कोरोनाभाइरस: आवश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न व्यवसायीहरू 'तयार'

स्वास्थ्य मन्त्रालय

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गुणस्तर तथा मूल्यको विवाद भएपछि सरकारले अघिल्लो सम्झौता रद्द गरेको छ

कोरोनाभाइरसको रोकथाम र उपचारका लागि आवश्यक पर्ने सामग्रीहरू सरकारलाई उपलब्ध गराउन आफूहरू तयार रहेको रसायन तथा मेडिकल सामान आपूर्ति गर्दै आएका नेपाली व्यवसायीहरूले बताएका छन्।

स्वास्थ्य मन्त्रालयले त्यस्ता सामानको खरिदका लागि यस अघि गरेको सम्झौता रद्द गर्ने निर्णय गरे लगत्तै उनीहरूको यस्तो भनाइ आएको हो।

तर अन्तर्राष्ट्रिय बजारमा समेत त्यस्ता सामानको अभाव रहेको भन्दै उनीहरूले पटकपटक गरेर ती सामग्री भित्र्याउने र विमान चार्टर गर्ने प्रक्रियामा सरकारले सघाउन पर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा अभाव

देशभर कोरोनाभाइरसको रोकथाम र उपचारका लागी आवश्यक पर्ने सामग्रीहरूको अभाव देखिएपछि सरकारले द्रुत विधिबाट सामान खरिद प्रक्रिया अगाडि बढाएको थियो।

तर खरिद सम्झौता गरिएको कम्पनी, सामानको मूल्य अनि गुणस्तर माथि प्रश्न उठेपछि स्वास्थ्य सेवा विभागले उक्त सम्झौता रद्द गरेर नयाँ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

योसँगै यसअघिको खरिद प्रक्रियाको विरोध गरेका नेपाली व्यवसायीहरूमाथि ती सामान आपूर्ति गर्ने जिम्मेवारी आउने देखिएको छ।

स्वास्थ्य मन्त्रालय

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, चीनबाट ल्याइएका केही सामग्रीको गुणस्तरबारे प्रश्न उठेका छन्

सरकारको निर्णय लगत्तै छलफलमा जुटेका उनीहरूले तोकिएका सामान ल्याउन आफूहरू तयार रहेको बताएका छन्।

रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले भने, "सकेको सहयोग गर्ने भनेर हामी छलफल गरिरहेका छौँ। यो त चिकित्सकदेखि आम जनताको स्वास्थ्यको विषय भएकाले हामी सरकारलाई सहयोग गर्न तयार छौँ। सकेसम्म एक हप्ताभित्र यहाँ केही नरोकिने गरि केही सामान ल्याउन सक्छौँ।"

सहजीकरण आवश्यक

तर त्यसमा सरकारको सहजीकरणको आवश्यकता पर्ने उनीहरूको भनाइ छ।

सामान ल्याउन आवश्यक पर्ने विमान, ब्याङ्किङ् कारोबारको सहजीकरण र किस्तामा सामान ल्याउने व्यवस्था गरिनुपर्ने उनीहरूको भनाइ छ।

हाल आफूहरुसँग भएका सामान पहिले बोलकबोल गरिएकै मूल्यमा सरकारलाई दिने र नयाँ सामानको मूल्य भने अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा तोक्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ।

"अहिले सबैको स्रोत चीन भएको छ र त्यहाँ यी सामग्रीहरूको उच्च माग छ। त्यसमाथि डलरको मूल्यपनि निकै बढेको छ। परेको मूल्यमा हाम्रा खर्चहरू जोडेर सायद पन्ध्र प्रतिशतमा पनि गर्न सकिन्छ। जुन दरको विवाद यहाँ भएको छ त्यही विवाद नदोहोरियोस् अनि गुणस्तरमा पनि सम्झौता नहोस् भन्ने नै हाम्रो चाहना हो।"

यस अघिको सम्झौता अनुशार १० प्रतिशत सामान आइसकेको सरकारले जनाएको छ।

थप सामान आपूर्तिका लागि भने बोलपत्र आह्वान गर्न तीन दिन र सामान ल्याउन पाँच दिन दिने योजना सरकारले अगाडि सारेको छ।

झण्डै एक करोड तीन लाख अमेरिकी डलरमा खरिद गर्ने भनिएका त्यस्ता सामानमा स्वास्थ्यकर्मीहरूले लगाउने व्यक्तिगत सुरक्षा सामग्री, मास्क, परीक्षण किट सहित १९ प्रकारका सामग्री छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर