रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न चितवन अदालतको आदेश

जिल्ला अदालत
तस्बिरको क्याप्शन, जिल्ला अदालतमा सोमवार लामिछाने र कँडेलको बयान लिने काम सकिएमा थुनछेक बहस हुन सक्ने बताइएको छ
    • Author, ईश्वर जोशी
    • Role, चितवन, बीबीसी न्यूज नेपाली

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा चलाइएका रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ।

अर्की अभियुक्त अस्मिता कार्कीलाई चाहिँ साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ।

सोमवार भएको थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले यस्तो निर्णय सुनाएको स्रेस्तेदार रुद्रमणि गिरीले बताए।

स्रेस्तेदार गिरीले अदालतमा विचाराधीन आफ्नो मुद्दालाई प्रभावित पार्ने गरी लामिछानेले कार्यक्रम उत्पादन गर्न नपाउने पनि आदेशमा उल्लेख भएको बताए।

उनले धरौटी बुझाए लामिछाने र कँडेल आजै रिहा हुने जानकारी दिएका छन्।

लामिछानेका वकिल सुशील पन्तले आजै धरौटी बुझाएर रिहाईको प्रक्रिया अघि बढाउने तयारी भएको बीबीसीलाई बताएका छन्।

प्रहरीले आइतवार लामिछानेसहित तीन जनाविरूद्ध आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्दा दर्ता गरेको थियो।

अदालतले लामिछानेलाई पाँच लाख रुपैयाँ धरौटीमा र कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रहरीले तीनै जनालाई ११ दिनअघि पक्राउ गरेको थियो।

यसअघि मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरूपण गर्ने निकाय रहेको क्षेत्रमा हुलदङ्गा र अशान्ति हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले भरतपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको थियो।

तर पनि निषेधित क्षेत्रबाहिर लामिछानेका समर्थकहरूले प्रदर्शन गरेका थिए।

रवि

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम सोमवार बिहान ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो।

कहाँकहाँ निषेधाज्ञा?

प्रदर्शन

जिल्ला प्रशासनले पूर्वमा बाईपास रोडतर्फको आन्तरिक राजस्व कार्यालय चोकदेखि घरेलु कार्यालय चोकसम्म र पश्चिमतर्फ पूर्वपश्चिम राजमार्गको सप्तगण्डकी क्याम्पसदेखि अस्पताल चोकसम्म निषेधाज्ञा लगाएको छ।

त्यस्तै उत्तरको आन्तरिक राजश्व कार्यालयदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक, नारायणी माध्यमिक विद्यालय चोक, कृषि ज्ञान केन्द्र, चौबीसकोठीसम्म अनि दक्षिणको घरेलु कार्यालय, दूरसञ्चार कार्यालय चोकदेखि सप्तगण्डकी क्याम्पस र अस्पताल चोकसम्म निषेधाज्ञा लागु हुनेछ।

निषेधाज्ञा जारी गरिएको इलाकाभित्र जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अदालत परेका छन्।

बयान

शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको भन्ने अभियोगमा आइतवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि तीन अभियुक्तहरूको बयान लिने काम सुरु गरेको थियो।

सोमवार बिहान लामिछाने र कँडेललाई बयानको लागि अदालतमा उपस्थित गराइको थियो।

भरतपुर

उनीहरूलाई अनुसन्धानको लागि चितवन ल्याइएदेखि नै लामिछानेका समर्थकहरूले रिहाइको माग गर्दै प्रदर्शन गर्दै आएका थिए।

प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप पनि हुँदै आएको छ। भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो।

आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा अभियुक्तहरूलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ।

गत वर्ष भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध (संहिता) ऐनले आत्महत्या गर्न बाध्य पार्नेलाई सजायको व्यवस्था गरेको हो।

चितवन 'बन्द'

प्रदर्शन
तस्बिरको क्याप्शन, लामिछानेको समर्थनमा आइतवार भएको प्रदर्शन

यसैबीच सोमवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा घोषणा गरेको चितवन बन्दको त्यहाँ सामान्य प्रभाव परेको देखिएको छ।

चितवनको राप्ती नगरपालिकामा उक्त दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको बताइएको छ।

उक्त प्रतिक्षालयमा विभिन्न नाराहरू लेखिएका थिए।