कोरोनाभाइरस: श्वासप्रश्वासका बिरामीको उपचार गर्न अस्पताललाई 'असहज'

- Author, माधव नेपाल
- Role, बीबीसी न्यूज नेपाली, बुटवल
सरकारले कोरोनाभाइरस सङ्क्रमणबाट बच्न ठूलो तयारी गरिरहेको बताए पनि तीन दिनदेखि एक बिरामीले कम्तीमा आधा दर्जन अस्पताल चहारेको घटनाले त्यसमाथि प्रश्न उठेको छ।
नवलपरासीका एक २५ वर्षीय युवामा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि उनलाई कम्तीमा छवटा अस्पताल पुर्याइए पनि कुनै अस्पताल उपचारका लागि तयार नभएको उनको परिवारले दाबी गरेको छ।
लुम्बिनी प्रादेशिक अस्पतालले भने घटना विवरण थाहा पाएपछि उनलाई खोजेर नै बिहीवारबाट उपचार सुरु गरेको र उनको अवस्था सामान्य रहेको बताएको छ।
घटना के हो?
पश्चिम नवलपरासी हुकईका ती युवालाई चैत्र ४ गते मङ्गलवार बेलुका ९ बजे परासीको सदरमुकाममा रहेको सरकारी पृथ्वीचन्द्र अस्पताल पुर्याइएको थियो।
भारतमा चालकको काम गर्दै आएका उनलाई सो अस्पतालले केही समय उपचार गर्यो।
पृथ्वीचन्द्र अस्पतालका प्रमुख डा. नुरुल होडा भन्छन्: "आकस्मिक कक्षमा सामान्य उपचारपछि बेडमा राखेका थियौँ तर बिरामीको श्वासप्रश्वासमा समस्या देखियो।"
"एक्सरे हेर्दा निमोनिया पनि देखियो। भेन्टीलेटरमा राख्नु पर्ने अवस्था आएकोले हामीले अक्सीजनसहित बिरामीलाई बुटवल पठाएका हौँ।"

- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- नेपाल कति तयार? रोकथाममा चुनौतीका चाङ
- सङ्क्रमण हुँदा के हुन्छ? मानिसको शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्

बेडको अभाव
तर ती बिरामीलाई लुम्बिनी प्रादेशिक अस्पतालले भर्ना लिन मानेन।
अस्पतालका प्रमुख डा. राजेन्द्र खनालले अस्पतालमा त्यस्ता बिरामी राख्ने बेड नभएकोले भर्ना गर्न नसकिएको बताए ।
उनले भने: "हामीसँग आइसोलेसनका बेडहरू खाली थिएनन्। बिरामीलाई सिधै आईसीयूमा राख्ने कुरा भएन, त्यसैले भरतपुर पठाइदियौँ।"
बिरामीका एक आफन्तका अनुसार भरतपुरको एक अस्पतालले पनि भर्ना लिएन र बिरामीलाई काठमाण्डूको टेकु अस्पताल रिफर गरिदियो।
भरतपुरदेखि काठमाण्डू
बिरामीका आफन्तहरू पढेलेखेका नभएकाले उनीहरू टेकु अस्पताल पुगे वा नपुगेको थाहा हुन नसकेको डा. खनाल बताउँछन्।
डा. होडाले बिरामीलाई टेकु अस्पतालमा नपुर्याइएको जानकारी पाएको बताउँदै काठमाण्डूका अरु दुई अस्पतालमा लगिएको थाहा पाएको बताएका छन्।
बिरामीका एक आफन्तले 'कुनै अस्पतालले पनि उपचार गर्न नमानेपछि बिहीवार बुटवल फर्किएको' र पृथ्वीचन्द्र अस्पताल नै लगेको बताए।
डा. खनालले सञ्चारमाध्यमबाट उनी फर्किएको थाहा पाएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालेको बताए।








