कोरोनाभाइरस: युवाहरूलाई जोखिम के हो?

जाँच गराउँदै युवती

तस्बिर स्रोत, Getty Images

    • Author, रेचल स्चेराअर
    • Role, बीबीसी स्वास्थ्य संवाददाता

अहिलेसम्म स्वास्थ्यसम्बन्धी सन्देश स्पष्ट छ: तपाईँ जति बूढो हुनुभयो, कोरोनाभाइरसको जोखिम उति बढी छ। तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युवाहरूलाई आफू जोखिममुक्त भएको रूपमा नबुझ्न चेतावनी दिएको छ।

ब्रिटेनमा लेबर पार्टीकी सांसद डा. रोसेना अलिन-खानले बीबीसीलाई कोभिड-१९ वृद्धवृद्धामा र अन्य रोग भएका मानिसहरूमा सीमित नभएको बताएकी छन्।

इङ्गल्यान्डमा एक १८ वर्षीय व्यक्तिको कोरोनाभाइरसको कारण मृत्यु भएको छ।

अन्य स्वास्थ्य समस्या भएका उनी सो भाइरसका कारण ज्यान गुमाउने यूकेका सबैभन्दा कान्छा व्यक्ति भएको बताइएको छ।

डा. आलिन-खानले आफूले ३० देखि ५० वर्षका उमेरका स्वस्थ्य व्यक्तिहरूलाई कोरोनाभाइरसको उपचार गरिरहेको र ती अहिले आईसीयूमा जीवनमृत्युको दोसाँधमा रहेका बताएकी छन्।

फरक उमेरका जोखिम

तर बढी उमेरका व्यक्तिहरू सामान्यतया बढी जोखिममा रहेका छन्।

इम्पीरीयल कलेज लन्डनका अध्ययनकर्ताहरूले उमेर र कोरोनाभाइरसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्थाबीच स्पष्ट सम्बन्ध रहेको पाएका छन्।

जति उमेर बढी भयो उति अस्पताल भर्ना हुनुपर्ने र भर्ना भएपछि सघन उपचार कक्षमा बस्नुपर्ने सम्भावना बढी हुन्छ।

पचास वर्षभन्दा कम उमेरका कोरोनाभाइरस सङ्क्रमितहरूमध्ये पाँच प्रतिशत मात्रै अस्पताल भर्ना हुनुपर्ने अवस्था छ भने ७० देखि ७९ वर्षको उमेर समूहमा त्यो सम्भावना २४ प्रतिशत हुन्छ।

अस्पताल भर्ना भएकामध्ये ४० वर्षमुनिका पाँच प्रतिशतलाई मात्रै सघन उपचारको आवश्यकता पर्छ भने ६० देखि ६९ वर्षका २७ प्रतिशत र ७० देखि ७९ वर्षका ४३ प्रतिशतलाई सघन उपचारको आवश्यकता पर्छ।

असी वर्ष उमेर नाघेकाहरू भने ७१ प्रतिशतलाई सघन उपचार चाहिने चीन र इटलीको तथ्याङ्कबाट देखिन्छ।

लक्षण

अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी) को तथ्याङ्क अनुसार अस्पताल पुगेका ५३ प्रतिशत मानिसहरू ५५ वर्ष उमेरभन्दा माथिका छन्।

यसको अर्थ अस्पताल पुगेका कोरोनाभाइरस सङ्क्रमितमध्ये झण्डै आधा त्यसभन्दा कम उमेर समूहका छन्।

तर सघन उपचार आवश्यक पर्ने वा ज्यान गुमाउनेहरूमध्ये ८० प्रतिशत ६५ वर्षभन्दा माथि उमेर भएका त्यहाँको तथ्याङ्कले देखाउँछ।

व्यक्ति औसत होइनन्

यो औसत हो र यसभित्र त्यस्ता युवाहरू पनि छन् जो यो रोगको गम्भीर अवस्थाको शिकार हुन्छन् र कुनै अवस्थामा यो घातक पनि हुन सक्छ।

इटलीमा ४० वर्षसम्मका ०.४ प्रतिशत व्यक्तिका लागि यो रोग घातक देखिएको छ भने अमेरिकामा ०.७ प्रतिशत व्यक्तिका लागि घातक बनेको अनुमान छ।

अमेरिकाको न्याश्नल हेथ्थ इन्स्टीट्यूटका निर्देशक एन्थोली फौसीका अनुसार मृत्यु हुनेहरूको ठूलो सङ्ख्या बढी उमेरका भएपनि भाइरस कुनै गणितीय सूत्र भने होइन।

"गम्भीर बिरामी परेका युवाहरू पनि हुनेछन्।"

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

डब्ल्यूएचओका अनुसार ६० कटेका व्यक्तिहरू धेरै जोखिममा भए पनि यसका कारण मृत्यु हुनेहरूमा बालबालिका र युवा पनि छन्।

चीनमा कोरोनाभाइरस सङ्क्रमित २,००० बालबालिकामाथि गरिएको अध्ययनले उनीहरूको यसको प्रभाव कम देखिए पनि साना बालबालिकाहरू जोखिममा रहने बताइएको छ।

प्रतिकूल स्वास्थ्य स्थिति

उमेरबाहेक सबैभन्दा महत्त्वपूर्ण भूमिका भनेको स्वास्थ्य स्थितिको हुन्छ।

उदाहरणका लागि यूकेमा ४३ लाख मानिसलाई दम रोग छ जसले उनीहरूलाई कोरोनाभाइरसको बढी जोखिममा राख्छ। यो सबै उमेरका लागि हुन्छ।

सन् २०१३ मा गरिएको एउटा अध्ययनमा यूकेका २१ प्रतिशत २५ देखि ४४ वर्षका उमेरका मानिसहरूमा कुनै प्रकारको दीर्घरोग रहेको पत्ता लागेको थियो।

अझ कसैलाई त प्रतिकूल स्वास्थ्य स्थिति रहेको पनि थाहा नभएको हुन सक्छ।

फैलिनबाट रोक्नुहोस्

र, युवाहरू कोरोनाभाइरसका कारण गम्भीर बिरामी नपरे पनि उनीहरूले अरूलाई सजिलै भाइरस सार्न सक्छन्।

उनीहरूमा कुनै प्रकारको लक्षण नदेखिएको वा सामान्य लक्षण देखिएको पनि हुन सक्छ र उनीहरूलाई आफूले रोग सार्न सक्ने कुरा थाहा नहुन पनि सक्छ।

कोरोनभाइरस रुघाखोकीभन्दा बढी सरुवा हुने देखिएको छ। विज्ञहरूका अनुसार कोरोनाभाइरस भएका प्रत्येक व्यक्तिले औसतमा दुईदेखि तीन जनालाई सारिरहेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, वास्तवमा कोरोनाभाइरस के हो?

ती दुईदेखि तीन व्यक्तिले अरू दुईदेखि तीन व्यक्तिलाई र यसै क्रमले कोरोनाभाइरस फैलिरहेको छ।

यसको अर्थ शुरूमा कम देखिए पनि छिटै सङ्क्रमितको सङ्ख्या सयौँ वा हजारौँ हुन सक्छ।

सामाजिक दूरीले यो सरुवा प्रणाली भत्किन्छ।