कन्टेजन: के १० वर्षअघि बनेको यो चलचित्रले कोरोनाभाइरस महामारीको पूर्वानुमान गरेको थियो?

कन्टेजन

तस्बिर स्रोत, Warner Bros

सन् २०११ मा सार्वजनिक हुँदा खासै व्यापार गर्न नसकेको अङ्ग्रेजी चलचित्र 'कन्टेजन' (Contagion) लाई सफल चलचित्र भन्न सकिने आधार न्यून छ।

म्याट डेमन, ज्यूड ल, ग्वेइनेथ प्याल्ट्रो, केट विन्स्लेट र माइकल डग्लसजस्ता ख्यातिप्राप्त कलाकारले अभिनय गरेको भए पनि त्यो वर्ष उक्त चलचित्र कमाइका हिसाबले विश्वभरि ६१औँ स्थानमा थियो।

तर केही समययता गुगलमा उक्त चलचित्रको नाम खोज्ने क्रम बढेको छ। कन्टेजन अमेरिकाको एपल आईट्यून (iTune) स्टोरमा आश्चर्यजनक रूपमा चर्चित हुँदै गएको छ।

कोन्टेजन निर्माण गर्ने कम्पनी वार्नर ब्रदर्स फिल्म स्टूडिओका अनुसार गत डिसेम्बरमा उसको सूचीमा उक्त चलचित्र २७० औँ स्थानमा थियो।

त्यति बेला भर्खरै चीनबाट कोभिड-१९ को सङ्क्रमणको खबर आउन थालेको थियो।

तीन महिनापछि कोन्टेजनको स्थानमा उल्लेख्य सुधार भएको छ। उक्त चलचित्र लोकप्रिय चलचित्र ह्यारी पोटरका आठ भागपछाडिको स्थानमा उक्लिन सफल भएको छ।

कोरोनाभाइरस सङ्क्रमणको महामारी विश्वव्यापी हुनु र उक्त चलचित्रको कथाबीच समानता भएका कारणले त्यसो भएको हो।

के छ कथामा?

म्याट डेमन र ग्वेइनेथ प्याल्ट्रो

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, म्याट डेमन र ग्वेइनेथ प्याल्ट्रो

चलचित्रमा एक व्यवसायीको भूमिकामा रहेकी महिलाको (प्यालट्रोले अभिनय गरेकी छन्) रहस्यमय तथा घातक भाइरसका कारण मृत्यु हुन्छ।

चीन गएका बेला उक्त भाइरसबाट उनी सङ्क्रमित भएको चलचित्रमा देखाइएको छ। पछिल्लो समयमा कोन्टेजन प्रख्यात हुँदै जानुको कारण चीनसँग सम्बन्धित विषय वस्तु भएकाले पनि हो।

कोरोनाभाइरस पहिलो पटक चीनमा देखा परेको थियो।

गत फेब्रुअरी २६ तारिखमा प्यालट्रोले फेस मास्क लगाएको तस्बिर सामाजिक सञ्जालमा राखेपछि उक्त चलचित्रप्रति धेरैको चासो बढेको थियो।

यो Instagram पोस्ट छोड्नुहोस्
Instagram को सामग्रीलाई अनुमति छ?

यो लेखमा Instagram बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ Instagram cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

Instagram पोस्ट समाप्त

के छ समानता?

कोन्टेजनमा वास्तविक अवस्थासँग मिल्ने कैयौँ समानता छन्।

प्याल्ट्रोले अभिनय गरेको चरित्रकी महिला एमईभी-१ नाम दिइएको भाइरसबाट सङ्क्रमित हुन्छिन्।

वध गरिएको एउटा सुँगुर चलाएका हङ्‌कङका पाक्‌शास्त्रीसँग हात मिलाएपछि उनलाई उक्त सङ्क्रमण भएको उक्त चलचित्रमा देखाइएको छ। सुँगुरमा भने चमेराबाट भाइरस सरेको देखाइएको छ।

घर फर्किएपछि उनी बिरामी पर्छिन् र अन्तत: उनको मृत्यु हुन्छ। उनका छोराको पनि त्यसको केही समयमा मृत्यु हुन्छ।

तर डेमनले अभिनय गरकेो पतिको भूमिकामा रहेको पात्र भने स्वस्थ रहन्छन्।

कुखुरा

तस्बिर स्रोत, Getty Images

अहिले विश्वव्यापी महामारी घोषित भएको कोभिड-१९ चीनको वुहान सहरमा गत डिसेम्बर महिनादेखि फैलिन सुरु थियो।

विज्ञहरूका अनुसार वन्यजीवबाट कोरोनाभाइरस मानिसमा सरेको थियो।

कसरी देखिन पुग्यो समानता?

कोन्टेजनको पुनरागमनले यसका लेखक स्कट बर्न्सलाई चकित भएका छन्।

तर फोर्ट्यून पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आधुनिक समाज यस प्रकारका प्रकोप हुँदा कमजोर भएको देखाउन चाहेको बताएका थिए।

"कोन्टेजन र कोरोनाभाइरसबीचको समानता अप्रासङ्गिक र संयोगवश भएको हो। अनि यो त्यति महत्त्वपूर्ण पनि छैन," बर्न्सले भने। "महत्त्वपूर्ण र सही कुरा सामाजिक प्रतिक्रिया, डर फैलिनु र त्यसको बृहत्तर प्रभाव हो।"

उनले त्यसो भनेर कोन्टेजनका एक पात्रतर्फ सङ्केत गरेका हुन्।

स्कट बर्न्स

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोन्टेजनको कथा स्कट बर्न्सले लेखेका हुन्

ज्यूड लले निर्वाह गरेको भूमिकामा रहेका एक ब्लगरले उक्त चलचित्रमा भाइरसबारे स्थापित भइनसकेका हल्ला चलाउने र त्यसबाट निको हुने भन्दै गलत उपचारविधि प्रवर्धन गरेका छन्।

विश्वसनीय बनाउन के गरियो?

बर्न्स यसलाई वैज्ञानिक दृष्टिबाट विश्वासनीय बनाउन कसरी प्रतिबद्ध थिए भन्ने कुराले पनि कोन्टजेनको लोकप्रियतालाई व्याख्या गर्छ।

उनले कथा लेख्नुअघि भाइरसविज्ञ तथा सरुवारोग विशेषज्ञहरूसँग छलफल गरेका थिए।

उनले विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञहरूसँग पनि परामर्श गरेका थिए।

कोरोनाभाइरस ब्यानर