बलात्कारको आरोप लागेका सिद्धबाबा धरौटीमा रिहा

- Author, विक्रम निरौला
- Role, बीबीसी न्यूज नेपाली, सुनसरी
सुनसरी जिल्ला अदालतको आदेशपछि बलात्कारको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी धरौटीमा रिहा भएका छन्।
सोमवार थुनछेक बहस सकिएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को बमोजिम तीन लाख रुपैयाँ धरौटी माग गरेको थियो।
थुनछेक बहस भइरहँदा अदालत परिसरबाहिर गिरीको पक्ष र विपक्षमा नाराबाजी भएको थियो।
उपलब्ध प्रमाणका आधारमा प्रतिवादीले जबर्जस्ती करणी गरेको भनी पुर्पक्षका लागि उनलाई थुनामा राखी कारबाही गर्नु "औचित्यपूर्ण नरहेको" भन्दै अदालतले उनलाई धरौटीमा छोड्ने आदेश दिएको हो।
एक २९ वर्षीया महिलाले आफूलाई करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएको करिब पाँच हप्तापछि नेपाल प्रहरीले चतराका सिद्धबाबा भनिने गिरीलाई विराटनगरको एक निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाटै पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो।
- करणी भएको' भनिएको मिति -कार्तिक ४ गते
- गिरीद्वारा महिलाविरुद्ध उजुरी - कार्तिक १९ गते
- महिलाद्वारा गिरीविरुद्ध उजुरी - मङ्सिर ८ गते
प्रहरीका अनुसार मङ्सिर ८ गते आफूविरुद्ध उजुरी परेपछि पक्राउपुर्जी जारी भएलगत्तै ४६ वर्षीय गिरी अस्पताल भर्ना भएका थिए।
के भन्यो अदालतले?
अदालतले पीडिता भनिएकी महिलाले एकतर्फी रूपमा प्रतिवादी सिद्धबाबालाई झन्डै एक वर्षसम्म पठाएका "५३ थान मुख्य अंश रहेको आशक्तिपूर्ण प्रेमरस"का सन्देशहरू "हाल अन्यथा हुन नसकेको परिवेशमा प्रस्तुत वारदातलाई जबरजस्ती करणी भनी मुद्दाको पुर्पक्ष गर्नका लागि प्रतिवादी सिद्धबाबालाई थुनामा राखी कार्बाही गर्नु औचित्यपूर्ण नरहेको" उल्लेख गरेको छ।
उसले घटनाका सम्बन्धमा बुझिएका सम्पूर्ण व्यक्तिहरूले प्रतिवादीलाई सफाइ दिनुपर्छ भनी कागज गरिदिएको पनि उल्लेख गरेको छ।

तर प्रतिवादीले क्षमायाचना गरेको जस्तो सुनिने अडिओ रेकर्ड आफ्नो हैन भनी इन्कार गरेको भए पनि परीक्षणबाट प्राप्त प्रतिवेदनले उक्त आवाज उनीसँग मिल्दोजुल्दो भएको हुनाले निज निर्दोष छन् भन्ने अवस्था नरहेको अदालतले जनाएको छ।
अदालतले "पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरी" हाल प्रतिवादीलाई धरौटीमा छोड्न आदेश दिएको छ।








