सलहसँग लड्न चीनले एक लाख हाँस पाकिस्तान पठाउने

हाँस

तस्बिर स्रोत, Getty Images

बालीनाली नष्ट गर्ने सलहबाट जोगाउन चीनले छिमेकी राष्ट्र पाकिस्तानमा एक लाख हाँस पठाउन सक्ने बताइएको छ।

एक कृषि विज्ञका अनुसार एउटा हाँसले प्रतिदिन २०० भन्दा बढी सलह खान्छ र हाँस कीटनाशकभन्दा बढी प्रभावकारी हुन सक्छ।

तर अर्का अनुसन्धानकर्ताले भने सलह नियन्त्रणका लागि हाँसको प्रयोगको प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

लाखौँ सलहहरूले पूर्वी अफ्रिकामा पनि बालीनाली नष्ट गरिरहेका छन्।

चीन सरकारले पाकिस्तानलाई सलहविरुद्ध 'लक्षित कार्यक्रम' तयार गर्न विज्ञहरूको टोली पठाउन लागेको घोषणा गरेको हो।

जजीयाङ् एकेडेमी अफ एग्रिकल्चर साइन्सेसका वरिष्ठ अनुसन्धानकर्ता लु लीझहीले ब्लुमबर्गसँग कुरा गर्दै हाँसहरू 'जैविक हतियार' रहेको बताएका छन्।

उनका अनुसार एउटा कुखुराले प्रतिदिन करिब ७० वटा सलह खान सक्छ। त्यसको तुलनामा हाँसले तीन गुणाभन्दा बढी सलह खान सक्ने उनले बताए।

"हाँसहरू समूहमा बस्न रुचाउँछन् त्यसकारण कुखुराभन्दा उनीहरूलाई व्यवस्थापन गर्न सहज हुन्छ," उनले चिनियाँ सञ्चारमाध्यमलाई भने।

फट्याङ्ग्रा

तस्बिर स्रोत, Getty Images

आगामी महिना चीनको पश्चिमी क्षेत्र सिन्जियाङमा हाँसहरू सहितको परीक्षण सम्पन्न हुने लुले बताएका छन्।

त्यसपछि पाकिस्तानको सिन्ध, बलोचिस्तान र पन्जाब प्रान्तका सबैभन्दा प्रभावित क्षेत्रहरूमा ती हाँसहरू पठाइने छ।

यो विषय चिनियाँ सामाजिक सञ्जालमा निकै चर्चाको विषय बन्न पुगेको छ।

"गो डक। मलाई आशा छ कि तिमी जीवित फर्केर आउने छौँ," ट्विटरको चिनियाँ संस्करण मानिने चिनियाँ सामाजिक सञ्जाल वेबोका एक जना प्रयोगकर्ताले लेखेका छन्।

तर चीन पठाइने भनिएको टोलीका एकजना सदस्य चाइना एग्रिकल्चर विश्वविद्यालयका प्राध्यापकले भने सलहको समस्या रहने सुख्खा जमिन भएको स्थानमा भने हाँसको प्रयोग अनुकूल नहुन सक्ने बताएका छन्।

"हाँसहरू पानीमा निर्भर हुन्छन्। तर पाकिस्तानका मरुभूमिमा तापमान निकै धेरै छ," प्राध्यापक झाङ लोङले पाकिस्तानस्थित पत्रकारहरूलाई बताए।

सन् २००० मा सलहसँग जुझ्न चीनले जजीयाङ्बाट सिन्जियाङ प्रान्तमा ३०,००० हाँस पठाएको थियो।