कोरोनाभाइरस: विश्वव्यापी महामारी के हो र यो शब्दावली किन प्रयोग गरिन्छ

जहाजमा जाँच गरिँदै

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भाइरसको सङ्क्रमण बढ्दै गएपछि विश्वभरि त्यसको रोकथामका लागि परीक्षणको क्रम बढेको छ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस प्रकोपलाई "प्यान्डेमिक" अर्थात् "विश्वव्यापी महामारी"को सङ्ज्ञा दिएको छ।

यसअघि चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणका लागि उसले उक्त शब्दावली प्रयोग गरेको थिएन।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले भाइरसको खतरनाक तहको सङ्क्रमणले निम्त्याएको गम्भीर चिन्ताका कारण अहिले यो पदावलीको प्रयोग गरिएको बताए।

विश्वव्यापी महामारी के हो?

प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारीले एकै समयमा विश्वभरि विभिन्न देशमा मानिसबाट मानिसमा फैलिने र निकै ठूलो मात्रामा रोगको सङ्क्रमण देखिने स्थितिलाई जनाउँछ।

डा. टेड्रोस

तस्बिर स्रोत, AFP/Getty

पछिल्लो समय सन् २००९ मा स्वाइन फ्लू विश्वव्यापी महामारीका रूपमा फैलिएको थियो।

त्यसबाट हजारौँ मानिसले ज्यान गुमाएको विज्ञहरूको ठम्याइ छ।

यदि नयाँ भाइरसको उत्पत्ति भएको छ र त्यसले मानिसलाई सजिलै सङ्क्रमण गर्न सक्छ तथा प्रभावशाली ढङ्गले निरन्तर मानिसबाट मानिसमा सर्न सक्छ भने विश्वव्यापी महामारी फैलिन सक्छ।

कोरोनाभाइरसको अहिलेको प्रकोपमा यी सबै विशेषता छन्।

अहिलेसम्म कुनै खोप वा उपचारले रोक्न नसक्ने उक्त सङ्क्रमणको नियन्त्रण महत्त्वपूर्ण भएको छ।

यो शब्दावली अहिले किन प्रयोग गरियो?

कोरोभाइरस

तस्बिर स्रोत, BSIP

फेब्रुअरी महिनाको अन्त्यतिर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कोरोनाभाइरस विश्व्यापी महामारी बन्ने सक्ने पूर्ण सम्भावना भएको टिप्पणी गरेका थिए।

तर उक्त भाइरस अनियन्त्रित रूपमा विश्वभरि नफैलिएकाले त्यसलाई विश्वव्यापी महामारी घोषणा गर्नु नपरेको उनको भनाइ थियो।

तर स्थितिमा केही परिवर्तन आयो। कोरोनाभाइरस सङ्क्रमण देखिएका देशको सङ्ख्या बढ्यो। अहिलेसम्म यो भाइरसको सङ्क्रमण ११८ वटा देशमा भेटिएको पुष्टि भएको छ।

कोभिड-१९ झन्डै एक लाख २५ हजार मानिसमा भएको पुष्टि भएको छ भने ४,६०० जनाभन्दा बढी ज्यान गुमाएका छन्।

भाइरसको सङ्क्रमण विस्तारमा भाषाको परिवर्तनले कुनै परिवर्तन ल्याउँदैन। तर देशहरूले यसको नियन्त्रण गर्ने प्रयासमा परिवर्तन ल्याउने डब्ल्यूएचओको आशा छ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले भनेका छन्, "केही देशहरू क्षमताको अभावका कारण सङ्घर्ष गर्दैछन्। केही देशहरूले साधनस्रोतको अभावको सामना गरिरहेका छन्। केही देशहरू दृढताको अभावमा सङ्घर्ष गरिरहेका छन्।"

उनका अनुसार डब्ल्यूएचओले देशहरूलाई गरेको केही आग्रह यस्तो छ:

  • आपत्कालीन संयन्त्रलाई सक्रिय र क्षमता वृद्धि गर्न
  • मानिसहरूलाई यसको जोखिम र जोगिने उपायबारे बताउन
  • कोभिड-१९ बाट पीडित प्रत्येक व्यक्ति पत्ता लगाउन, तिनलाई अलग्याएर राख्न, परीक्षण गर्न, उपचार गर्न र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका मानिसको पहिचान गर्न
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर