०३५ मा कल्पना गरिएको समस्याग्रस्त भविष्यमा समलिङ्गी जोडीले एउटा अनाथ बच्चालाई सडकबाट उठाएको देखाइएको थियो।

राजनीतिशास्त्री अलेक्शेइ माकार्किनका अनुसार राजनीतिक अभियानहरूमा अल्पसङ्ख्यकहरूको तस्बिरको प्रयोग गैरकानुनी हो तर यस पटक त्यसका लागि अनुमति दिइएको थियो।

"कुनै पनि देशमा बालबालिकाका तस्बिर भावनात्मक रूपमा जोडिएको हुन्छ। अझै खासगरी रुसमा। हामी हाम्रा बच्चाहरूका लागि बाच्छौँ, उनीहरूको जीवन राम्रो हुन्छ भने हामी भोकै बस्न वा दुःख खेप्न पनि तयार हुन्छौँ," उनले भने।

रुसी भाषाको पक्षमा

मतदान यो वर्षको सुरुतिरै हुन लागेको थियो तर कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण पछि सर्‍यो।

मार्च महिनामा चर्चित हस्तीहरूले अनलाइन भिडिओ प्रेषित गर्दै सर्वसाधारणलाई संशोधनका लागि मतदान गर्न आह्वान गरेका थिए।

रुसका राष्ट्रिय कवि अलेक्सान्डर पुश्किनको तस्बिर रहेको पोस्टर देखाउँदै रुसी भाषा र संस्कृतिको संरक्षण गर्न मतदाताहरूलाई आह्वान गरिएको थियो।

त्यस्तो कार्यले स्वच्छन्द छविका पुश्किन यदि जीवित भएका भए 'संशोधनका लागि अभियान गर्थे होलान् र?' भन्ने बहस निम्त्याएको छ।

पुर्खाको सम्झना

देशभक्तिपूर्ण गीतका लागि चर्चित रुसी पपस्टार ओलेग गाज्मानोभले अभियानका लागि बनाइएको एउटा भिडिओमा आफूले नायकहरू र इतिहासको अनादर गर्न रोक्ने परिवर्तनको पक्षमा मत हाल्ने बताएका थिए।

रुसी सहरमा देखिएको एउटा ठूलो बोर्डमा एउटी किशोरीले दोस्रो विश्वयुद्धका बेला सेनाले लगाउने गरेको पोसाक र टोपी लगाएको र उनको छेउमा "हाम्रा पुर्खाहरूको सम्झनाको संरक्षण गर्दै" लेखिएको देखिन्थ्यो।

माकार्किन भन्छन्, "यी भिडिओहरू सोभियत कालमा हुर्केका वृद्धहरूलाई लक्षित गरिएको हो जसका लागि युद्ध अझै पनि यथार्थ हो।"

उत्तराधिकारीबारे अस्पष्टता

अभियानमा धेरै अस्पष्ट नाराहरू थिए।

मस्कोमा टाँसिएका पोस्टरमा यस्तो लेखिएको थियो, "१ जुलाई, हाम्रो भविष्य," र "स्थायित्व र विकास। संविधान २०२०"।

"हामीले विगत १५ वर्षमा एउटा यस्तो खालको परम्पराको विकास गरेका छौँ जहाँ भविष्यबारे विरलै बोलिन्छ। अथवा हामीले बोल्यौँ भने पनि, हामीले विगतमा के बोलेका थियौँ भन्ने बिर्सिन खौज्छौँ किनभने त्यो सबै भनेजस्तो भएन," क्रुटोभले भने।

पुटिनको राष्ट्रपतीय कार्यकाललाई पुनर्स्थापित गर्न संशोधन गर्न लागिएको भन्ने कुरा कतै पनि थिएन। उनलाई सन् २०३६ सम्म पदमै रहन उक्त संशोधनले बाटो खोलिदिएको भए पनि प्रचारप्रसारमा त्यसको उल्लेख थिएन।

"अभियानका व्यवस्थापकहरूले विभाजनका कुनै पनि क्षेत्रलाई बेवास्ता गर्न खोजिरहेको मैले महसुस गरेको छु र त्यसैले कुनै पनि पोस्टरहरूमा पुटिन देखिँदैनन्," राजनीतिशास्त्री एकाटेरिना शुल्मानले भनिन्। "त्यसैगरी राष्ट्रपति र संसद्‌बीच वा राष्ट्रपति र उच्च अदालतबीच शक्ति पुन: हेरफेर वा वितरण गर्ने विषयमा पनि कुनै उल्लेख गरिएको छैन।"

सूचित गर्दै वा अभियान चलाउँदै?

केन्द्रीय निर्वाचन समितिकी अध्यक्ष एला पाम्फिलोभाले परिवर्तनका लागि चुनावी अभियान सञ्चालन गरिएको भन्ने आरोप अस्वीकार गरिन्।

उनले भनिन्, "निर्वाचन समितिले यो संशोधनमा मत हाल वा यसकोविरुद्धमा हाल भनेर लेखिएको पर्चा मलाई कसैले पनि देखाएको छैन।"

प्रतिपक्षी अभियान "हुँदैन!" ले संशोधनलाई स्पष्ट रूपमा समर्थन गर्ने सामग्रीहरू निर्वाचन समितिले अनुमोदन गरेको आरोप लगाएको छ।

यो पनि हेर्नुहोस्