कोरोनाभाइरस: थाहै नपाई अरू धेरै जनालाई रोग सारिदिने मानिस किन महत्त्वपूर्ण छन्?

तस्बिर स्रोत, Getty Images
- Author, जेम्स ग्यालहर
- Role, स्वास्थ्य एवं विज्ञान संवाददाता, बीबीसी न्यूज
प्राय: सबै सरुवा रोगको प्रकोपका बेला आइपर्ने एउटा चुनौती 'सुपर-स्प्रेडिङ' हो। यसमा कोहीकोही सङ्क्रमित व्यक्तिले अरू धेरै जनालाई रोग सारिदिन्छन्।
आफ्नो गल्ती नभए पनि उनीहरूले रोग विस्तारमा ठूलै भूमिका खेल्छन्।
कोरोनाभाइरस प्रकोपका बेला पनि यस्तो द्रुत सङ्क्रमण भइरहेको विवरण आएका छन्। र, यस्ता तीव्र सङ्क्रमण खासगरी चीनको वुहानमा केन्द्रित छन्।
सिङ्गापुर गएका एक ब्रिटिश नागरिक स्टीभ वाल्श यूकेमा पुष्टि भएका चारवटा सङ्क्रमण, फ्रान्समा पाँचवटा अनि मायोर्काको सम्भावित एउटा सङ्क्रमणमा पनि मुछिएका छन्।
के हो 'सुपर-स्प्रेडर'?

तस्बिर स्रोत, Getty Images
सुपर-स्प्रेडरको अर्थ हो अतिसङ्क्रामक (व्यक्ति) जसले धेरैमा रोग सारिदिन्छन्। तर यो शब्दावलीको प्रस्ट वैज्ञानिक परिभाषा छैन।
यो अवस्था त्यतिखेर देखा पर्छ जतिखेर एक सङ्क्रमित व्यक्तिले असामान्य रूपमा धेरै अन्यलाई सङ्क्रमण सारिदिन्छन्।
औसतमा प्रत्येक कोरोनाभाइरस सङ्क्रमित व्यक्तिले दुईदेखि तीन जनासम्मलाई सारिरहेको पाइएको छ।
तर यो केवल औसत सङ्ख्या हो। कतिपयले कसैलाई पनि सारेका छैनन् भने कतिपयले भने निकै धेरैलाई सारिदिएका छन्।
सुपर-स्प्रेडिङ कति ठूलो हुनसक्छ?

तस्बिर स्रोत, EPA
उत्तर हुन्छ: अत्यन्त ठूलो। अनि तिनले प्रकोप विस्तारमै ठूलो भूमिका खेल्न सक्छन्।
सन् २०१५ मा एउटा त्यस्तै सुपर-स्प्रेडिङका कारण मिडलईस्ट रेस्पिरेटरी सिन्ड्रोम वा मर्स भाइरस एउटै अस्पतालबाट ८२ जनामा सरेको पाइएको थियो। मर्स पनि अहिले चीनबाट फैलिएको भाइरसजस्तै कोरोनाभाइरसकै एउटा प्रकार हो।
अनि पश्चिम अफ्रिकामा इबोला प्रकोप हुँदा अधिकांश सङ्क्रमणका घटना (६१%) का पछाडि थोरै बिरामी (३%) मात्रै जिम्मेवार थिए।
"सन् २०१४ मा भएको एउटा अन्तिम संस्कारका बेला भएको भेलाबाट मात्रै १०० वटा नयाँ सङ्क्रमणको शृङ्खला सुरु भयो," लन्डनस्थित किङ्स कलेजकी डा. न्याथली म्याक्डर्मटले भनिन्।
किन कोही मानिसले धेरै सार्छन्?

तस्बिर स्रोत, EPA
आफ्नो कामको प्रकृति वा आफू बस्ने ठाउँका कारण कोही मानिस अरूभन्दा धेरै मानिसको सम्पर्कमा आउँछन्। अनि उनीहरूले स्वाभाविक रूपमा अरूले भन्दा धेरै मानिसलाई रोग सारिदिन्छन्।
"बालबालिका यसमा अगाडि हुन्छन्। त्यसैले स्कूल बन्द गराउनु यस्तो बेला राम्रो उपाय हो," लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनका डा. जोन एड्मन्ड्स भन्छन्।
"एचआईभी फैलाउन व्यावसायिक यौनकर्मीहरूको महत्त्वपूर्ण भूमिका रहेको थियो," एडिन्बरा विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउसले भने।
कतिपय अरू मानिसले भने असामान्य धेरै मात्रामा आफ्ना शरीरबाट भाइरस (वा अन्य रोगजन्य जीवाणु) निष्काशन गरिरहेका हुन्छन्, र ती मानिसको सम्पर्कमा जोसुकै पुगे तिनमा सङ्क्रमण सर्ने सम्भावना बढ्छ।
सार्स सङ्क्रमणका बेला अस्पतालहरू सुपर-स्प्रेडिङका केन्द्रबिन्दु नै बने। किनभने सबभन्दा धेरै बिरामीहरूनै धेरै सङ्क्रामक पनि थिए र तिनको सम्पर्कमा निकै धेरै स्वास्थ्यकर्मी थिए।
तिनले प्रकोपमा कस्तो प्रभाव पार्छन्?

तस्बिर स्रोत, EPA
"प्रकोपको प्रारम्भिक समयमा यसले धेरै ठूलो भूमिका खेल्छ जतिखेर भाइरस सङ्क्रमण स्थापित हुँदै गरेको हुन्छ," डा एड्मन्ड्सले बीबीसी न्यूजलाई बताए।
कोरोनाभाइरस र अन्य विषाणुबाट हुने सङ्क्रमणहरू पशुबाट पहिले सर्छन्।
तर मानिसमा सरेपछि पनि सङ्क्रमणले प्रकोपको स्वरूप धारण नगर्न सक्छ।
तर यदि जीवाणु वा विषाणुहरूले चाँडै रोग फैलाउन सक्ने मानिसलाई फेला पारे भने तिनले प्रकोपको रूप लिन सक्छन्। अरू देशमा सङ्क्रमण फैलिनुमा पनि यही नियम लागु हुन्छ।
"यदि तपाईँको निकट कोही अतिसङ्क्रामक व्यक्ति छन् भने तपाईँलाई प्रकोप नियन्त्रण गर्न कठिनाइ पर्छ," डा. म्याक्डर्मटले भने।
यदि सुपर-स्प्रेडिङ भइरहेको छ भने कोरोनाभाइरस कसरी नियन्त्रण होला?

तस्बिर स्रोत, Getty Images
नयाँ कोरोनाभाइरसको सुपर-स्प्रेडिङ भएको रहेछ भने पनि आश्चर्यपूर्ण हुनेछैन। त्यसले रोग व्यवस्थापनमा खासै असर पार्दैन पनि।
यति बेला सङ्क्रमणको पहिचान गर्नु र सङ्क्रमितको सम्पर्कमा आएकाहरूसँग पनि छिटै सम्पर्क स्थापित गर्नु नै प्राथमिकतामा छन्।
"तर यसले त अतिसङ्क्रामकहरूलाई चिनिहाल्ने काम झन् महत्त्वपूर्ण बनाइदिन्छ - धेरै गल्ती गर्ने छुट छैन। सुपर-स्प्रेडरलाई पत्ता लगाइहाल्नुपर्छ," प्राध्यापक वुलहाउसले बताए।
के यो सुपर-स्प्रेडरहरूको दोष हो?

इतिहासको विश्लेषण गर्दा अतिसङ्क्रामक मानिसहरूलाई नराम्रो दृष्टिले हेर्ने प्रवृत्ति पाइन्छ।
"टाइफाइड मेरी" त्यसको एक उदाहरण हुन्।
मेरी मलोन (१८६९-१९३८) नाम गरेकी ती आइरिश महिलाले आफूमा कुनै लक्षण नदेखिँदानदेखिँदै पनि अन्जानमा अरूलाई टाइफाइड सारिदिइन्। परिणामस्वरूप उनलाई दशकौँसम्म निर्वासनमा बाध्यात्मक क्वारन्टीनमा राखियो।
तर यथार्थमा त्यो बिरामीको दोष भने हुँदै होइन।
"हामीले प्रयोग गर्ने भाषाप्रति हामी निकै सजग हुनुपर्छ," डा. म्याक्डर्मटको भनाइ छ।
"तिनले कुनै गल्ती गरेका होइनन्, त्यो सङ्क्रमण उनीहरूले आफ्नो कुनै दोषविना नै सारेका हुन्छन्।"
"उनीहरू सम्भवत: डराएका हुन्छन् र उनीहरूलाई प्रेमपूर्ण व्यवहार आवश्यक छ।"








