जलवायु परिवर्तन: वार्ताकारहरूलाई विमति हल गर्न 'लचकता अपनाउन' आग्रह

सम्मेलनस्थल

तस्बिर स्रोत, AFP

स्पेनको मड्रिडमा शुक्रवार सकिनुपर्ने राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा वार्ताकारहरूले रात परेपछि पनि छलफल जारी राख्दै आफूबीचको प्रमुख विमति समाधान गर्ते प्रयत्न जारी राखेका छन्।

छलफलहरूको नेतृत्व गरिरहेका चिलीका मन्त्रीले आफूहरू सहमति सन्निकट रहेको बताउँदै वार्ताकारहरूलाई लचकता देखाउन आग्रह गरेका छन्।

युरोपेली सङ्घ ईयू र साना टापु राष्ट्रहरूले सन् २०२०मा स्कटल्यान्डमा हुने अर्को जलवायु सम्मेलनअघि सबै देशहरूले जलवायु परिवर्तनविरुद्ध जुझ्ने आफ्ना योजनाहरू तयार गर्नु पर्ने अडान राखेपछि वार्ता अवरुद्ध हुन पुगेको हो।

त्यस्तो अडान अमेरिका, चीन, ब्रजिल र भारतजस्ता धेरै प्रदूषण गर्ने राष्ट्रले नमानेपछि वार्ता लम्बिएर मड्रिड सम्मेलन सकिन ढिलाइ भएको हो। ती राष्ट्रले अहिलेको कार्बन उत्सर्जन कटौतीको सीमामा परिवर्तन आवश्यक नरहेकोमा जोड दिइरहेका छन्।

मड्रिडमा जलवायु सम्मेलनमा आएका अन्तर्राष्ट्रिय वार्ताकारहरूले सन् २०१६ मा भएको प्यारिस सम्झौता कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा दुई सातासम्म छलफल गरिसकेका छन्।

सम्मेलनस्थल

तस्बिर स्रोत, KIARA WORTH/IISD

विमति समाधान नभएका कारण शनिवार जारी वार्ता आइतवार बिहानसम्मका लागि तन्किइसकेको हो।

चिलीका मन्त्रीले के भनिन्?

चिलीमा आन्तरिक सङ्कट उत्पन्न भएपछि यो सम्मेलन स्पेनमा भएको हो। त्यहाँ आएकी चिलीकी वातारणमन्त्री क्यारोलिना शमिटले सहमति एकदमै नजिक रहेपनि त्यो अझै महत्त्वाकाङ्क्षी हुनुपर्नेमा जोड दिइन्।

यो सम्मेलनमा सन् २०२० को अन्त्यसम्म घटाउनुपर्ने कार्बन उत्सर्जनको परिमाण धेरै बनाउन प्रतिबद्धताको खोजी भइरहेको छ।

सम्मेलनको अध्यक्षता गरिरहेको चिलीकी वातारणमन्त्री क्यारोलिना शमिटले भनिन्, "एउटा महत्वाकाङ्क्षी परिणाम निकाल्नको लागि सम्पूर्ण शक्ति लगाएर सक्दो लचकता अपनाउनु हुनका लागि म आग्रह गर्न चाहन्छु।"

सम्मेलनस्थल

तस्बिर स्रोत, .

उनले भनिन्, "त्यसो गर्न कठिन होला तर त्यो आवश्यक छ। मलाई तपाईँहरूको आवश्यकता छ, हाम्रा देशहरूमा रहेका मानिसका लागि तपाईँ आवश्यक हुनुहुन्छ।"

सहमतिको खाका

शनिवार सन् प्यारिस सम्झौता कार्यान्वयन गर्ने सम्बन्धमा एक सहमतिको एक खाका तयार गरिएको थियो। त्यो सम्झौताले तापक्रम वृद्धिलाई दुई डिग्री सेल्सीअसभन्दा कममा सीमित गर्ने लक्ष्य लिएको थियो।

पछि त्यसलाई अझै घटाएर १.५ डिग्री सेल्सीअसमा झार्नुपर्ने सुझाव दिइयो। तर मड्रिड सम्मेलनमा त्यस सम्बन्धमा प्रगति हुन सकेको छैन।

स्पेनको राजधानीमा चलेको सम्मेलनमा कार्बन बजारको भूमिका र अन्य प्राविधिक विषयमा धेरै छलफल भयो।

राष्ट्रसङ्घका अनुसार अर्को वर्षसम्ममा आफ्ना राष्ट्रिय योजना सुधार्ने विषयमा ८४ देशहरूले प्रतिबद्धता जनाएका छन्।

तर ७३ राष्ट्रले चाहिँ यो शताब्दीको मध्यसम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने दीर्घकालीन योजना तयार पार्ने बताएका छन्।

साना टापु राष्ट्रहरूको सञ्जालले अस्ट्रेलिया, अमेरिका, क्यानडा, रुस, भारत, चीन र ब्रजिल जलवायु परिवर्तनसँग जुझ्ने विषयमा गम्भीर नभएको आरोप लगाएका छन्।

ती देशहरू तापक्रम वृद्धिदर १.५ डिग्री सेल्सीअसमा सीमित राख्ने विषयमा आफ्ना परिमार्जित योजना पेस गर्न विफल रहेका छन्।