कोरोना भाइरसः कोभिड-१९ बारे अफ्रिकी मुलुकमा फैलिरहेका भ्रामक सूचना

तस्बिर स्रोत, Getty Images
- Author, पिटर म्वाई
- Role, बीबीसी रीआलीटी चेक
अफ्रिकी मुलुकहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहँदा सामाजिक सञ्जाल र अनलाइनमा भ्रामक सूचनाहरू शेअर हुने क्रम पनि जारी छ।
हालै व्यापक रूपमा शेअर गरिएका केही समाचारबारे हामीले यहाँ चर्चा गरेका छौँ।
१. औषधि पत्ता लगाउने अफ्रिकी प्रयासलाई रोक्ने 'षड्यन्त्र'
माडागास्कारका राष्ट्रपति एन्ड्री रूजूएल र उनले प्रवर्द्धन गरिरहेका अप्रमाणित औषधि कोभिड-अर्ग्यानिक्ससँग जोडिएका आधारहीन कुराबाट हामी शुरूवात गरौँ।
त्यो औषधिलाई विषाक्त बनाउन विश्व स्वास्थ्य सङ्गठनले गोप्य रूपमा उनलाई ठूलो रकम प्रस्ताव गरिरहेको भन्ने दाबीसहित सामाजिक सञ्जालमा सूचना फैलिरहेको छ।
अफ्रिकी देशहरू आत्मनिर्भर हुन सक्दैनन् र तिनीहरूले कोभिड-१९ को औषधि बनाउन सक्दैनन् भन्ने कुरा डब्ल्यूएचओले प्रमाणित गर्न खोजेको भनेर लगत प्रचार गरिँदैछ।
एङ्गोला र प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सञ्चालित एउटा फेसबुक खाताबाट एप्रिल २३ तारिखमा पहिलो पटक फ्रेन्च भाषामा त्यससम्बन्धी पोस्ट देखिएको थियो।

त्यसपछि ती दाबीहरूबारे तान्जानियाका दुईवटा पत्रिकाले मे १४ तारिखमा समाचार बनाए।
फ्रान्स-२४ च्यानलमा दिएको अन्तर्वार्तामा राष्ट्रपति रूजूएलले डब्ल्यूएचओबाट रकमको प्रस्ताव आएको स्वीकार गरेका थिए भनेर त्यसमध्ये एउटा रिपोर्टमा लेखिएको थियो।
त्यो समाचारलाई अफ्रिकाभरि सामाजिक सञ्जालहरूमा व्यापक शेअर गरेको पाइयो।
हुन त राष्ट्रपति रूजूएलले मे ११ तारिखमा फ्रान्स-२४ लाई अन्तर्वार्ता दिएका थिए। तर त्यस क्रममा डब्ल्यूएचओबाट आफूलाई रकमको प्रस्ताव आएको भन्ने कुरा कतै भनेनन्।
डब्ल्यूएचओले त्यो झूटो समाचार भएको बीबीसीलाई बतायो र माडागास्कार सरकारले पनि आरोपहरू खारेज गरेको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ

सरकारका प्रवक्ता लोभा रानोरामोरोले भने, "कोभिड-अर्ग्यानिक्स बनेदेखि राष्ट्रपति एन्ड्री रूजूएललाई उद्धृत गर्दै धेरै झूटा कुरा गरिएका छन्।"
जडीबुटीयुक्त कोभिड-अर्ग्यानिक्स पेय माडागास्कारमा उत्पादन गरिँदैछ र अफ्रिकी देशहरूमा निर्यात गरिँदैछ। तर कोरोनाभाइरसविरुद्ध त्यसले काम गर्छ भन्ने कुराको कुनै प्रमाण छैन।
डब्ल्योएचओले परम्परागत औषधिमा आधारित आविष्कारको उसले स्वागत गर्ने जनाएको छ। तर प्रमाणित उपचारहरूविरुद्ध चेतावनी पनि दिएको छ।
२. तान्जानियाकी स्वास्थ्यमन्त्रीमा कोरोनाभाइरस देखिएन
एउटा अनलाइन लेखमा तान्जानियाकी स्वास्थ्यमन्त्री उमी म्वालिमुमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भन्ने लेखिएको थियो र त्यसलाई एक चर्चित पत्रकारसहितले ट्विटरमा शेअर गरेका थिए।
तर त्यो समाचार सत्य होइन।
मन्त्रीले पोस्ट गरेको भन्दै राखिएको स्क्रीनशटका कुरामा आधारित भई समाचार बनाइएको थियो।

स्वाहिली भाषामा गरिएको ट्वीटमा लेखिएको थियो, "यो दुर्भाग्यको कुरा हो कि मलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। तर स्थिति सहज नभएसम्म अग्रपङ्क्तिमा खटिएको जस्तो मैले देशको सेवा गर्नेछु।"
तर यो ट्वीट मन्त्रीको ट्विटर फीडमा देखिँदैन। मन्त्री र स्वास्थ्य मन्त्रालय दुवैले त्यसलाई झूटो समाचार भन्दै खण्डन गरेका छन्।
३. भाइरसविरुद्ध दक्षिणी सुडानको झूटा ब्याच
दक्षिणी सुडानका राष्ट्रपति साल्भा कीर र अन्य वरिष्ठ अधिकारीहरूले भाइरसलाई रोक्ने तथाकथित "रक्षात्मक" ब्याच लगाएको भन्ने हल्ला चल्यो जुन कुरा सही होइन।
अनलाइनमार्फत् खरिद गर्न मिल्ने "एअर डक्टर" र "भाइरस शट आउट" नाम गरेका ब्याचजस्तै देखिने ब्याचहरू राष्ट्रपति र वरिष्ठ अधिकारीहरूले लगाएको राष्ट्रपतिको प्रेस युनिटले फेसबुकमा पोस्ट गरेका तस्वीरमा देखिन्छ।
तर त्यसले भाइरसलाई रोक्ने कुराको कुनै प्रमाण छैन।

बीबीसीले सम्पर्क गर्दा दक्षिणी सुडान सरकारका एक प्रवक्ताले जापानी सरकारको तर्फबाट काम गरिरहेका एक व्यक्तिले आफूहरूलाई ती ब्याचहरू आपूर्ति गरेको बताए।
दक्षिणी सुडानस्थित जापानी दूतावासले त्यसमा आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारिसकेको छ।
त्यस्तै सामग्री विश्वभरि बिक्री भइरहेका छन् र रुसी संसद्ले आफ्ना सदस्यहरूलाई ती नलगाउन भनेको छ।
४. राष्ट्रपति मागुफुलीले सार्वजनिक स्थलमा मास्क लगाउनमा रोक लगाएनन्
तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले सार्वजनिक स्थलमा मास्क लगाउनमा रोक लगाएको भन्दै सामाजिक सञ्जालहरूमा अफवाह फैलिरहेको छ।
अन्तर्राष्ट्रिय उडान तथा पर्यटन फेरि शुरू भएपछि सार्वजनिक स्थलमा मास्क लगाएको देखेर डर पैदा हुन सक्ने र गलत सन्देश जाने भन्दै राष्ट्रपतिले रोक लगाएको दाबीसहित पोस्ट गरिएका छन्।
राष्ट्रपतिको ट्वीट भनेर राखिएको स्क्रीनशटमा त्यस्तो दाबी गरिएको छ। तर खासमा त्यो सत्य होइन।

राष्ट्रपतिको गृहनगर चाटोबाट मिति र हस्ताक्षरसहित बनावटी प्रेस वक्तव्य जारी गरिएको पनि पाइयो।
तर हामीले तथ्य जाँच्दा त्यो मितिमा उनी डोडोमा नगरमा थिए। राष्ट्रपतिका प्रवक्ताले ती दाबीहरूमा विश्वास नगर्न आग्रह गरेका छन्।
तान्जानिया सरकारले मानिसहरूलाई सार्वजनिक स्थलमा मास्क लगाउन र एकअर्काबीच दूरी कायम राख्न प्रोत्साहित गरिरहेको छ।
यद्यपि अधिकारीहरूले कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी दैनिक विवरण सार्वजनिक गरिरहेका छैनन्।
र, राष्ट्रपतिले कोरोनाभाइरसको प्रभावलाई बेवास्ता गरिरहेको भन्दै चिन्ता व्यक्त भइरहेका छन्।










