किम-ट्रम्प वार्ता: अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धबारे गाँठो नफुक्दा कुनै सहमति हुन सकेन

भिडिओ क्याप्शन सुरु हुँदैछ, डोनल्ड ट्रम्प र किम जङ-अन हनोईमा आयोजित दोस्रो शिखरवार्ताका बेला

अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागबारे सहमति हुन नसक्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अन बीचको शिखरवार्ता विनासहमति टुङ्गिएको छ।

ट्रम्प र किम भियतनामको हनोईमा परमाणुनिरस्त्रीकरणबारे छलफल गर्न भेला भएका थिए। यो उनीहरूको दोस्रो शिखर वार्ता थियो।

पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले प्रतिबन्धकै विषयमा कुरा नमिलेको बताए।

उनले भने, "उनीहरू प्रतिबन्धहरू पूरै हटाइयोस् भन्ने चाहन्थे तर हामीले त्यसो गर्न सकेनौँ।"

तेस्रो शिखरवार्ताको कुनै योजना नबनाइएको उनले बताए।

ह्वाइट हाउसले तयार पारेको बुधवारको कार्यतालिकामा "संयुक्त सहमति हस्ताक्षर समारोह" र दुई नेताबीच दिवाभोजनको कार्यक्रम राखेको थियो।

तर नेताहरूबीच सहमति हुन नसक्दा दुवै कार्यक्रम स्थगित भए।

आशावादी

वार्ता विफल भएपछि ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले एउटा विज्ञप्तिमा भनिन्, "यसपटक कुनै सहमति हुन सकेन। तर दुवै पक्षका टोली भविष्यमा थप बैठकका लागि आशावादी छन्।"

यो वार्तामा दुई नेताहरूबीच कुनै किसिमको सहमति हुने केही आशा गरिएको थियो।

वार्तामा आफ्नो उपस्थितिले उत्तर कोरिया परमाणु निरस्त्रीकरणका लागि तयार रहेको सङ्केत गर्ने किम स्वयंले उल्लेख गरेका थिए।

"यदि म त्यो चाहन्न थिएँ भने म यहाँ आउने थिइनँ," बिहीवार नै उनले सम्वाददाताहरूलाई बताएका थिए।

सो जबाफ सुनेर ट्रम्पले "यो तपाईँहरूले सुनेकोमध्येकै उत्तम उत्तर होला" समेत भनेका थिए।

वाशिङ्टनले यसअघि उत्तर कोरियाले एकपक्षीय रूपमा परमाणु अस्त्र त्यागेपछि मात्र आर्थिक प्रतिबन्ध खुकुलो पार्न सकिने बताएको थियो।

Trump and Kim

तस्बिर स्रोत, AFP

तर उत्तर कोरियाका निम्ति उक्त शर्त स्वीकारयोग्य भएन।

वार्ताअघि बोल्दै ट्रम्पले आफूले सही सहमति चाहेको भन्दै गत वर्षको सिङ्गापुर शिखरवार्ताको उपलब्धिबारे उत्पन्न निराशाजनक टिप्पणीहरू पन्छाउन खोजेका थिए।

"मैले सुरुदेखि नै भन्दै आएको थिएँ कि मेरो निम्ति गति सबभन्दा महत्त्वपूर्ण होइन। परमाणु रकेट र क्षेप्यास्त्रजस्ता अस्त्रको परीक्षण रोकिएकोमा म खुसी छु।"

उनले किमप्रति आफूमा उच्च सम्मान रहेको पनि बताएका थिए।

तीस मिनेटजति वार्ता भएपछि उनीहरू केही समय विश्राम लिएर हिँड्न बाहिर निस्किएका थिए।

वार्ताको सम्भावित परिणामबारे एक विदेशी पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै किमले आफूलाई राम्रो परिणाम आउने लागेको बताएका थिए।

किमले ट्रम्प र आफूलाई सँगसँगै देख्दा मानिसहरूलाई चलचित्र हेरिरहेकोजस्तो लाग्ने बताएका थिए।