कोरोनाभाइरसः सरकारले चालेका कदममा साथ दिन राष्ट्रपति भण्डारीद्वारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान गरेकी छन्।

राष्ट्रका नाममा शुक्रवार साँझ सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संयम अपनाउनाले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोनाभाइरसबाट जोगाउन सकिने भएकाले सबैले त्यसमा ध्यान दिन आवश्यक रहेको बताइन्।

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उनले सतर्कता नअपनाइए सङ्क्रमण फैलन सक्ने उल्लेख गरेकी छन्।

लकडाउनले मानिसहरूको दैनिक जीवनमा 'केही अप्ठ्यारा' सिर्जना भए पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घरबाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गरिन्।

उनले भनिन्, "आ-आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ।"

नेपालमा बाहिरबाट सङ्क्रमित भई आएकाहरूलाई पत्ता लगाएर उपचार गरिएको अवस्था भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको बताएकी छन्।

उनले सिङ्गो देश एकजुट भई अगाडि बढेमा कोरोनाभाइरसमाथि जित हासिल गर्न सकिने विश्वास पनि व्यक्त गरेकी छन्।

कोरोनाभाइरसविरुद्ध जुझ्न विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त सहयोग र सहयोगको प्रस्तावका लागि सम्बद्ध पक्षलाई राष्ट्रपतिले धन्यवाद दिएकी छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर