इम्जामा पानीको सतह घटाइयो
सोलुखुम्बुको उच्च हिमाली भेगमा अवस्थित इम्जा हिमतालमा पानीको सतह घटाउने काम लगभग पूरा भएको अधिकारीहरुले बताएका छन्।
कृत्रिम कुलो बनाएर त्यहाँ पानीको तह ३ मिटर घटाउन ३० भन्दा बढी नेपाली सैनिक र झण्डै ६० जना प्राविधिकहरु खटिएका थिए।
मध्य बैशाखमा सुरु उक्त परियोजना अन्तर्गत झण्डै १ सय ५० मिटर गहिरो इम्जा हिमतालको पानीलाई निकास दिने काम लगभग सकिएको सैनिक प्रवक्ता तारा बहादुर कार्कीले बीबीसीलाई बताए।
उक्त हिमताल नेपालको सबैभन्दा जोखिमपूर्ण ६ वटा हिमताल मध्ये एक हो।
उक्त हिमतालको पानीलाई निकास दिने प्रयासलाई नेपालमा सबैभन्दा उचाइमा गरिएको विपद न्यूनीकरणको कामका रुपमा लिइएको छ।
फोटा र भिडिओ: नेपाली सेना