कोरोनाभाइरस: सङ्क्रमण फैलिन थालेपछि दक्षिण कोरियामा कार्यरत नेपाली नागरिकमा 'मनोवैज्ञानिक त्रास'

तस्बिर स्रोत, AFP
दक्षिण कोरियामा कोरोनाभाइरसको प्रकोप फैलिएपछि त्यहाँ कार्यरत नेपाली नागरिकहरूले आफूहरू आत्तिएको बताएका छन्।
दक्षिण कोरियामा झन्डै ४६,००० हजार नेपाली नागरिक रहेको बताइन्छ। तीमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि गएका व्यक्ति र विद्यार्थी छन्।
सुरुमा राजधानी सोलमा मात्रै देखिएको सङ्क्रमण अहिले विभिन्न स्थानमा फैलिसकेको अधिकारीहरूले बताएका छन्।
कोरोनाभाइरस फैलिएका स्थानमा नेपालीहरू छरिएर रहेकाले उनीहरूलाई सतर्क रहन भनिएको दक्षिण कोरियास्थित नेपाली दूतावासले जनाएको छ।
अहिलेसम्म दक्षिण कोरियामा ७६३ जनामा सङ्क्रमण भएको र तीमध्ये सात जनाको मृत्यु भएको पुष्टि भएको छ।
सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले "उच्चतम तह" को सतर्कता घोषणा गरेको छ। दक्षिण कोरियामा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या चीनपछिको सर्वाधिक हो।
के भन्छ नेपाली दूतावास?
दक्षिणपूर्वी सहर डेगुमा सङ्क्रमित मानिसको सङ्ख्या धेरै देखिएकोले त्यहाँ भएका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको सोलस्थित नेपाली दूतावासले जनाएको छ।
"उक्त क्षेत्रका गैरनेपाली सङ्घका प्रतिनिधि र विद्यार्थी सङ्गठनसँग हामी निरन्तर सम्पर्कमा छौँ। उहाँहरूलाई हामीले विशेष सावधानी अपनाउन र यहाँको सरकारले भनेका स्वास्थ्यसम्बन्धी नियममा रहन अनुरोध गरेका छौँ," कार्यवाहक राजदूत रामसिंह थापाले भने।

डेगुमा विद्यार्थी र ईपीएसमार्फत् रोजगारीका लागि गएका नेपालीको सङ्ख्या १,५०० जति भएको दूतावासको अनुमान छ।
"पछिल्ला दिनमा कोरियामा झनै तीव्र गतिमा सङ्क्रमितहरू फेला पर्न थालेको अवस्था छ," दक्षिण कोरियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ, "तसर्थ कोरियाली सरकार र सम्बद्ध निकायहरूले समयसमयमा जारी गर्दै आएका सुरक्षाका उपायहरू प्रभावकारी ढङ्गले अवलम्बन गरी कोरोनाभाइरसबाट सुरक्षित रहन विभिन्न सिलसिलामा हाल दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नेपाली राजदूतावास सोल विशेष अनुरोध छ।"
डेगुबाहेक सोल, बुसान, खाउन्दो सहरमा पनि सङ्क्रमित व्यक्तिको सङ्ख्या बढ्न थालेपछि स्थानीय स्तरमा सर्वसाधारणहरूलाई सचेत रहन आग्रह गरिएको छ।
के भन्छन् दक्षिण कोरियामा कार्यरत नेपाली?
दक्षिण कोरियामा कार्यरत केही नेपालीले कोरोनाभाइरसको प्रकोप फैलिएकाले नेपालीहरू भयभीत भएको बीबीसीलाई बताएका छन्।

तस्बिर स्रोत, AFP

"रुघा लाग्दा पनि सङ्क्रमण भयो कि भन्ने खालको मनोवैज्ञानिक त्रासमा हामीहरू छौँ," एउटा विश्वविद्यालयमा अनुसन्धान सहायकका रूपमा कार्यरत रोशन शर्मा पौडेलले बीबीसीलाई बताए।
सङ्क्रमण देखिएका सहरमा मानिसहरूलाई समूहमा नहिँड्न, विशेष खालको मास्क अनिवार्य लगाउन, स्वास्थ्यमा समस्या देखिए उपचार गरिहाल्न र सङ्क्रमण भएको शङ्का लागे तुरुन्त जानकारी गराउन सूचना जारी गरिएको पनि उनले बताए।
"कुनै भवनमा सङ्क्रमण पाइयो भने त्यसलाई पूरै बन्द गरेर राखिन्छ," पौडेलले भने, "यहाँका शैक्षिक संस्थामा नयाँ सत्र मार्चबाट सुरु हुने भए पनि कोरोनाभाइरसकै कारण दुई हप्ता पछि सारिएको छ।"
उनका अनुसार पहिला घुँइचो हुने सार्वजनिक सवारीसाधनहरू हिजोआज सुनसान देखिन्छन्।

दक्षिण कोरियाकै अर्को सहरमा रहेकी मञ्जु पन्थीले पनि आफूहरू त्यहाँको सरकारले भनेका नियमहरूबारे सचेत रहेको बताइन्।
"अहिलेसम्म डराइ हाल्नुपर्ने अवस्था त छैन, तर पनि सङ्क्रमण बढेकाले हामी पूर्ण रूपमा सतर्क भएर बसेका छौँ," उनले भनिन्।
नेपालीहरूको अवस्था के छ?
गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले नेपालीहरूमा सङ्क्रमण नदेखिएको भए पनि सतर्क रहन निरन्तर रूपमा भनिएको बीबीसीलाई बताए।
"अहिलेसम्म नेपालीहरूलाई सङ्क्रमण देखिएको छैन। तर यहाँका सबैजसो सहरमा नेपालीहरू रोजगारी वा अध्ययनका लागि रहेकाले हामीले सतर्क रहन भनेका छौँ," सुवेदीले भने।


कतिपय ठूला कम्पनीहरूले कामदारलाई काममा नआउन भनिसकेको र केहीमा चाहिँ काम जारी रहेको उनले बताए।
कतिपय कामदारले एउटा कम्पनी छोडेर अर्कोमा काम खोज्दै गर्दा कोरोनाभाइरस सङ्क्रमणको असर त्यसमा पनि परेको देखिएको सुवेदीले बताए।
"नेपालीहरू ९० दिनभन्दा बढी कामविहीन भएर बस्न नपाइने नियम छ। त्यसैले आज यहाँको दूतावासले मानव संशाधन विभागमा पत्राचार गरेर त्यो अवधिलाई विचार गर्न अनुरोध गर्न लागेको छ," सुवेदीले भने।
के भन्छ नेपाल सरकार?

तस्बिर स्रोत, EPA
दक्षिण कोरियामा जोखिम देखिएकाले नेपाल सरकारले ईपीएसमार्फत् रोजगारीमा जान लागेका नेपालीका दुईवटा टोलीलाई तत्काल जान रोक लगाएको छ।
"दक्षिण कोरियामा जोखिम बढी छ भनेपछि हामीले दुईवटा लट रोकेका छौँ। अब जोखिम नघट्दासम्म वा पठाउन सुरक्षित छ भन्ने नहुँदासम्म हामी पठाउँदैनौँ, " श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बीबीसीलाई भने।
त्यसैगरी दक्षिण कोरियाबाट नेपाल आउबे सबै यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।











