स्मृतिलेख: एक स्वाभिमानी कलमजीवीकोअवसान

पन्नालाल

तस्बिर स्रोत, Ganesh Rai

    • Author, चन्द्रकिशोर
    • Role, विश्लेषक

पञ्चायती ब्यवस्थाकालमा प्रजातन्त्र पुर्नस्थापनाका लागि चेतना जगाउने जुन कामहरू भए त्यसमा राजनीतिकर्मीहरूको भूमिका त छँदैथ्यो, त्यहीँ पत्रकारहरूको योगदान पनि कम थिएन। पश्चिम तराईको नेपालगञ्जमा क्रियाशील रहेका पत्रकार पन्नालाल गुप्ताले यसमा उल्लेख्य भूमिका खेलेका थिए।

आज जब हामी पन्नालाल गुप्ताका बारेमा कुरा गर्छौँ, त्यो एक प्रकारले " किरण" साप्ताहिकको कुरा हुन थाल्छ।

यो स्वाभाविक पनि हो । किनकि म मान्दछु पन्नालाल जसलाई आदरले पछिल्ला दशकहरूमा चाचाजी भन्न थालिएको थियो, उनी र " किरण" एक अर्काका पर्याय थिए।

उनी हामी माझ भौतिकरूपमा अनुपस्थित रहेका बेला यही "किरण"मा छरपस्टिएका विचारहरूले हामीलाई दिशानिर्देश गरिरहनेछ।

९२ बर्षको उमेरमा बुधबार नेपालगञ्जमा उनको निधनपछि सामाजिक सञ्जालहरूमा उनलाई सम्झिनेहरूको क्रम बढेको छ।

चाटुकारी पत्रकारिताका विरोधी

२०४३ असार १ को "किरण"मा सम्पादकीय लेख्दै उनले भनेका थिए, " निर्भीक रूपमा सही समाचार प्रकाशित गर्ने स्वतन्त्र पत्रकारितालाई संरक्षण र बढ़ावा दिनु सरकारको दायित्व हो। चाटुकारी पत्रकारिताले देशको ठूलो अहित गर्दछ भन्ने कुरा बुझ्नु परेको छ।"

पञ्चायतकालमा राखिएको यो विचार गणतन्त्रकालमा पनि त्यतिकै मननीय छ।

पन्नालाल

"किरण" एउटा अखवार मात्र थिएन, यो पन्नालालको नेतृत्वमा एउटा संस्था बनिसकेको थियो जहाँ अनेकौ प्रतिभाहरूले प्रस्फुटित हुने पहिलो आधार पाए ।

नेपालगञ्जका साहित्यकार नयनराज पाण्डेयले फेसबुकमा उनलाई सम्झिँदै लेखे,"०३९-४० सालतिर उहाँले सम्पादन गर्ने " किरण साप्ताहिक"मा मेरा कविता र व्यंग्य निबन्धहरू छापिएका थिए। खुबै प्रेरणा दिनुहुन्थ्यो। मैले २०४१सालमा सम्पादन र प्रकाशन गरेको हस्तलिखित पत्रिकाको उहाँले नै विमोचन गर्नु भएको थियो।"

उनले धेरैलाई पत्रकार बनाए र पत्रकारिताको अघोषित विद्यालयको नै चलाए।

राजधानीबाहिर पत्रकारितामा अनवरत योगदान

सङ्घीय राजधानी काठमाण्डूबाट निकै टाढा नयाँ मुलुकको पुरानो शहर नेपालगञ्जमा करिब ६ दशक सक्रिय पन्नालाल गुप्ता, एउटा यस्तो नाम हो जसले पत्रकारितामार्फत आफ्नो र आफ्नो शहरमा नभै पुरै मोफसलको पत्रकारितामा चमक थपे।

नेपालगञ्ज पुग्ने लेखकहरूको भेटघाट गर्ने सूचीमा उनी अग्रपंक्तिमा हुन्थे। यसले पनि उनको पेशागत स्विकार्यताको आयतन देखाउँछ।

पत्रकारको दायित्व समाजका समस्या र चुनौतीहरुलाई सही ढंगले प्रस्तुत गर्नु र सत्यका पक्षमा जनमत तयार गर्नु हो।

यसैले भनिन्छ , परिस्थितिको यथार्थ अवलोकन, त्यसबाट समाजमा पर्ने प्रभावहरूको निष्पक्ष आँकलन र विश्लेषण, त्यसको निर्भीक र भयरहित प्रस्तुति तथा त्यसका आधारमा जनमतको निर्माण नै पत्रकारिता हो।

२०४२ पौष १४ को सम्पादकीय हेरौँ, कत्तिको गम्भीर निचोड़ उनले पस्केका छन्, "सत्य लुकाउन सकिन्न। शान्तिको एउटै पूर्वाधार हुनसक्छ, त्यो हो समानता एवम् स्वाधीनता।"

उनको व्यक्तिगत शैली पनि रमाइलो थियो। शिरमा ढाका टोपी र सवारीमा साइकल उनको अभिन्न पहिचान थियो।

सदाबाहर संवाददाता

सामाजिक सम्वाद र एकताको उनी सेतु थिए।

पश्चिम तराईमा पत्रकारिताका एक परम्परा र युगको प्रतिनिधि पात्रका रूपमा उनी चिनिए।

उनको स्वाभिमान, पेशाप्रतिको निष्ठा र कसैको अगाडि कहिल्यै शिर नझुकाउने बानी, जुनसुकै स्वाभिमानी पत्रकारकालागि सदैव प्रेरणाप्रद रहिरहनेछ ।

पन्नालाल

तस्बिर स्रोत, Ganesh Rai

वि.सं २०१८ सालबाट सुरुमा "अनुराधा" मासिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका पन्नालालले २०३१ देखि आफ्नै सम्पादनमा "किरण" साप्ताहिक अनवरत प्रकाशन गरे।

लोकतन्त्र र जनहितका सवालहरू उठाउँदा उनी कैयौँपटक पंचायती प्रशासनका कोपभाजनमा परे तर यिनको कलमले कहिल्यै पनि विराम लिएन।

पुराना पुस्ताका यिनी सम्पादकीय जिम्मेदारी सम्हालिराखेपनि उनले आफुलाई जहिल्यै पनि "सदाबहार रिपोर्टर" नै ठाने, त्यसैले होला उनको शरीरले साथ दिएसम्म साइकल गुडाउँदै सबै ठाउँमा पुग्दै रहे। आफै सत्य र तथ्यको खोजी गर्ने उनको वाचा थियो।

नेपाल पत्रकार महासंघले प्रेस स्वतंत्रता सेनानी तथा प्रेस काउंसिल नेपालले गोपाल दास पत्रकारिता पुरस्कारबाट उनलाई सम्मानित गरेको छ।

यसबाहेक "चाचाजी" बृतचित्रको निर्माण र चाचाजी पत्रकारिता पुरस्कारको स्थापना उनको जीवनकालमै भईसकेको छ ।

करिब दुई दशक अघि चाचाजीसँग एकसाता घुम्ने अवसर मलाई पनि जुरेको थियो। पत्रकारितामा अविराम आफू लागि पर्नुका कारणबारे उनले मलाई भनेका थिए, "समाजप्रतिको जिम्मेवारीले यताउता जान दिएन"।

लोकतान्त्रिक समाज निर्माण तथा प्रेस स्वतन्त्रताकालागि पुर्याएका योगदानकालागि उनलाई नेपाली समाजले लामो समयसम्म सम्झिरहने छ ।