कोरोनाभाइरस: नेपालको परीक्षण 'विश्वसनीय', सङ्क्रमणको वास्तविकता पत्ता लगाउन ठूलो सङ्ख्यामा जाँच गर्नुपर्ने

कोरोनाभाइरस

नेपालमा हालसम्म गरिएका कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी जाँचको गुणस्तरमा प्रश्न उठाउन नसकिने तर कोभिड-१९ को वास्तविक अवस्था थाहा पाउन अझ बढी नमुनाहरू परीक्षण गरिनुपर्ने सरकारी अधिकारी तथा विज्ञहरूले बताएका छन्।

मंगलवारसम्म ४९६ वटा नमुना जाँच गरिएकोमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र ती व्यक्ति निको भइसकेको अधिकारीहरू बताउँछन्।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार मङ्गलवार २५ वटा नमुनाको जाँच भइरहेको छ र साँझसम्म त्यसको नतिजा आउने ठानिएको छ।

त्यसमा इटली र चीनबाट आएका पर्यटक अनि राजधानीबाहिर विभिन्न स्थानबाट सङ्कलन गरिएका शङ्कास्पद नमुना रहेका छन्।

'गुणस्तरमा शङ्का गर्नुपर्दैन'

राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार विश्व स्वास्थ्य सङ्गठन(डब्ल्यूएचओ) ले तोकेका मापदण्डका आधारमा नमुनाहरूको परीक्षण गरिएकाले अहिलेसम्म गरिएका सबै परीक्षणहरू विश्वसनीय छन्।

Rajesh Kumar Gupta
Rajesh Kumar Gupta/Facebook
डब्ल्यूएचओले मान्यता दिएको मापदण्डअनुसार विश्वभरि गरिँदै आएको पीसीआर विधिबाटै हामीले परीक्षण गरिरहेका छौँ...
राजेशकुमार गुप्ता
सूचना अधिकारी, राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला

उनी भन्छन्, "कोभिड-१९ जाँचको लागि डब्ल्यूएचओले मान्यता दिएको मापदण्डअनुसार विश्वभरि गरिँदै आएको पीसीआर विधिबाटै हामीले परीक्षण गरिरहेका छौँ। आन्तरिक रूपमा पनि गुणस्तर सुनिश्चित गरिएकाले हाम्रो परीक्षण क्षमतामा प्रश्न उठाउने ठाउँ छैन।"

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गरिएका नमुनामध्ये पाँचदेखि १० प्रतिशत नमुना थप परीक्षणका लागि डब्ल्यूएचओको प्रक्रियाअनुसार सिङ्गापुर र थाईल्यान्ड पठाउने गरिएको जनाकारी दिए।

"प्राविधिक रूपमा हाम्रो जाँच दुरुस्त छ। शङ्का लागेर नमुना जाँच गराएका बिरामीहरू सङ्क्रमण नदेखिएपछि घर फर्किएर पनि सन्चै भएकाले हाम्रो जाँच एकदमै गुणस्तरीय छ भन्ने व्यावहारिक रूपमा नै प्रमाणित भएको छ।"

कोरोनाभाइरसको सङ्क्रमण जाँच्न रुघा वा ज्वरोजस्ता इन्फ्लूएन्जासँग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिका घाँटी र नाकबाट 'स्वाब' गरेर नमुना सङ्कलन गरिन्छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै अहिले उक्त परीक्षण उपलब्ध छ।

नि:शुल्क गराइने उक्त जाँचको परिणाम २४ देखि ४८ घण्टासम्म आउने प्राविधिकहरू बताउँछन्।

उक्त प्रयोगशालामा कोरोनाभाइरस जाँच्न सक्ने भनी डब्ल्यूएचओले मान्यता दिएको बायोसेफ्टी ल्याबरेटरी २ र कोरोनाभाइरसभन्दा पनि घातक प्रकृतिका भाइरस जाँच्न सक्ने बायोसेफ्टी ल्याबरेटरी ३ सञ्चालनमा छन्।

नेपालका निजी अस्पताल वा प्रयोगशालामा त्यो सेवा उपलब्ध नरहेको राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालाका प्राविधिक अधिकृत गुप्ता बताउँछन्।

coronavirus nepali banner
कोरोनाभाइरस ब्यानर

अझ ठूलो सङ्ख्यामा प्रयोगशाला परीक्षण आवश्यक

सङ्क्रामक रोगसम्बन्धी विज्ञ डा. अनुप सुवेदी नेपालले हालसम्म गरेका कोरोनाभाइरसको नमुना परीक्षणमा समस्या नरहे पनि सानो सङ्ख्यामा मात्रै जाँच गरिएकाले वास्तविक चित्र अझै थाहा नभइसकेको बताए।

कोरोना

तस्बिर स्रोत, Reuters

उनले भने, "कति देशमा भटाभट देखिएको तहमा हाम्रोमा कोरोनाभाइरसको सङ्क्रमण नदेखिएकाले हामीले साँघुरो दायरा बनाएर थौरै जाँच गरिरहेका छौँ। हामीले ठूलो स्तरमा जाँच नगरेकोले सङ्क्रमण फेला पार्न नसकेको हो।"

उनले रुघा, खोकी र ज्वरो जस्ता लक्षण देखिएका देशका विभिन्न भागबाट दैनिक १०० जनासम्मको नमुना परीक्षण गरे अनि त्यसबाट पनि कोभिड-१९ नदेखिए बल्ल आश्वस्त हुने अवस्था आउने उल्लेख गरे।

उनले भने , "सङ्क्रमण छ तर हामीले देखिरहेका छैनौँ भनेपछि ढिलो भइसक्छ र हामीपनि मध्यपूर्व वा युरोपमा जस्तो परिस्थितिमा पुग्नसक्छौँ। त्यही भएर निरन्तर निगरानी र परीक्षणमा जोड दिनुपर्छ।"

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारीका अनुसार अहिले कोरानाभाइरस सङ्क्रमणको आशङ्कामा सरदर २० देखि २५ वटा परीक्षण प्रत्येक भइरहेको छ। आवश्यक पर्दा प्रयोगशालामार्फत् दैनिक ८०० देखि ९०० वटा परीक्षण गर्न सकिने उनले बताए।

डब्ल्यूएचओले कोरोनाभाइरसका बिरामीको उपचारमा खटिने चिकित्सक र प्रयोगशालामा खटिने प्राविधिकहरूमा पनि सङ्क्रमण सर्ने जोखिम उच्च रहेको बताउने गरेको छ।

सङ्क्रमणको लक्षण देखिएका बिरामीलाई एक्ल्याएर उपचार गर्दा उनीहरूको उपचारमा खटिने चिकित्सक र उनीहरूबाट सङ्कलन गरिएका नमुना परीक्षण गर्ने प्राविधिकहरूले पूरै शरीर ढाक्ने पीपीई भनिने विशेष किसिमको पोसाक लगाउनुपर्छ।

अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पर्याप्त सङ्ख्यामा पीपीई रहेको र थप पीपीई खरिदको प्रकिया अघि बढाइएको गुप्ताले जानकारी दिए।

कोरोनाभाइरस
Presentational white space