जलवायु परिवर्तन: मस्कोका सडकमा कृत्रिम हिउँ

तस्बिर स्रोत, Getty Images
मस्कोका अधिकारीहरूले नयाँ वर्षको उत्सवका लागि शहरका मुख्य स्थानहरूमा कृत्रिम हिउँ राखेका छन्।
रुसमा सन् १८८६ यता डिसेम्बर महिनामा सबैभन्दा बढी तापमान मापन गरिएका कारण त्यस्तो गरिएको अधिकारीहरूले बताएका छन्।
'डम्पर' ट्रक प्रयोग गरेर कृत्रिम हिउँ खसालिएको दृश्य सामाजिक सञ्जालमा मनोरञ्जनको माध्यम बनेको छ।
@WildWildMoscow खाता प्रयोगकर्ताले ठट्टा गर्दै लेखेका छन्, "मस्कोको बजेटले तपाईँ जुनसुकै कुरा किन्न सक्नुहुन्छ - जाडोयाम समेत।"
यो "सामान्य जाडोयाम" - सबजीरो भनेर चिनिने तापक्रम जसले नेपोलियन र हिट्लरलाई हराउन सहयोग गरेको थियो - भन्दा फरक अवस्था हो।
यद्यपि् मस्कोमा सोमवार दिउँसो हल्का हिउँ भने परेको थियो। आगामी हप्ता थप हिउँ पर्न सक्ने अनुमान गरिएको छ।
रुसको मौसम पूर्वानुमान गर्ने निकायका प्रमुखका अनुसार अभिलेख राख्न सुरु गरिएयता सन् २०१९ रुसका लागि सबैभन्दा न्यानो वर्ष हो।

तस्बिर स्रोत, Getty Images
मस्कोको एउटा प्रमुख सडक टभर्सकायामा कृत्रिम हिउँको चाङ छ।
रेड स्क्वायर लगायतका अन्य प्रमुख सडकहरूमा त्यसैगरी कृत्रिम हिउँ राखिँदैछ। नयाँ वर्षको छुट्टीका बेला ती सडकमा सवारीसाधनको आवागमन ठप्प पारिएको छ।
कृत्रिम हिउँ मस्कोका केही स्केटीङ्ग खेल खेलिने स्थानमा रहेका बरफ फुटाएर बनाइएको हो।
स्केटबोर्ड खेल्नेहरू मस्कोको अर्को प्रमुख सडक आबाटमा राखिएको कृत्रिम हिउँमा रमाइरहेको अधिकारीहरूले बताएका छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
डिसेम्बर १८ मा मस्कोको तापक्रम ५.६ डिग्री सेल्सियस पुगेको थियो जुन सन् १८८६ मा मापन गरिएको तापमानलाई उछिन्दै हालसम्मकै उच्च हो।
मस्को टाइम्सले उद्धृत गरेका केही स्थानीयवासीले भने रुसको जाडोको आभास दिने सरकारी पहलमाथि निराशा व्यक्त गरेका छन्।
"यसलाई पटक्कै उत्साहपूर्ण भन्न सकिँदैन," तीमध्ये एक जनाले भने। अर्का व्यक्तिले हिउँको रङ्ग अहिले नै फेरिसकेको भन्दै असन्तुष्टि व्यक्त गरे।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जलवायु परिवर्तनले रुसलाई समस्यामा पार्न सक्ने स्वीकार गरेका छन्।
डिसेम्बर १९ तारिखमा भएको एउटा सम्मेलनका क्रममा उनले रुसको औसत तापमान वृद्धिदर विश्वव्यापी औसतभन्दा दोब्बर रहेको बताएका थिए।








