कोरोना भाइरस: कैलाली‚ कञ्चनपुर र बाग्लुङमा द्रुत परीक्षण गरिँदै

कोरोना भाइरस
    • Author, उमीद बागचन्द
    • Role, बीबीसी न्यूज नेपाली, धनगढी

कैलाली र कञ्चनपुरका क्वारन्टीनहरूमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोनाभाइरस जाँचका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट द्रुत परीक्षण गरिँदै छ।

सरकारले गत साता कञ्चनपुर, कैलाली र बाग्लुङ जिल्लामा र्‍यापिड टेष्ट विधिबाट क्वारन्टीनमा रहेका व्यक्तिको कोरोनाभाइरस जाँच गर्ने निर्णय गरेपछि यो विधिबाट परीक्षण सुरु भएको हो।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिँह कार्कीका अनुसार क्वारन्टीनमा रहेकाहरू अनि भारत तथा अन्य मुलुकबाट फर्किएका व्यक्तिहरूमा र्‍यापिड टेस्ट विधिको प्रयोग भइरहेको छ।

कत्तिको प्रभावकारी?

विश्व स्वास्थ्य संगठनले मान्यता दिइनसकेको भनिएको यस्तो द्रुत परीक्षणको नतिजालाई भने अर्को पीसीआर प्रविधिबाट देखापर्ने नतिजासँग दाँजिने अधिकारीहरूले बताएका थिए।

कोरोना भाइरस

अहिलेसम्म क्वारन्टीनमा रहेका व्यक्तिसँगै केही स्वास्थ्यकर्मी र घरैमा अलग्गै बसिरहेका व्यक्तिहरूको पनि र्‍यापिड टेष्ट गरिएको छ।

हालसम्म सुदूर पश्चिममा त्यसरी गरिएका सबै परीक्षणको नतिजामा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको अधिकारीहरूले बताएका छन्।

कञ्चनपुर जिल्लाका विभिन्न क्वारन्टीनमा रहेका २३२ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट 'नेगेटिभ' वा सङ्क्रमण नभएको आएको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

जोखिम स्थान

नेपालमा देखिएका नौजना कोरोनाभाइरस सङ्क्रमितमध्ये कैलालीमा तीन, कञ्चनपुरमा एक र बाग्लुङमा दुई जना रहेका छन्।

कैलालीका तीन र कञ्चनपुरका एकजनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कोरोना भाइरस

स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीका अनुसार द्रुत विधिबाट कैलालीमा ६३९‚ कञ्चनपुरमा ३८९‚ डोटीमा २१३ र बाजुरामा ४९ जनाको गरी १२८० जनाको परीक्षण गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको छ।

नेपाली सेनाले पनि क्वारन्टीनमा बसेकाहरुको थ्रोट स्वाब सङ्कलन गरिरहेको छ।

सेना पुग्न नसकेको र छुटेकाहरूको थ्रोट स्वाब सङ्कलन जिल्लास्थित स्वास्थ्य कार्यालय मार्फत् भइरहेको छ।

आरडिटी कस्तो विधि हो?

सेती प्रादेशिक कोरोना विशेष अस्पतालका वरिष्ठ इमर्जेन्सी फिजीसियन तथा प्रवक्ता डाक्टर जगदीश जोशीले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधि शरीरमा रहेको रोगसँग लड्न सक्ने क्षमता जाँचेर रोग भए नभएको पत्ता लगाउने विधि मात्र भएको बताए।

उनका अनुसार कोरोनाभाइरस सङ्क्रमणको आशंका गरिएका व्यक्तिहरूको परीक्षण गरिनु अहिलेको टड्कारो आवश्यकता हो।

"हामीले यतिबेला भारतबाट आएका व्यक्तिहरूलाई शंकास्पद रूपमा हेरेका छौँ। उनीहरूको जाँच हुनु जरुरी छ। त्यसैले यो विधि प्रयोग गरेर परीक्षण गरिरहेका छौँ। यो परीक्षणमा सङ्क्रमण भएको देखिए थ्रोट स्वाब परीक्षण गरेर मात्र कोरोनाभाइरस सङ्क्रमणको यकीन गरिन्छ। यो केवल स्क्यानिङ्ग टेस्ट हो‚ यकीन पुष्टि गर्ने होइन। यकीन गर्नलाई पीसीआर पद्धतिबाट परीक्षण परीक्षण गर्नै पर्छ," उनले भने।

अहिले संघीय सरकारको स्वास्थ्य विभागबाट आएको पाँच हजार र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट धनगढीमा पुगिसकेको छ।