कोरोनाभाइरस: महामारी नियन्त्रण गर्न ट्रम्पले गरे अमेरिकामा सङ्कटकाल घोषणा

ट्रम्पले कोरोनाभाइरसलाई परास्त गर्न सकिने आशा व्यक्त गरे

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्रम्पले कोरोनाभाइरसलाई परास्त गर्न सकिने आशा व्यक्त गरे

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण प्रकोप फैलिरहेकाले त्यसलाई नियन्त्रण गर्न "राष्ट्रिय सङ्कटकाल" घोषणा गरेका छन्।

सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ।

उक्त कदमले स्वास्थ्यसेवामा विद्यमान प्रावधानलाई खुकुलो पारिदिएको छ। यसबाट चाँडो परीक्षणको गति बढ्नेछ।

कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो।

अमेरिकामा १,७०१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भइसकेको छ भने ४० जनाको कोभिड-१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।

अमेरिकाका विभिन्न राज्यले सङ्क्रमणको दर नियन्त्रण गर्न विभिन्न उपाय अवलम्बन गरेका छन्।

त्यहाँ ठूला भेला र खेलकुदका कार्यक्रममा प्रतिबन्ध लगाउनेदेखि विद्यालय बन्द गर्नेसम्मका निर्णय गरिएको छ।

अमेरिका विमानस्थल म्यासचूशिट्स

तस्बिर स्रोत, Getty Images

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग अर्थात् कोभिड-१९ लाई विश्वव्यापी महामरीको सङ्ज्ञा दिएको छ।

गत डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाभाइरस सङ्क्रमणको महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको छ।

शुक्रवार विभिन्न युरोपेली देशमा सङ्क्रमण र मृत्युको दर ह्वात्तै बढेको बताएका छन्।

इटलीमा २४ घण्टामा सर्वाधिक २५० जनाको मृत्यु भयो। अहिलेसम्म त्यहाँ कुल १,२६६ जनाको मृत्यु भइसकेको छ भने १७,६६० मा सङ्क्रमण पुष्टि भएको तथ्याङ्क छ।

ट्रम्पले के भने?

सङ्कटकालको घोषणा गर्न ट्रम्पले ह्वाइट हाउसबाट टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरेका थिए।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

आगामी आठ हप्ता गम्भीर हुने उनको भनाइ थियो।

सङ्कटकाल लगाएपछि:

  • स्वास्थ्यमन्त्री र अन्य अधिकारीले केही कानुनी प्रावधानलाई खुकुलो पारिदिन सक्छन्। त्यसबाट स्वास्थ्यसेवा प्रदायकहरूलाई काम गर्न सजिलो हुन्छ
  • अस्पतालहरूलाई आपत्कालीन तयारीका योजना लागु सक्रिय पार्न भनिएको छ
  • अर्को हप्तासम्म थप पाँच लाख परीक्षण उपलब्ध हुनेछन्। तर आवश्यक नभएको खण्डमा परीक्षण नगराउन अधिकारीहरूको आग्रह गरेका छन्
  • निजी प्रयोगशाला र खोप विकासकर्ताहरूले एक महिनाभित्र ५० लाख परीक्षण उपलब्ध गराउन सक्नेछन्। तर लक्षण नभएका मानिसले परीक्षण नगराउन अधिकारीहरूको सिफारिस छ।
  • विद्यार्थीहरूले लिएको ऋणको ब्याज अर्को सूचना प्रकाशित नभएसम्म मिनाहा गरिएको छ। देशभरि विश्वविद्यालयहरू बन्द भएका छन्
कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

अतिप्रतिभावित राज्यका डेमोक्र्याट सांसदहरूले कङ्ग्रेसमा राष्ट्रपतिलाई सङ्कटकाल घोषणा गर्न आग्रह गरेका थिए। त्यसो गर्दा थप मानिसले सरकारी स्वास्थ्य बीमाको सुविधा पाउन सक्थे।

पछि तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपतिसँग कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबाट प्रभावित भएका मानिसलाई सघाउन एउटा सहमति भएको बताएकी थिइन्।

उक्त सहमतिअनुसार दुईहप्ते तलबी बिरामी बिदा र तीनमहिने तलबी बिदाको व्यवस्था तथा बीमा तथा खाद्यान्न सहयोग नपाएका मनिसलाई कोरोनाभाइरसको नि:शुल्क परीक्षण उपलब्ध हुनेछ।