तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोनाभाइरस: अन्तर्राष्ट्रिय उडानको प्रतिबन्धले नरोक्ने यी अन्तर्राष्ट्रिय उडान
सरकारले घोषणा गरेको अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध आइतवार मध्यरातीबाट लागु हुँदैछ।
तर अधिकारीहरूका अनुसार सरकारको 'निर्णय' ले विदेश फर्किन चाहनेहरूको निम्ति विकल्प पनि खुला गरेको छ। जस अनुसार केही विमान कम्पनीले उडान जारी राख्ने बताइएको छ।
उपप्रधानमन्त्री इश्वर पोख्रेल नेतृत्वको उच्चस्तरीय समितिले यसअघि नै "युरोपका सबै मुलुकहरू, पश्चिम एशियालगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यरातीदेखि लागु हुनेगरी आगमनमा प्रतिबन्ध लगाउने' निर्णय गरेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरण र अध्यागमन विभागको सूचनामा भने त्यो १२ एप्रिलसम्म लागु हुने भनिएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारत, थाइल्याण्ड, भुटान, बाङ्ग्लादेश, सिङ्गापुर र चीनबाट मात्र उडान भइरहेको थियो।
त्यसपछि सरकारले सबै अन्तर्राष्ट्रिय उडानमा ३१ मार्चसम्मको निम्ति रोक लगाएको छ।
उडान नियमित हुने सर्त
तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यसअघि नै रोक लगाइएका केही देश वा विमानस्थलबाट पनि काठमाण्डूमा विमान अवतरण गरेका छन् र ती विमान यात्रु लिएर फर्किएका पनि छन्।
आइतवार कतार एयरवेजले दोहा-काठमाण्डू, काठमाण्डू-दोहा, इतिहाद एयरवेजले अबुधाबी-काठमाण्डू, काठमाण्डू-अबुधाबी, सिल्क एयरले सिङ्गापुर-काठमाण्डू, काठमाण्डू-सिङ्गापुर, ड्रुक एयरले पारो (भुटान) -काठमाण्डू, काठमाण्डू- पारो उडान गरेका छन्।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सरकारको निर्णयका आधारमा प्रतिबन्धित देश र विमानस्थलबाट पनि ती उडान भएका हुन्। र, ती विमान सेवाका उडान पूर्ण प्रतिबन्धपछि पनि जारी रहन सक्छन्।
क्षेत्रीले भने, "कतार र इतिहाद एयरवेजलाई उताबाट यात्रु नल्याएर खाली आउने, पाइलटहरू जहाजमै बसिरहने र यहाँका यात्रु लग्ने सुविधा सरकारको निर्णय गराएर दिइएको छ। तर अरूलाई अहिलेसम्म त्यो अनुमति छैन।"
सुविधा अरूलाई पनि दिन सकिने
ती दुई विमान सेवा कम्पनीले पुरानै उडान तालिकाअनुसार यात्रु लिएर जाने गरेका छन्।
उनीहरूले सोमवार पनि उडान गर्ने जानकारी नेपाली अधिकारीहरूलाई दिएको बताइएको छ।
अरू विमान सेवा कम्पनीले चाहेमा त्यो सुविधाको निम्ति अनुमति दिन सकिने उनले जानकारी दिए।
कुनै देशबाट निकाला गरिएका नेपाली अलपत्र परेका छन् भने उनीहरूलाई स्वास्थ्य परीक्षण गरेर क्वारन्टीनमा राख्ने गरी नेपाल ल्याउने अवस्था रहेमा सरकार लचिलो हुनसक्ने अधिकारीहरू बताउँछन्।
तर त्यस्तो स्थितिबारे अहिलेसम्म कुनै विमान सेवा कम्पनीले सरकारलाई जानकारी गराएका छैनन्।
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्