कोरोनाभाइरस: सात मिथ्या समाचार जसबाट तपाईँ जोगिनुपर्छ

कोभिड-१९

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, महामारीकै तहमा मिथ्या र भ्रामक खबर फैलिरहेको डब्ल्यूएचओले चेतावनी दिएको छ
    • Author, रीयालिटी चेक टीम
    • Role, बीबीसी न्यूज

विश्वका विभिन्न देशले सामाजिक दूरी कायम राख्न कडा प्रावधानहरू कार्यान्वयनमा ल्याए पनि धेरै स्थानमा कोभिड-१९ को सङ्क्रमणका घटनामा वृद्धि भइरहेको छ।

कोभिड-१९ को महामारीसँगै कैयौँ देशमा मिथ्या खबर पनि इन्टरनेटमार्फत्‌ फैलिरहेका छन्।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोरोनाभाइरस देखिएयता त्यससम्बन्धी मिथ्या र भ्रामक खबर प्रकोपकै तहमा फैलिरहेको चेतावनी दिँदै अएको छ।

कतिपय अफ्रिकी देश र ब्रिटेनमा सार्वजनिक भएका केही खबरको बीबीसी रीयालिटी चेकले तथ्य जाँच गरेको छ।

१. अफ्रिकीहरूमा खोपको परीक्षण भइरहेको छैन

सामाजिक सञ्जालमा अफ्रिकी मानिसहरूलाई कोरोनाभाइरस विरुद्धको खोप परीक्षणमा प्रयोग गरिने वस्तु बनाइने भनिएका छन्।

तर यी दाबी मिथ्या हुन् किनभने कोभिड-१९ को खोप बनिसकेको छैन र थोरै सङ्ख्याका वैज्ञानिक अनुसन्धान हाल अफ्रिकी देशहरूमा भइरहेका छैनन्।

हामी ती दाबी कहाँबाट सुरु भए भन्नेमा प्रष्ट छैनौँ तर तिनीहरूले पश्चिमा देशमा प्रयोग गर्न सुरक्षित छ कि छैन भनेर सुरुमा अफ्रिकाका मानिसहरूलाई खोप लगाइने दाबी गरेका छन्।

यूट्युबमा त्यस्तै आशयको सन्देश राखिएको एउटा भिडिओमा एक महिलाले फ्रेन्च भाषामा बोलेको सुनिन्छ जसमा उनले अफ्रिकी दाजुभाइ र दिदीबिहीनीलाई खोप नलिन आग्रह गरेकी छन्।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, दक्षिण अफ्रिकामा भइरहेको कोरोनाभाइरसको जाँच

अफ्रिकाका कतिपय समुदायले आधुनिक चिकित्साप्रति अविश्वासका कारण खोपलाई लिएर भय व्यक्त गर्दै आएका छन्।

हाल कोभिड-१९ को खोपबारे मिथ्या खबर फैलिरहेको फ्रेन्च भाषा बोल्ने अफ्रिकी क्षेत्रमा यसअघि इबोलाको खोपका बारेमा यस्तै चिन्ता र भ्रामक खबरहरू प्रकाशमा आएका थिए।

तर उक्त खोपले इबोलासँग जुझ्न उल्लेख्य मद्दत गरेको छ।

२. कालो छाला कोभिड-१९ प्रतिरोधी हुँदैन

सामाजिक सञ्जालमा बारम्बार छालाको रङ्ग र कोभिड-१९ प्रतिरोधी क्षमताबारे विभिन्न टीकाटिप्पणी हुने गरेका छन्।

कोभिड-१९

तस्बिर स्रोत, Getty Images

मार्च १३ तारिखमा केन्याका स्वास्थ्यमन्त्रीले 'कालो छाला भएका मानिसहरूलाई कोरोनाभाइरस नलाग्ने' हल्ला भ्रामक भएको सार्वजनिक रूपमा नै बताए।

नेलश्न मण्डेला स्कूल अफ मेडिसिनका प्राध्यापक थुम्बी नुङ्‍गु भन्छन्, "यो धारणालाई प्रमाणित गर्ने कुनै पनि आधार छैन र हामीलाई थाहा छ कि कालो छाला भएका मानिसहरूलाई पनि सङ्क्रमण भइरहेको छ।"

३. कालो चियाले कोरोनाभाइरसलाई निको पार्दैन

स्वस्थ हुन शरीरमा पानीको मात्रा पर्याप्त हुनु महत्त्वपूर्ण हो तर कालो चियो पिउँदा त्यसले दाबी गरिएको जस्तो कोरोनाभाइरसलाई निको पार्दैन।

केन्या
तस्बिरको क्याप्शन, केन्याका सञ्चारमाध्यमले गलत खबरविरुद्ध मानिसहरूलाई सचेत बनाइरहेका छन्

स्थानीय सञ्चारमाध्यहरूका अनुसार केन्यामा मानिसहरूलाई चिया पिउन सुझावसहित टेलिफोन आइरहेका छन्। चिया नपिउन सङ्क्रमणका कारण ज्यानसम्म गुमाउनुपर्ने भनिएको छ।

अन्यत्र पनि फैलिएको यो मिथ्या खबरको कुनै वैज्ञानिक आधार छैन।

संसारभरिका वैज्ञानिकहरूले सम्भावित खोपबारे अध्ययन गरिरहेका छन् र अहिलेसम्मको अपेक्षा अर्को वर्षको मध्यभन्दा अघि त्यो तयार नहुने रहेको छ।

४. कोरोनाभाइरसबाट जोगिन दाह्री काट्नुपर्छ भन्नु आधारहीन

अमेरिकी स्वास्थ्य अधिकारीहरूले दाह्री र रेस्पिरेटरका बारेमा तयार पारेका पुराना ग्राफ्रिक्सहरूलाई गलत रूपले सेयर गर्दै कोरोनाभाइरसको सङ्क्रमण हुन नदिन पुरुषहरूले दाह्री काट्नुपर्ने सन्देश फैलाइएको छ।

नाइजेरीयन पन्च समाचारपत्रको हेडलाइनमा 'कोरोनाभाइरसबाट सुरक्षित हुन्, दाह्री काट्न सीडीसीको चेतावनी' शीर्षक दिएर समाचार नै छापिएको छ।

कोभिड-१९

अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलले श्वासप्रश्वासका लागि मास्क प्रयोग गर्दा कस्ता दाह्री नराख्ने भन्नेबारे दर्जनौँ चित्रहरू सार्वजनिक गरेको छ जसमा रेस्पिरेटर र त्यसको भल्भलाई मुखमा दह्रो गरी बाँध्न फ्रेन्च शैलीसहित कतिपय दाह्रीले हस्तक्षेप गर्न सक्ने भनिएको थियो।

यो सन् २०१७ मा तयार भएको गाफ्रिक्स हो जुन बलियो गरी मुख ढाक्ने रेस्पिरेटर प्रयोग गर्ने स्वास्थ्यकर्मीहरूलाई लक्षित थियो।

तर अहिले सीडीसीले केही त्यस्तो सुझाव दिएको छैन र उसले मानिसलाई दाह्री काट्न भनेको छैन।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

अष्ट्रेलियाको न्यूज ७ नामक सञ्चारमाध्यममा पनि कसरी दाह्रीले नजानिकन कोरोनाभाइरसको जोखिम बढाउन सक्छ भन्ने मिथ्या खबर छापिएको थियो।

५. कोरोनाभाइरसविरुद्ध 'लडिरहेका' नाइजेरियाली धर्मप्रचारक

कोरोनाभाइरस निको पार्न सक्ने दाबी गर्दै आएका एक इभानजेलिकल धर्म प्रचारक पनि मिथ्या खबरका स्रोत बनेका छन्।

नाइजेरिया

डेभिड किङलिओ इलेजाह नामक ती धर्मप्रचारकले भाइरसलाई नष्ट पार्न आफू चीन जाने घोषणा गरिरहेको भिडिओसहितका खबर यूट्युब र अरू माध्यममा शेअर गरिएको थियो।

त्यसको केही दिनपछि ब्लगहरूमा उनी चीन गएको र भाइरसको सङ्क्रमण लागेपछि अस्पतालमा भर्ना भएको भन्ने विवरणहरू आएका थिए। अलग्गै नामसहित ती पास्टरबारे उक्त ब्लगमा लेखिएको थियो।

उनी अस्पतालमा ‍रहेको भन्ने दाबी गरिएको तस्बिर सन् २०१७ मा नै अस्पतालमा ज्यान गुमाएका एक नाइजेरियाली लोकप्रिय अभिनेताको रहेको खुलेको छ।

६. मरिचको झोलले निको पार्दैन

नाइजेरियामा नै एक धर्म प्रचारकले मरिचको उमालेको झोल पिउँदा त्यसले कोरोनाभाइरसलाई निको बनाउने दाबी गरेका थिए।

ह्वाट्स एपमा त्यो व्यापक रूपमा शेअर पनि गरिएको थियो।

नाइजेरियामा आमरूपमा मसलाका रूपमा प्रयोग गरिने मरिचको स्वास्थ्य गुणबारे उक्त दाबीमा केही उल्लेख गरिएको छैन।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले सौँफले कोरोनाभाइरस निको बनाउने दाबी गरिएका लेखहरू शेअर नगर्न ध्यानाकर्षण नै गराएको छ।

७. फाइभ जीले कोरोनाभाइरस सार्दैन

फाइभ जी प्रविधिले कोरोनाभाइरसको सङ्क्रमण सार्न भूमिका खेल्छ भन्ने दाबी गरिएका षड्यन्त्रमूलक प्रचारहरूको वैज्ञानिक समुदायले भर्त्सना गरिरहेका छन्।

मोबाइल फोनका कतिपय टावरमा आगो लागेका भिडिओसहित प्रभावशाली रहेका कतिपय समाजिक सञ्जालका खाताबाट सेयर गरिएका थिए।

कोभिड-१९

तस्बिर स्रोत, Getty Images

सुरुमा अमेरिकामा कोभिड-१९ को सङ्क्रमण देखिएको ज्यानुअरीको अन्त्यतिर प्रकाशमा आएका ती दाबीमा फाइभ जीले मानिसको रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने र सङ्क्रमणको जोखिम बढाउने र फाइभ जी प्रविधिबाट पनि कुनै किसिमले भाइरस सर्ने दाबी गरिएका थिए।

तर वैज्ञानिकहरूले जैविक रूपमा त्यस्तो सम्भावना नरहेको भन्दै त्यसलाई पूर्ण रूपमा खारेज गरेका छन्।

एनएचएस इङ्ग्ल्याण्डका मेडिकल निर्देशक स्टेफन पोविसले यसलाई सबैभन्दा खराब प्रकृतिको मिथ्या खबर भनेका छन्।