अन्नपूर्ण पदयात्रामा हिमपहिरोमा परेकाको खोजी गर्न 'हिउँ पग्लिनु पर्ने'

अन्नपूर्ण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बाग्लुङबाट देखिएको अन्नपूर्ण र नीलगिरि हिमाल

धेरै हिउँ जमेकाले हिमपहिरोमा परी अन्नपूर्ण पदयात्रा क्षेत्रमा हराइरहेका सात जना व्यक्तिहरूको खोजी गर्न निकै कठिन भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले बताएका छन्।

गत शुक्रवार गएको हिमपहिरोका कारण अलपत्र परेका एक सयभन्दा बढी पर्यटक र अन्यको उद्धार गरिए पनि चार कोरियाली र तीन नेपालीको अवस्था अज्ञात छ।

हराएका आफ्ना नागरिकबारे जानकारी लिन घटनास्थलतर्फ जाने भन्दै आइतवार पोखरा पुगेको नेपालस्थित दक्षिण कोरियाली राजदूतसहितको टोली उतै रहेको अधिकारीहरूले बताए।

कास्की जिल्लाका प्रहरी प्रमुख दानबहादुर कार्कीले बाक्लो गरी जमेको हिउँका कारण खोजी कार्य अघि बढाउन नसकिएको बताए।

उनले भने, "आज बिहानै नेपाली सेनाको हेलिकप्टर घटनास्थल नजिकै पुगेको थियो तर बस्न नसकेर फर्कियो। हामी अर्को सानो हेलिकप्टर पठाउन सकिन्छ कि भन्ने छलफलमा छौँ।"

उनका अनुसार हराएकाहरू हिउँमा पुरिएको अनुमान गरिएको क्षेत्रमा जमेको हिउँ नपग्लिएसम्म केही भन्न नसकिने अवस्था रहेको जानकारी दिए।

हराएका व्यक्तिहरू हुनसक्ने ठानिएको खोल्सोजस्तो स्थानमा बाक्लो हिउँ जमेको अधिकारिहरूले जानकारी दिए।

प्यारासुटबाट उद्धारकर्ता पठाउन सकिने

कार्कीका अनुसार त्यस क्षेत्रमा मौसम सफा पनि हुन नसकेकाले खोजतलासमा समस्या उत्पन्न भएको छ।

उनले भने, "एक दिन मौसम खुलेर हुँदैन। त्यो हिउँ पग्लनै पर्छ। नत्र हामीले हराएकाहरूलाई पत्ता लगाउन गाह्रै छ।"

हिमपहिरो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, हिमपहिरोमा फसेकालाई उद्धार गरेर पोखरा ल्याइएको छ

पैदलै घटनास्थलमा पुगेको खोजतलास टोली पनि पोखरा फर्किसकेको छ।

सुरक्षाकर्मी र पदयात्रासम्बन्धी व्यवसाय गर्नेहरू समेत सामेल उक्त टोलीले सम्भावित घटनास्थलको अवलोकन गरेर तस्बिरहरू लिई फर्किएको बताइएको हो।

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार सोमवार बिहान सेनाको हेलिकप्टरमा पनि केही व्यवसायीहरू गएर त्यस क्षेत्रको अवलोकन गरेर आएका छन्।

उनले भने, "हेलिकप्टर गए पनि बस्न सकेन, त्यसैले त्यो रेकी गरेको जस्तो मात्र भयो। अब सानो हेलिकप्टरमा जाने विषयमा कुराकानी भइरहेको छ।"

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले पनि खोजतलास जारी रहेको जानकारी दिए।

उनले मौसम प्रतिकूल भएकाले समस्या उत्पन्न भएको बताए। खतरा कम भएपछि उद्धारकार्य जारी राखिने उनले बताए।

मौसमको अवस्था

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अब पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कम भएर सामान्य हुँदै गएको छ।

सोमवार नेपालको पूर्वी भू-भागमा सामान्य बदली रहेको छ र अन्य पहाडी भू-भागमा आंशिक बदली रहेको विभागले जनाएको छ।

तराईमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

सोमवार पनि पहाडी र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मङ्गलवार र बुधवार पनि केही उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

त्यसपछि मौसम सफा हुनसक्न विभागको पूर्वानुमान छ।