कोरोनाभाइरस: ९७ वर्षीया महिला भइन् सङ्क्रमणमुक्त

कोरोनाभाइरस

दक्षिण कोरियामा एक ९७ वर्षीया महिला कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त भएको समाचार संस्था योन्हाप न्यूजले जनाएको छ।

ती महिलाबारे थप जानकारी दिइएको छैन, तर यसलाई वृद्धवृद्धाको हकमा झन् घातक मानिएको कोरोनाभाइरसविरुद्धको सकारात्मक समाचार भनिएको छ।

उनी कोभिड-१९ रोगबाट निको हुने सबैभन्दा वृद्ध व्यक्ति बनेकी छन्।

यसअघि चीनले मार्चमा १०० वर्षीय पुरुष कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त भएको बताएको थियो।

चेतावनी

जापानको राजधानी टोक्योका अधिकारीहरूले शहरवासीहरूलाई सप्ताहान्तमा घरभित्रै बस्न आग्रह गर्दै त्यहाँ सङ्क्रमण ह्वात्तै बढ्न सक्ने चेतावनी दिएका छन्।

बुधवार ४१ नयाँ सङ्क्रमण पुष्टि भए पनि टोक्योमा अन्य ठूला शहरमा जस्तो प्रतिबन्धहरू लागेका छैनन्।

तर गर्भनर युरिको कोइके भन्छिन्: "हामी सबैजनालाई कुनै पनि अवस्थामा अत्यावश्यक नभई यो साता घरबाहिर ननिस्कन अनुरोध गर्छौँ।"

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

उनले सबैलाई घरैबाट काम गर्न र राति पनि ननिस्कन आग्रह गरिन्।

जापानमा १,२०० जनामा सङ्क्रमण देखिएको छ भने ४३ जनाको मृत्यु भइसकेको छ।

दक्षिण एशियामा के भइरहेको छ?

भारतमा बिहीवार २१ दिने लकडाउनको दोस्रो दिन हो। त्यहाँ ५५० जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भइसकेको छ।

पाकिस्तान दक्षिण एशियाकै सबैभन्दा बढी सङ्क्रमण भएको देश हो। त्यहाँ १,००० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ जसमध्ये चार सय सिन्ध प्रान्तमा रहेको छ।

बाङ्ग्लादेशमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। सङ्क्रमितहरूको सङ्ख्या ३९ पुगेको छ। तर गत २४ घण्टामा त्यहाँ आन्तरिक उडान र सार्वजनिक यातायात बन्द गरेपछि नयाँ सङ्क्रमित भेटिएका छैनन्।

श्रीलङ्कामा बुधवार सङ्क्रमितको सङ्ख्या १०२ पुगेको छ र त्यहाँ अनिश्चितकालीन कर्फ्यु कायम छ।