ईपीएल: क्रिस गेलसहित विश्वका चर्चित क्रिकेट खेलाडीहरू नेपालमा खेल्न आउने

क्रिस गेल
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

बीस ओभरको क्रिकेट खेलका विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक वेष्ट इन्डिजका क्रिस गेल नेपालमा व्यवसायिक खेल प्रतियोगितामा सहभागी हुने बताइएको छ।

नेपालको एक घरेलु क्रिकेट प्रतियोगिता एभरेष्ट प्रीमिएर लीगमा पोखरा राइनोज टोलीका तर्फबाट खेल्न गेल काठमाण्डू आउने पक्का भएको प्रतिस्पर्धाका आयोजकले जनाएको छ।

एक भिडिओ सन्देशमा गेलले भनेका छन्: "नेपाल, गेट रेडी फर द गेम्स् (नेपाल, खेलको लागि तयार रहनुहोस्)।"

उनले दुई खेल मात्रै खेल्ने बताइएको छ तर उनको अनुबन्ध रकमबारे खुलाइएको छैन।

विभिन्न छवटा क्लबबीच हुने उक्त प्रतिस्पर्धा आगामी मार्च १४ देखि २८ तारिखसम्म काठमाण्डू नजीकै कीर्तिपुरस्थित खेल मैदानमा हुनेछ।

गेलको नाममा सबैखाले क्रिकेटप्रतियोगीताहरूमा कीर्तिमानहरू कायम रहेको भएपनि उनलाई टी२० क्रिकेटका सबैभन्दा आक्रामक ब्याट्सम्यानका रूपमा चिनिन्छ।

जमैकामा जन्मेका गेलले राष्ट्रिय टोलीबाट १०३ टेस्ट, ३०१ एकदिवसीय अन्तर्राष्ट्रिय र ५८ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

भ्रमण वर्षको अङ्ग

गेलको भ्रमण ईपीएल खेल्नको लागि मात्र नभई 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचारका लागि समेत रहेको आयोजकले जनाएको छ।

काठमाण्डूमा आएर खेल्ने क्रममा उनले नेपालका दुई चर्चित स्थानमा पर्यटकका रूपमा पनि घुम्ने बताइएको छ। यसको सम्पूर्ण व्यवस्था नेपाल सरकारले गर्ने जनाइएको छ।

गेलसहित सो प्रतियोगितामा टेस्ट क्रिकेट खेलिसकेका दक्षिण अफ्रिकाका पूर्वकप्तान हसिम अमला, वेष्ट इन्डिजका ड्वेन स्मिथ, श्रीलङ्काका उपुल थराङ्गा र अफगानिस्तानका मोहम्मद शहजाद खेल्ने ईपीएल व्यवस्थापनले बताएको छ।

चर्चित खेलाडीहरू

प्रतियोगितालाई थप रोमाञ्चक बनाउन आयोजकले टेस्ट राष्ट्रका खेलाडीहरू अनुबन्ध गर्नुपर्ने नियम राखेपछि क्लबहरूले उनीहरूलाई अनुबन्धित गरेका हुन्।

अलराउन्डर स्मिथले भैरहवा ग्लाडिएटर्सबाट खेल्नेछन्। ग्लाडिएटर्सको प्रशिक्षकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दशानायके रहने छन्।

भर्खरै मात्र राष्ट्रिय टोलीबाट सन्न्यास लिएका अलराउन्डर अमलाले खेल्न सहमति जनाए पनि क्लबको टुङ्गो लागिनसकेको आयोजकले बताएका छन्।

श्रीलङ्काका पूर्वकप्तान विकेटकिपर थरङ्गा ललितपुर प्याट्र‌िअट्समा आबद्ध भइसकेका छन्।

उनले ३१ टेस्ट, २३५ एकदिवसीय र २६ टी२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।

अर्का चर्चित ब्याट्सम्यान शहजाद भने चितवन टाइगर्सबाट खेल्नेछन्।