अस्ट्रेलियामा डढेलो 'नियन्त्रण बाहिर', सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस्

तस्बिर स्रोत, Getty Images
प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियामा आगो र डढेलोहरू नियन्त्रणभन्दा बाहिर जान थालेपछि त्यहाँको सबैजसो राज्यको तापक्रम ४० डिग्री सेल्सियस पुगेका विवरण प्राप्त भएका छन्।
सोमवार सबैभन्दा खतरनाक आगो भिक्टोरिया राज्यमा फैलिएका थिए।
आगो लागेका स्थानहरूमा अग्निनियन्त्रकहरूलाई स्वयंसेवकहरूले साथ दिइरहेका छन्।
आगो नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रसिद्ध विदा गन्तव्य इस्ट गिप्सल्यान्डबाट पर्यटक तथा नगरबासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिसकिएको छ।
त्यस क्षेत्रमा करिब ३० हजार मानिस बसोबास गर्छन्।
तर वनमा लागेका आगो र डढेलो प्रमुख राजमार्गसम्मै आइपुग्दा मानिसहरूलाई सुरक्षित स्थानमा लैजाने कार्य निकै जोखिमपूर्ण बनिरहेको छ।
जोखिम
अधिकारीहरूका अनुसार हावाहुरीका कारण आगोहरू तटीय क्षेत्रमा आइपुग्ने जोखिम बढेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
आगो अनुमान गरिएभन्दा छिटो मानवबस्ती नजिक आइपुग्न थालेको बताइएको छ।

तस्बिर स्रोत, Getty Images
मेलबर्न शहरदेखि १६ किलोमिटर उत्तरतिर पर्ने बन्डूरामा पनि आगोले जनधनलाई जोखिम पुर्याइरहेका विवरण प्राप्त भएका छन्।
न्यू साउथ वेल्स राज्यमा आगो निभाउने काममा लागेका एक स्वयंसेवकको ज्यान गएको छ। तीव्र बेगको हुन्डरीमा ती व्यक्ति सवार ट्रक पल्टिँदा उनको ज्यान गएको र अन्य दुई घाइते भएको बताइएको छ।
दक्षिण अस्ट्रेलियाको एडेलेइड र तास्मानिया टापुमा पनि आगो निभाउने प्रयास जारी छन्।
अधिकारीहरूका अनुसार सेप्टेम्बर महिनायता आगलागीसँग जोडिएका घटनामा परी दश जनाको ज्यान गइसकेको छ।
मौसमविद्हरूको भनाइमा हिन्द महासागरमा उत्पन्न भएको डिपोल भनिने मौसमी अवस्थाका कारण अस्ट्रेलिया महादेशमा यो वर्ष अति नै बढी गर्मी भएको हो।








