किम जङ-अनः उत्तर कोरियाले नयाँ 'रणनीतिक अस्त्र' विकास गर्ने घोषणा

तस्बिर स्रोत, AFP
उत्तर कोरियाका नेता किम जङ-अनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन्।
त्यहाँको सरकारी समाचारसंस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ 'रणनीतिक अस्त्र' को विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएका हुन्।
किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य अमेरिकालाई सन् २०१९ को अन्त्यसम्मको समय दिएका थिए।
तर उनले सम्भावित वार्ताका लागि ढोका खुला राखिएको सङ्केत दिएका छन्। उनले क्षेप्यास्त्र परीक्षण अमेरिकी व्यवहारमा भर पर्ने बताएका छन्।
अमेरिकी प्रतिक्रिया
किमको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेताले 'परमाणु निरस्त्रीकरणबारे एउटा सहमतिमा हस्ताक्षर' गरेको बताए।
"मलाई लाग्छ उनी वचन राख्ने मानिस हुन्," संवाददाताहरूसँग फ्लोरिडामा कुरा गर्दै भने।

तस्बिर स्रोत, AFP/KCNA VIA KNS
किमको घोषणाप्रति प्रतिक्रिया जनाउँदै अमेरिकी रक्षामन्त्री मार्क एस्परले युद्धको साटो उत्तर कोरियाले शान्ति र समृद्धि रोज्छ भन्ने आफ्नो विश्वास रहेको बताएका छन्।
"यदि किमले राष्ट्रपति ट्रम्पलाई दिएको वचन भङ्ग गरे भने त्यो एकदमै निराशाजनक हुन्छ," उनले सीबीएसलाई भने।
उनका अनुसार ट्रम्पले ठूला सैन्य अभ्यास नगर्ने सहमति व्यक्त गरेपछि किमले अस्त्रपरीक्षण नगर्ने वचन दिएका थिए। "हामीले आफ्नो वचन राखेका छौँ। उनले पनि आफ्नो वचन राख्छन् भन्ने हाम्रो अपेक्षा छ," उनले भने।
परीक्षण स्थगन
सन् २०१७ यता उत्तर कोरियाले कुनै पारमाणविक अथवा लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेको छैन।
गत एप्रिल महिनामा किमले अमेरिका उचित अभिप्राय लिएर आए राष्ट्रपति ट्रम्पसँग तेस्रो शिखर वार्तामा भाग लिन आफू तयार रहेको बताएका थिए।
प्रत्युत्तरमा ट्रम्पले एउटा ट्वीटमार्फत् किमको प्रशंसा गर्दै उनको धारणाको स्वागत गरेका थिए।

तस्बिर स्रोत, Reuters
गत फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीचको दोस्रो शिखर बैठक विफल भएको थियो। उत्तर कोरियाविरुद्ध लगाइएका आर्थिक नाकाबन्दीहरू हटाउन अमेरिका तयार नभएपछि भियतनामको हनोईमा भएको वार्ता विनासहमति टुङ्गिएको थियो।
उत्तर कोरियाले सन् २०१९ को उत्तरार्धमा विभिन्न क्षेप्यास्त्रको परीक्षण गरेको थियो। अमेरिकालाई दबाव दिन गरिएको उसले त्यसको गरेको भन्ठानिएको छ।
पारमाणविक अस्त्र र अमेरिकासम्म मार हान्ने क्षमता भएका इन्टर्कन्टिनेन्टल बलिस्टिक मिसाइल (आईसीबीएम) को परीक्षण स्थगन गर्ने उसको निर्णय अमेरिकासँग वार्ता गर्ने एउटा प्रमुख आधार थियो।
'बाध्यता छैन'
नयाँ वर्षको पहिलो दिन पार्टीको बैठकमा बोल्दै किमले उत्तर कोरियालाई अस्त्रपरीक्षण स्थगन गर्ने आफ्नो घोषणा पालना गरिराख्न कुन बाध्यता नभएको बताए।
अमेरिकाले दक्षिण कोरियासँग सैन्य अभ्यासलाई निरन्तरता दिएकाले उत्तर कोरियाले अस्त्रपरीक्षणसम्बन्धी निर्णय एकतर्फी रूपमा कायम राख्नु आवश्यक नभएको उनको तर्क भएको केसीएनएले जनाएको छ।
किमले 'संसारले निकट भविष्यमै नयाँ रणनीतिक अस्त्र देख्ने' चेतावनी दिए पनि त्यसबारे विस्तृत विवरण दिएनन्।

तस्बिर स्रोत, Reuters
उनी प्योङ्याङमा आयोजित पार्टीका नेताहरूको भेलामा बोलेका थिए।
यो समयमा भेला आयोजना गर्नु असामान्य मानिन्छ।
पहिला किमले नववर्षको उपलक्ष्यमा भाषण गर्ने गरेका थिए। तर यसपालि त्यसको कुनै सङ्केत देखिएको छैन।
निरस्त्रीकरणको कुरा
ट्रम्प र किमबीच पहिलो पटक सन् २०१८ मा सिङ्गापुरमा शिखर वार्ता भएको थियो।
सिङ्गापुरमा भएको ऐतिहासिक भेटवार्तामा दुई नेताले कोरियाली प्रायःद्वीपलाई निरस्त्रीकरण गर्ने दिशामा मिलेर काम गर्ने सहमति गरेका थिए।
त्यसपछि ट्रम्पले उत्तर कोरियाबाट अब 'पारमाणविक खतरा' नरहेको टिप्पणी गरेका थिए।
तर प्योङ्याङको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रोक्ने विषयमा कुनै ठोस प्रतिबद्धताविना सहमति गरेकोमा ट्रम्पको आलोचना भएको थियो।
आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर प्योङ्याङले कैयौँ अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिबन्ध खेप्दै आएको छ।











