विश्वमा प्रेस स्वतन्त्रता: गत वर्ष कति पत्रकार मारिए?

भेनेजुएला प्रदर्शनमा पत्रकार घाइते
    • Author, बीबीसी रियालिटी चेक
    • Role, बीबीसी समाचार

सन् २०१८ मा विश्वभर कम्तीमा ९५ पत्रकार आफ्नो कामको सिलसिलामा मारिएका अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ आइएफजेको तथ्याङ्क छ।

यो सङ्ख्या सन् २०१७ को भन्दा बढी भएपनि इराक र सिरियामा युद्ध चर्किएको बेलामा जस्तो धेरै भने होइन।

सबैभन्दा धेरै पत्रकार मारिएको वर्ष सन् २००६ थियो जुन बेला १५५ जना पत्रकार मारिएका थिए।

यो सङ्ख्यामा आमसञ्चार संस्थामा कुनै न कुनै पदमा काम गर्ने सबै जोडिएको छ।

पत्रकार र मिडियाकर्मीको हत्या. . .

सन् २०१८ मा भएको एउटा हत्याको भने संसारभर चर्चा भयो। त्यो हत्या साउदी पत्रकार जमाल खसोग्जीको थियो।

गएको अक्टोबरमा उनको टर्कीस्थित साउदी वाणिज्यदूतावासको कार्यालयभित्र हत्या भएको थियो।

जमाल खसोग्जीको हत्याको विरोध

तस्बिर स्रोत, Getty Images

हत्याका कारण दुई देशबीच तिक्तता सिर्जना भयो भने अन्तर्राष्ट्रियरुपमा हत्याको विरोध भयो।

गएको महिना यूकेमा पत्रकार लाइरा म्याकीको दङ्गाको समाचार सङ्कलन गर्दागर्दै मृत्यु भएको गयो। उत्तरी आयरल्यान्डको एक विरोधी समूहले त्यो हत्या गरेको स्वीकार गरेको छ।

सबैभन्दा खतरा कहाँ?

गएको वर्ष १६ पत्रकार मारिएको अफगानिस्तान पत्रकारका लागि सबैभन्दा खतरनाक देशको रूपमा कायम छ।

काबुलमा एउटा बम विस्फोटको समाचार सङ्कलन गर्न गएको बेला नौ अफगानी पत्रकार मारिएका थिए। दोस्रो आत्मघाती विस्फोट पत्रकारकै भेष धारण गरेका आक्रमणकारीले गराएका थिए।

मारिएका पत्रकार

पूर्वी अफगानिस्तानको खोस्त प्रदेशमा बीबीसीका पत्रकार अहमद साह मारिएका थिए।

दक्षिण एशियाका अन्य राष्ट्रहरू भारतमा सात, पाकिस्तानमा पाँच र बाङ्ग्लादेशमा एक पत्रकार गएको वर्ष मारिएका थिए।

यो वर्ष अमेरिकामा पनि पत्रकारहरू मारिए।

एक व्यक्तिले क्यापिटल ग्याजेट अखबारको कार्यालयमा पसेर गोली चलाउँदा पाँच पत्रकार मारिए।

समाचार सङ्कलनप्रति बढ्दो असहिष्णुता, लोकप्रियतावादका साथसाथै भ्रष्ट्राचार र अपराध पत्रकार मारिनुका प्रमुख कारणहरू भएको आइएफजेको भनाइ छ।

जेल वा हिरासतमा पत्रकार. . .

कमिटी टू प्रोटेक्ट जर्नालिस्ट सीपीजेले प्रत्येक वर्ष जेलमा रहेका पत्रकारहरूको तथ्याङ्क प्रकाशित गर्छ।

यो तथ्याङ्कमा पत्रकारहरू आफ्नो कामको कारणले जेल परेकाहरूको सङ्ख्या हुन्छ।

सन् २०१८ मा सबैभन्दा बढी पत्रकार जेलमा थुन्ने देशहरू यसप्रकार छन्:

  • टर्की ६८
  • चीन ४७
  • इजिप्ट २५
  • साउदी अरेबिया र इरिट्रिया १६

मिडिया र प्रजातन्त्र

संयुक्त राष्ट्रसङ्घले पनि यो वर्ष प्रजातन्त्रमा विशेष गरेर निर्वाचनको बेला स्वतन्त्र प्रेसको महत्त्वपूर्ण भूमिका हुने कुरा विशेष ध्यानमा राखेको छ।

महासचिव एन्टोनियो गुटेरेजले विश्व प्रेस स्वतन्त्रा दिवसको अवसरमा कुनै पनि प्रजातन्त्र पारदर्शी र विश्वसनीय सूचनामा पहुँचको अभावमा पूर्ण नहुने बताएका थिए।

मारिया रेसा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मारिया रेसा

सीपीजेले फिलिपिन्स र अमेरिकासहितका राष्ट्रहरूमा प्रेसविरोधी कथनहरू फैलिएको बताएको छ।

इन्टरनेट र सामाजिक सञ्जालले पत्रकारहरूको असुरक्षा बढाएको सीपीजेकी कर्टने राड्सले बताइन्।

"अनलाइन उत्पीडन र उसले विशेषगरि पत्रकार महिलाहरूमाथि ल्याएको खतराले पहिल्यैदेखिको गार्‍हो अवस्थालाई अझ समस्याग्रस्त बनाएको छ," उनले भनिन्।