सलह: कीटविज्ञका दृष्टिमा यी हुन् सलहले नेपालमा 'वंशवृद्धि गर्न नसक्ने' तीन कारण

तस्बिर स्रोत, RSS
भारत हुँदै शनिवार नेपाल प्रवेश गरेका सलहका बगालहरू देशका विभिन्न भागमा फैलिएको अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार शनिवार पूर्वी तराईका बारा, पर्सालगायतका जिल्लाबाट प्रवेश गरेका सलहहरू उत्तर लागेर सिन्धुली पुगेका थिए।
आइतवार अपराह्ण सिन्धुलीबाट पश्चिमतर्फ लागेको उक्त झुन्ड कहाँ गएर अवतरण गर्यो भन्ने स्पष्ट हुन नसकेको प्लान्ट क्वारन्टीन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले सोमवार बीबीसीलाई बताए।
त्यस्तै रूपन्देही र कपिलवस्तु जिल्लाबाट पनि केही मात्रामा सलह नेपाल प्रवेश गरेर पहिले उत्तर र त्यसपछि पश्चिमतर्फ लागेको बताइएको छ।
अफ्रिकाबाट पश्चिम एशिया, इरान, पाकिस्तान र भारत हुँदै नेपाल आइपुगेको ठानिएको सलहले त्यस क्रममा विभिन्न स्थानमा वंशवृद्धि गरेको अधिकारी र कीटविज्ञहरू बताउँछन्।
साहारा मरुभूमिमा उत्पत्ति भएको सलहले पश्चिम एशियाका विभिन्न मरुभूमिमा र त्यसपछि इरानको मरुभूमिमा फुल पारेर सन्तान बढाएको उनीहरूले बताए।

तस्बिर स्रोत, Rss
त्यसपछि भारतको राजस्थानमा वंशवृद्धि गरेको र सोही पुस्ताको सलह नेपाल आइपुगेको अनुमान कीटविज्ञहरूको छ।
अफ्रिकादेखि नेपालसम्म आइपुग्दा विभिन्न स्थानमा वंशवृद्धि गरेको भनिएको सलहले नेपालमा पनि प्रजनन गर्ने र बालीलाई सखाप पार्ने हो कि भन्ने चिन्ता धेरैमा देखिएको छ।
बीबीसीसँग कुराकानी गरेका अधिकारीहरू र कीटविज्ञले भने नेपालमा यो सलहले वंशवृद्धि गर्ने सम्भावना न्यून भएको बताए।
कीटविज्ञका अनुसार मरुभूमिबाट आएका सलहले नेपालमा वंशवृद्धि गर्ने सम्भावना कम हुनुका तीन कारणहरू
१. मरुभूमिमा मात्र वंशवृद्धि गर्ने स्वभाव
कृषि विभागका पूर्व महानिर्देशक एवम् कीटविज्ञ डिल्लीराम शर्माका अनुसार अहिले नेपालमा आइपुगेको सलहको स्वभाव र प्रकृति नै मरुभूमिमा विकास हुने हो।
उनका अनुसार यो सलह सामान्यत: तीन महिनासम्म बाँच्छ। तर नेपालमा हाल वयस्क र वयस्क हुने क्रममा रहेका सलह आएको देखिएको छ।
वयस्क सलहले अण्डा पार्ने सम्भावना हुन्छ। तर नेपालमा अहिले आएका सलहले अण्डा पार्ने सम्भावना कम रहेको उनको तर्क छ।

तस्बिर स्रोत, RSS
अण्डा पार्न नसकेपछि वयस्क सलहहरू १० दिनभित्र मर्ने र वयस्क हुने क्रममा सलह चाहिँ तीनदेखि चारसातासम्म बाँच्नसक्ने उनले बताए।
"जति समय नेपालमा रहे पनि यसले यहाँ वंश विकास गर्न सक्दैन। अण्डा पार्न यहाँबाट नजिकैको मरुभूमि राजस्थान नै जानुपर्छ," उनले भने।
उनका अनुसार यो सलहले बालुवाभित्र केही तल फुल पार्ने गर्छ। नेपालको माटोमा घोचेर त्यसरी भित्र फुल पार्न नसक्ने उनी बताउँछन्।
२. मनसुन जारी रहनु
नेपालमा जारी मनसुनका कारण पनि मरुभूमि सलहले वंशवृद्धि गर्ने र जीवनचक्र चलाउने सम्भावना नभएको प्लान्ट क्वारन्टीन एवम् विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईं बताउँछन्।
"अहिले मनसुन जारी छ, पानी परिरहेको छ, यस्तो हावापानीमा सलहले जीवनचक्र पूरा गर्न सक्दैन," उनले भने, "अहिलेको अवस्थामा नेपालको माटो छिचोलेर त्यहाँ फुल पार्ने अवस्थै छैन।"
उनका अनुसार नेपालमा अहिले पानी परिरहेकाले सलहको बगाल पनि तितरबितर हुने गरेको छ।
यस्तो अवस्थामा हावाको गति कता जान्छ भन्ने पनि हेर्नुपर्ने विज्ञहरूको धारणा छ।

तस्बिर स्रोत, RSS
हावाको गति परिवर्तन भइरहेकाले र त्योसँगै फुल पार्न सलहले सकेसम्म मरुभूमितर्फ जान कोसिस गर्ने पनि विज्ञहरू बताउँछन्।
३. नेपालमा फुल पारे पनि वंशवृद्धि हुने सम्भावना न्यून रहनु
अधिकारीहरू र कीटविज्ञहरूका अनुसार सलहले नेपालमा फुल पारे पनि त्यसले जीवनचक्र पूरा गर्ने सम्भावना निकै कम हुने देखिन्छ।
कीटविज्ञ समुद्रलाल जोशी भन्छन्, "एक त यहाँ फुल पार्दैन, फुल पार्ने अवस्थामा नेपालबाट यूटर्न (अङ्ग्रेजीको यू अक्षरजस्तो गरी) गरेर राजस्थानतर्फ फर्किन्छ। पारिहालेछ भने पनि फुलबाट बच्चा बन्न सक्दैन। बच्चा बनिहाले पनि त्यसलाई रोग लाग्छ र मरिहाल्छ।"
हुमागाईँ पनि नेपालको माटोमा फुल पारे पनि त्यसलाई चिसोका कारण कोरल्न नसक्ने बताउँछन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
कतिपयले कोशीजस्ता ठूला नदी किनाराको बालुवामा पनि यसले फुल पारेर वंशवृद्धि गर्नसक्ने बताइरहेका छन्।
तर कीटविज्ञ जोशी भन्छन्, "हाम्रो नदी किनाराको बालुवामा फुल पार्यो भने पनि त्यो बालुवामा पानीको मात्र बढी हुने भएकाले त्यसबाट बच्चा निस्किने सम्भावना निकै काम हुन्छ।"









