कोरोना भाइरस नेपाल: लकडाउन वैशाख २५ गतेसम्मका लागि थप्ने मन्त्रिपरिषद्को निर्णय

लकडाउनका कारण सुनसान सडक

तस्बिर स्रोत, NIRANJAN RAJBANSHI

मन्त्रिपरिषद्को आइतवारको बैठकले देशमा जारी लकडाउन १० दिन थप्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भनिन्, "आजसम्मको लकडाउन प्रभावकारी रहेको भन्ने समीक्षा भएको छ। अब थप १० का लागि लकडाउन जारी राख्ने भन्ने निर्णय भएको छ।"

सङ्क्रमण बढेको अवस्थामा २५ गतेसम्म लकडाउन गरेर मात्रै यसबारे थप निर्णय गर्ने कुरा भएको पनि उनले बताइन्।

कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि नेपालले लकडाउन थपेको यो समेत चौथो पटक हो।

सरकारले चैत ११ गते यता मानिसहरूको हिँडडुल र सवारी आवतजावतमा प्रतिबन्ध लगाउँदै आएको छ।

सरकार प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले लकडाउन लम्ब्याउनेबाहेक पनि निर्णय भएको जानकारी दिएका छन्।

"अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा आवागमन स्थगन गर्ने निर्णयलाई वैशाख ३१ गतेसम्मका लागि बढाइएको छ," उनले भने, "त्यस्तै इपीएसअन्तर्गत दक्षिण कोरियामा श्रमिकका रुपमा काम गर्न जाने श्रमिकहरूलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।"

किन लकडाउन थपियो?

शनिवार कोभिड-१९ निगरानी तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले थप २० दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्न एवम् लकडाउनका सम्बन्धमा निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।

समितिले लकडाउन जारी राख्दै क्षेत्रविशेषमा अहिले लगाइएको प्रतिबन्ध केही खुकुलो पार्न सकिने तर यसको निर्णय मन्त्रिपरिषद्ले गर्ने जनाएको थियो।

समितिले स्वास्थ्योपचार, कृषि र अत्यावश्यक खाद्यान्न पाइने पसलहरू खुकुलो पार्न सकिने विषयमा छलफल गरेको थियो।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमा केही परिमार्जनसहित लकडाउनलाई निरन्तरता दिन समितिलाई गृहकार्य गर्न निर्देशन दिएका थिए।

समितिको नेतृत्व उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका छन्।

छिमेकी मुलुक भारतमा वैशाख २१ गतेसम्म 'लकडाउन' रहेको छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको अवस्था

हालसम्म नेपालमा ५२ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

Swab testing
BBC
नेपालमा कोरोनाभाइरस

वैशाख १४ गते दिउँसो ४:१५ बजेसम्मको तथ्याङ्क

  • ५१जनामा सङ्क्रमण पुष्टि

  • १६जना निको भएर घर फिर्ता

  • ९,९३१पीसीआर विधिबाट परीक्षण

  • ४१,४३६आरडीटी विधिबाट परीक्षण

  • १७,०२५जना क्वारन्टीनमा

  • ११०जना आइसोलेशनमा

स्रोत: MoHP

आइतवार मात्रै झापाका एक पुरुष र पर्साको वीरगन्जका दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमण पुष्टि भएर उपचारपछि १६ जना निको भई घर फर्किसकेका छन्।

त्यस्तै विराटनगरमा ३० जना, वीरगन्जमा सातजना र भरतपुर तथा धनगढीमा एक/एकजना कोरोनाभाइरस सङ्क्रमित उपचाररत रहेका छन्।