बोइङ ७३७ म्याक्स: नयाँ विमानका तेल ट्याङ्कीमा फोहरका टुक्रा भेटियो

तेल ट्याङ्कीमा फोहरका टुक्रा भेटियो

तस्बिर स्रोत, Getty Images

अमेरिकी विमान निर्माता कम्पनी बोइङको समस्याग्रस्त विमान ७३७ म्याक्सको नयाँ विमानको तेल ट्याङ्कीमा फोहरका टुक्रा भेटिएपछि सुरक्षा जोखिमको प्रश्न पुन: उठेको छ।

वायुसेवा कम्पनीहरूलाई दिन राखिएका केही नयाँ विमानहरूमा त्यस्तो फोहर भेटिएको हो।

बोइङको ७३७ परियोजनाका प्रमुखले आफ्ना कर्मचारीलाई यस्तो कार्य बिल्कुलै अस्वीकार्य रहेको बताएका छन्।

बोइङका एक प्रवक्ताले यसकारणले संसारभर उड्न प्रतिबन्ध लागेको सो विमान सेवामा आउन ढिला नहुने बताएका छन्।

बोइङका दुई ७३७ म्याक्स विमान दुर्घटनाग्रस्त हुँदा ३४६ जनाको मृत्यु भएपछि सो मोडलका सबै विमान सन् २०१९ को मार्चदेखि ग्राउन्डेड छन्।

एक प्रवक्ताले बीबीसीलाई भने: "मर्मतसम्बन्धी कार्य गर्दा भण्डारमा रहेका केही विमानहरूमा हुनु नपर्ने टुक्राटाक्री भेटिएका हुन्।"

"यसपछि हामीले आन्तरिक अनुसन्धान गरेर विमान निर्माणमा सच्याउनुपर्ने काम गरिसकेका छौँ।"

line

७३७ म्याक्स समयरेखा

  • सन् २०१८ अक्टोबर २९: लायन एयरको ७३७ म्याक्स ८ विमान इन्डोनेशियामा दुर्घटना हुँदा १८९ जनाको मृत्यु
  • सन् २०१९ ज्यानुअरी ३१: बोइङले ७९ वायुसेवाबाट ५,०११ वटा ७३७ म्याक्स विमानको माग भएको तथ्याङ्क सार्वजनिक
  • सन् २०१९ मार्च १०: इथियोपियाली वायुसेवाको ७३७ म्याक्स ८ दुर्घटनाग्रस्त हुँदा १५७ जनाको मृत्यु
  • सन् २०१९ मार्च १४: बोइङद्वारा सबै ७३७ म्याक्स विमान उडान स्थगित
line

अमेरिकी नियामक संस्था एफएएले बीबीसीलाई नयाँ घटनाक्रम हेरिरहेको बताएको छ।

बोइङले सो विमान यो वर्षको मध्यबाट पुन: उडानमा फर्कने बताएको छ।