कोरोना भाइरस भारत: सङ्क्रमणको दर बढ्दो, लकडाउन नहटाउन तर खुकुलो पार्न मुख्यमन्त्रीहरूको आग्रह

तस्बिर स्रोत, Getty Images
भारतमा एकै दिन अहिलेसम्मको सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यहाँ सोमवार ४,२१३ जनामा कोभिड-१९ पुष्टि भएको थियो।
भारत सरकारका अनुसार देशभरि कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ७०,००० नाघेको छ।
तीमध्ये झन्डै २२,००० जना निको भएका छन् भने २,२९३ जनाको मृत्यु भएको छ।
त्यहाँ अहिले ४६,००० मानिसमा कोरोनाभाइरसको सक्रिय सङ्क्रमण रहेको छ र तिनीहरू चिकित्सकको निगरानीमा रहेका बताइएको छ।

तस्बिर स्रोत, Reuters
तीव्रता
गत दुई दिनमा झन्डै ८,००० नयाँ सङ्क्रमित थपिएसँगै भारतमा सङ्क्रमणदरले तीव्रता लिएको देखिएको छ।
अहिले भारत त्यहाँ लागु गरिएको तेस्रो चरणको लकडाउनको मध्यबिन्दुमा छ। बढाइएको लकडाउनको अवधि मे १७ तारिखमसम्म छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार देशका विभिन्न मुख्यमन्त्रीहरूसँग छ घण्टा लामो वार्तालाप गरेका थिए।
त्यस क्रममा मुख्यमन्त्रीहरूले लकडाउनका बेला पालना गर्नुपर्ने नियमहरूलाई खुकुलो पार्न चाहेको बताएका थिए।
लकडाउन

तस्बिर स्रोत, PMO India
तर लकडाउन तत्काल पूर्ण रूपमा हटाउन भने नहुने उनीहरूको मत थियो।
भारतको राजधानी दिल्लीमा गत २४ घण्टा कोरोनाभाइरस सङ्क्रमणको थप ४०६ विरामी देखा परेको दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले बताएका छन्।
उनका अनुसार दिल्लीमा त्यही अवधिमा १३ जना सङ्क्रमितको मृत्यु भएको छ।
भारतको राजधानीमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ७,६३९ पुगेको र ८६ जनाको मृत्यु भइसकेको छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ









