वैदेशिक रोजगारी: चीनको ठूलो निर्माण कम्पनी संलग्न कुवेती परियोजनामा ज्यान गुमाएका रोल्पाली युवाका दाजु भन्छन् ‘न्याय चाहियो’

कुवेत

तस्बिर स्रोत, OfficialKfsd

    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नेपालमा एक दशकसम्म चलेको सशस्त्र द्वन्द्वको केन्द्रमा रहेको रोल्पाको थबाङमा अवस्थित एउटा गाउँलाई अघिल्लो महिना कुवेतमा भएको दुर्घटनाले यतिबेला झस्काइरहेको छ।

कुवेतस्थित एउटा सरकारी आवास निर्माण परियोजनामा काम गर्दा झण्डै एक महिना अघि ज्यान गुमाउने छ नेपालीमध्ये एक थबाङको उवा निवासी १९ वर्षका राजु रोका मगर थिए।

उनका दाजुले बीबीसीलाई आफू पनि भाइसँगै उक्त निर्माणस्थलमा काम गर्न जाने योजनामा रहेपनि पछिल्लो दुर्घटनासँगै अब नजाने निर्णय गरेको बताए।

तर आफ्नो गाउँका अरू युवाहरू त्यहाँ काम गरिरहेको भन्दै उनले काम गर्ने ठाउँमा सुरक्षाको उचित प्रबन्ध नहुँदा दुर्घटना भएको आफूलाई भनिएको उल्लेख गरे।

नेपाली अधिकारीहरूले रोका परिवार सहित दुर्घटनामा ज्यान गुमाउने सबैलाई वैदेशिक रोजगारीका क्रममा नेपालमा दिइने क्षतिपूर्तिबाहेक कुवेतबाट पनि क्षतिपूर्ति दिलाउन पहल गर्ने बताएका छन्।

थबाङबाट कुवेत यसरी पुगे राजु

रोल्पाको पहाडी गाउँ थबाङका राजु १९ वर्षका थिए र उनका श्रीमती र दुई वर्षका एक छोरा छन्।

यसै महिना शिवरात्रीको समय पारेर भाइको शव लिन काठमाण्डू आएका उनका दाजु सूर्य रोका मगर भन्छन्, "केही कमाउँछु, जमाउँछु र आफ्नो परिवारलाई पाल्छु भनेर भाइ विदेश गएको थियो। के गर्ने यस्तो भयो।"

परिवारका तीन भाइ छोरामध्ये कान्छा राजु यसै वर्षको तिहारअघि कुवेत गएका थिए र उनी त्यहाँ पुगेपछि जम्मा एकपटक मात्र आफूसँग कुराकानी भएको उनका दाजु सूर्यले सम्झिए।

उनी थप्छन्, "हामी दुई भाइ एउटै कम्पनीमा जान लागेका थियौँ। चिनियाँ कम्पनी भनेर हामीलाई भनिएको थियो। भाइसँग कुरा हुँदा उसले पनि ठिकै ठिकै छ भनेको थियो।"

"उसले महिनाको खाएर ३०-३५ हजार रुपैयाँ बच्छ भन्थ्यो। कम्पनीको टिपरहरू आउँछन्, माटोहरू यता उता गर्छन्, त्यसको सङ्ख्या टिप्ने हो मेरो काम भन्ने गर्थ्यो। कुरा भएको एक महिनापछि यस्तो घटना भइहाल्यो।"

भाइका साथीहरूले सुरक्षा सावधानी नउपनाउँदा उक्त दुर्घटना भएको आफूलाई जानकारी दिएको उनले बताए।

उनले भने, "घर बनिरहेको ठाउँमा फोहोर बाहिर जाने व्यवस्था गर्न जमिनमुनि पाइपहरू गाड्दै रहेछन्, माथिबाट माटोले झ्याप्प पुरिदिएको रहेछ।"

"त्यही भएर बाँच्ने सम्भावना नै रहेन। त्यहाँ काम गरिरहेका अरूले भने अनुसार राम्रो सुरक्षा थिएन।"

भव्य सहरी आवास परियोजना

कुवेतको सबैभन्दा ठूलो सरकारी आवास निर्माण परियोजना अन्तर्गत चिनियाँ कम्पनी गेजुबाले अघि बढाएको उक्त आवास निर्माणका क्रममा ज्यान गुमाएका राजुको परिवारले त्यहाँ कार्यरत नेपाली साथीभाइहरूले संकलन गरेर पठाएको हालसम्म २५ हजार रूपियाँ मात्र पाएको उनका दाजुले बताए।

कुवेत

तस्बिर स्रोत, Reuters

छ नेपालीको मृत्यु र दुई जना घाइते हुने गरी दुर्घटना भएको अल मुत्ला परियोजना कुवेतको प्रमुख आवास निर्माण आयोजना हो।

करिब एक सय वर्गकिलोमिटर क्षेत्रफलमा झण्डै चार लाख मानिसहरूको बसोबास हुने खालको सहर निर्माण गर्ने उक्त आवास परियोजना बनाउने जिम्मा चिनियाँ गेजुबा कम्पनीले पाएको उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ।

तीन सय ५६ मिलियन अमेरिकी डलर लागतमा अघि बढाइएको उक्त परियोजना सन् २०२३ सम्ममा सक्ने लक्ष्य राखिएको कुवेतको सरकारी समाचार संस्थाले उल्लेख गरेको छ।

गेजुबाले जिम्मा लिएको उक्त आयोजनालाई कुवेतको सबैभन्दा ठूलो चिनियाँ परियोजनाका रूपमा प्रस्तुत गरिएको छ।

उक्त परियोजनामा काम गर्ने लगभग पाँच हजार विदेशी श्रमिकमध्ये करिब १,६०० नेपाली रहेको बताइन्छ।

अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरन्याश्नल व्यापार तथा मानवअधिकार विश्लेषक विलियम नी चिनियाँ कम्पनी जोडिएका निर्माणसँग सम्बन्धित परियोजनामा कामदारको अधिकार र सुरक्षामा समस्याहरू देखिएका बताउँछन्।

उनले भने, "मलाई लाग्छ हामीले के देखिरहेका छौँ भने आम रूपमा हेर्दा चिनियाँ परियोजनाहरूमा दैनिक काम गर्ने अवधि, स्वास्थ्य र सुरक्षाका विषयमा समस्याहरू पाइएका छन्।"

"अनि कतिपय अवस्थामा जबरजस्ती काम लगाउने वा राहदानी खोस्ने जस्ता श्रम अधिकारको उल्लङ्घन भएका पाइएका छन्।"

उनले भाषा सहितका कारणले दक्षिण एशियाली श्रमिकलाई गन्तव्य देशका श्रम अधिकार संयन्त्रहरूमा पहुँच पाउन र न्याय खोज्न कठिन रहेको उल्लेख गरे।

गल्ती भए कारबाहीको प्रतिबद्धता

गएको फेब्रुअरी १२ मा निर्माणस्थलमा दुर्घटना भएलगत्तै कुवेतका अमिरले नेपालकी राष्ट्रपतिलाई शोक सन्देश पठाएका थिए।

दुर्घटनाको प्रारम्भिक अनुसन्धान सम्पन्न भएपछि बुझाइएको प्रतिवेदन बुझ्दै कुवेतकी सार्वजनिक निर्माण तथा आवास राज्यमन्त्रीले विस्तृत छानबिनका लागि निर्देशन दिएको र गल्ती देखिए दोषीलाई कारबाही गरिने बताएका विवरण आएका छन्।

कुवेत

तस्बिर स्रोत, OfficialKfsd

दुर्घटना भएलगत्तै बीबीसीसँग कुरा गर्दै कुवेतस्थित नेपाली दूतावासकी प्रवक्ता जानकी ओझाले कुवेती सरकारी निकायहरूले अनुसन्धान अघि बढाएको र सुरक्षा मापदण्ड पालना नगरेको वा हेलचक्र्याइँ अपनाएको अवस्थामा 'कसैलाई पनि क्षमा नहुने जानकारी आफूहरूलाई गराइएको' बताएकी थिइन्।

अनुसन्धानको निष्कर्षबारे त्यसयता कुवेतस्थित नेपाली अधिकारीहरूले केही नबताएपनि घटनाबारे चासो व्यक्त गर्दै नेपालको राष्ट्रिय मानवअधिकार आयोगले उक्त घटनाका बारेमा यथार्थ जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ।

राहत र क्षतिपूर्ति

कुवेतमा भएको दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका परिवारलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले क्षतिपूर्ति बापत सात लाख रूपैयाँ र बिमामार्फत करिब १३ लाख रूपैयाँ उपलब्ध गराइने अधिकारीहरू बताउँछन्।

बोर्डका महानिर्देशक राजन श्रेष्ठ भन्छन्, "कुवेतको सरकारी निर्माणस्थलमा काम गर्ने भएकाले केही मानवीय सहयोगका रूपमा उताबाट पनि मृतकका परिवारले क्षतिपूर्ति पाउँछन् भन्ने मलाई लाग्छ।"

वैदेशिक रोजगारी
तस्बिरको क्याप्शन, पचास लाख भन्दा बढ्ता नेपाली वैदेशिक रोजगारीमा गएका छन्

कुवेतस्थित नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले परिवारले परराष्ट्र मन्त्रालयमार्फत वारेसनामा बुझाएपछि क्षतिपूर्तिको प्रक्रिया अघि बढ्ने बताउँछन्।

उनले बीबीसीसँग भने, "नेपालबाट सबै कागजपत्र तयार भएर कन्सुलर शाखामार्फत हामीकहाँ आइसकेपछि हामी त्यसलाई अघि बढाउँछौँ।"

तर आफ्नो भाइ गुमाएका रोल्पाको थबाङका सूर्य रोका मगर कतारबाट प्राप्त हुने क्षतिपूर्ति र सम्भावित कानुनी लडाइँबारे आफू बेखबर रहेको बताउँछन्।

उनी भन्छन्, "हामीले त म्यानपावरलाई प्रश्न गरिरहेका छौँ। तर यो मुद्दा लड्ने विषयमा कुवेतस्थित नेपाली दूतावासले के जवाफ दिन्छ त्यो पनि हेरिरहेका छौँ।"

"तर हामी एक्लैले केही गर्न सक्ने अवस्था छैन।"

वैदेशिक रोजगारीको चक्र

झण्डै ५० लाख नेपालीहरू हाल वैदेशिक रोजगारीमा छन् र उनीहरूले पठाउने विप्रेषणले देशको कुल गार्हस्थ उत्पादनको करिब एक चौथाइ हिस्सा ओगट्ने गरेको छ।

नेपालमा पछिल्लो दश वर्षमा सात हजारभन्दा बढी नेपाली कामदारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएको सरकारी आँकडाले देखाउँछ।

थबाङको रोका मगर परिवारका तीन दाजुभाइमध्ये जेठा चार वर्ष यता वैदेशिक रोजगारीमा मलेशियामा छन्।

त्यसअघि उनी काम गर्न साउदी अरेबिया गएका थिए।

आफू पनि तीन वर्ष कतार बसेर फर्किएको उल्लेख गर्दै सूर्यले भाइ राजुको मृत्युपछि अब आफूले वैदेशिक रोजगारीमा नजाने निर्णय लिएको बताए।

उनी भन्छन्, "घरमा धेरै समस्याहरू छन्। सानोतिनो जागिरले पुर्‍याउन नै गाह्रो छ।"

"तर मैलै चाहिँ अब वैदेशिक रोजगारीमा नजाने निधो गरेको छु। हामीलाई यो नफाप्दो रहेछ।"