कसरी भयो गुर्जा हिमालमा दुर्घटना?

तस्बिर स्रोत, EPA
केही दिनअघि धौलागिरि क्षेत्रको गुर्जा हिमाल फेदीमा हिमआँधीमा परेर पाँच दक्षिण कोरियाली पर्वतारोही सहित नौ जनाको ज्यान गएको समाचार निकै ढिलो प्राप्त हुनुमा हिमाली क्षेत्रमा कमजोर सञ्चार र सूचना संयन्त्र सञ्जाल पनि जिम्मेवार रहेको अधिकारी तथा व्यवसायीहरूले बताएका छन्।
तर मौसम पूर्वानुमान गर्न सहज हुने भरपर्दो पूर्वसूचना प्रणाली सँगै मोबाइल टेलिफोनको सञ्जाल विस्तार गर्न सके यस्ता विपदबाट मानवीय क्षति कम गर्न सकिने उनीहरूको तर्क छ।
सरकारी अधिकारीहरू भने जनशक्ति, आर्थिक स्रोत र सञ्चार पूर्वाधारको कमीका कारण यस्ता प्रणाली विकास गर्न नसकिएको बताउँछन्।
धौलागिरि हिमशृङ्खलाको दक्षिण पश्चिममा पर्ने झन्डै ७,२०० मिटर अग्लो गुर्जा हिमालको आधार शिविर गत साता भएको उक्त दुर्घटनाबारे समयमै जानकारी आउन नसकेको अधिकारीहरूले बताएका छन्।
म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्यालले भनिन्, "न सूचना प्रणाली छ न टेलिकमको टावरले काम गर्छ। भौगोलिक विकटता पनि २१ गते गएको टोली छ दिनसम्म किन आएन भनेर खोज्न जाँदा लाश भेटियो भन्ने अपुष्ट सूचना आएको थियो।"
उक्त आरोहणदलका सदस्यहरूको सम्भवत: हिमआँधीमा परेर मृत्यु भएको भनिएको छ। तर अझै पनि यकिन कारण अधिकारीहरूले बताउन सकिरहेका छैनन्।
व्यवसायी एवं विज्ञहरू भने यस्ता दुर्घटना कम गर्नका लागि हिमाली क्षेत्रमा मौसमको जानकारी दिने पूर्वसूचना प्रणाली र भरपर्दो सञ्चार पूर्वाधार राखिनुपर्ने बताउँछन्।
उद्धारमा संलग्न सूरज पौड्यालले समाचारसंस्था एएफपीलाई भने, "माथि हिमालबाट सेराक र हिउँ खसेजस्तो र अनि त्यसले शिविरलाई हानेजस्तो देखिन्छ।"
सामान्यतया बनाइने ठाउँ भन्दा माथितिर शिविर बनाइएको हुनसक्ने भन्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अनिकारीले त्यो विस्तृत अनुसन्धानपछि थाहा हुने बताए।
शव ल्याइयो

तस्बिर स्रोत, AFP
पर्वतारोहीका शव गुर्जा हिमालको आधारशिविरमा छरिएर रहेका थिए। उनीहरूका शरीरका हड्डी भाँचिएका र टाउकोमा चोट लागेको बताइएको छ।
मृतकमध्ये एक जना म्याग्दीकै स्थानीयवासी रहेकाले उनको बाहेक पाँच कोरियालीसमेत आठ जनाको शव हेलिकप्टरबाट आइतबार काठमाण्डू पठाइएको छ।
हावाका कारण शनिवार शव दुर्घटनास्थलबाट अन्यत्र लैजान सकिएको थिएन।
पोखरा हुँदै शवहरू काठमाण्डू ल्याएर परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको थियो।
कोरियाली पर्वतारोहीका शव चाँडैमा बुधवारसम्ममा दक्षिण कोरिया पठाइने बताइएको छ।
कसरी रोक्न सकिएला दुर्घटना?
हिमाली क्षेत्रमा भरपर्दो सूचनाप्रणाली बनाउन सके गुर्जा हिमालमा भएको जस्तो दुर्घटना टर्न सक्ने नेपाल पर्वतारोहण संघकी द्वितीय उपाध्यक्ष माया शेर्पा बताउँछिन्।
उनले भनिन्, "हिमालमा पूर्वसूचना प्रणाली छैन। त्यसले गर्दा नै भैपरी आउने दुर्घटनाबारे थाहा हुँदैन। हिमपहिरो र मौसमबारे जानकारी हुँदैन। त्यस्तो भइदिए चाहिँ धेरै सुरक्षित हुन्थ्यो र यसरी दुर्घटना हुँदैन थिए।"
उनले हिमाली क्षेत्रमा अन्य मोबाइल टेलिफोन सेवा नपुगेकाले अहिलेसम्म स्याटलाइट फोनको भर पर्नुपरेको बताइन्।
कतिपय अवस्थामा स्याटलाइट फोनको ब्याट्री चार्ज गर्नसमेत समस्या हुने गरेकाले सूचना आदानप्रदान कठीन बनेको बताइन्छ।

तस्बिर स्रोत, EPA

तस्बिर स्रोत, EPA
अभाव
नदीहरूमा पूर्वसूचना प्रणाली राखेर रियल टाइम अर्थात् जत्ति खेरको त्यत्ति खेरै बाढीको जानकारी दिने प्रणालीलाई चलाइरहेको भए पनि हिमाली क्षेत्रमा त्यस्तो सेवा दिन नसकेको सरकारी अधिकारीहरू बताउँछन्।
जल तथा मोसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्मा भन्छन्, "हिमाली क्षेत्रमा संयन्त्र राख्नु भनेको महँगो चिज हो। सूचना रियलटाइममा प्राप्त हुनका लागि सञ्चारप्रणाली प्रभावकारी हुनुपर्यो। नेपालको आफ्ने भूउपग्रह नभएकाले त्यो प्रणाली महँगो पर्छ।"
उनले मोबाइल सेवा समेत उपलब्ध नहुँदा समस्या भएको बताए।
नेपाल टेलिकम र एनसेलजस्ता दूरसञ्चार कम्पनीहरू भने देशका सबैजसो जिल्ला र गाँउपालिका तहसम्म सेवा विस्तार गरिसकेको दाबी गरेका छन्।
जोखिम
विज्ञहरू भने हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली राख्न सके पर्वतारोहणसम्बन्धी दुर्घटना मात्र कम हुने होइन, तल्लो तटीय क्षेत्रमा पर्न सक्ने विपद्बारे समेत समयमै सचेत हुन सकिने बताउँछन्।
करिब सात वर्षअघि गरिएको एक अध्ययनले नेपालका ठूलामध्ये छवटा हिमताल उच्च जोखिममा रहेको र कुनै पनि बेला फुट्न सक्ने देखाएको थियो।
तर त्यसमध्ये हालसम्म दुईवटामा बाहेक अरूमा पूर्वसूचना प्रणाली जडान नगरिएको अवस्थामा अन्य हिमाली क्षेत्रमा यस्तो प्रणाली विकास गरिनेमा भने धेरैले शङ्का व्यक्त गर्ने गर्छन्।








