हङ्कङ आन्दोलन: क्रिस्मसको पूर्वसन्ध्यामा प्रहरी र प्रदर्शनकारीबीच झडप

तस्बिर स्रोत, AFP
हङ्कङमा प्रहरी र प्रजातन्त्रवादी प्रदर्शनकारीबीच क्रिस्मसको पूर्वसन्ध्यामा पुन: झडपहरू भएका छन्।
टाउकोमा स्यान्टा क्लजको जस्तो टोपी र मृगको जस्तो सिङ लगाएका मानिसहरूले विभिन्न बजार तथा एउटा पर्यटकीय क्षेत्रमा प्रदर्शन गरेका थिए।
केही प्रदर्शनकारीहरूले पेट्रोल बम प्रहार गरेका थिए। प्रहरीले आँखा पोल्ने पेपर स्प्रे, लट्ठी तथा अश्रुग्यास प्रयोग गरेको थियो।
हङ्कङमा छ महिनादेखि सरकारको विरोधमा आन्दोलन भइरहेको छ।
गत जुन महिनामा सरकारले सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयक ल्याएपछि विरोध सुरु भएको थियो। अहिले त्यसले प्रहरीको अत्याचार र प्रजातान्त्रिक सुधारको मागसहित आन्दोलनको रूप लिएको छ।
मङ्गलवार के भयो?
केही प्रदर्शनकारीले क्रिस्मसको बेला पनि विरोधप्रदर्शन गर्न आह्वान गरेका थिए।

तस्बिर स्रोत, Reuters
क्रिस्मसको पूर्वसन्ध्यामा चिम शा चई र मङ्ककका सडकमा हजारौँ मानिसहरू भेला भए।
केही प्रदर्शनकारीहरूले सडकबाट इँटा निकालेको र बाटो छेक्न थुप्रो बनाएको देखिन्थ्यो। प्रहरीका अनुसार प्रदर्शनकारीहरूले एउटा ब्याङ्कमा तोडफोडपछि आगो लगाइएका थिए।
साउथ चाइना मर्निङ पोस्टका अनुसार मध्यरातमा प्रदर्शनकारीहरूले हिंसात्मक गतिविधि केही समय रोकेर शुभकामना आदानप्रदान गरेका थिए। उनीहरूले सुरक्षाकर्मीहरूलाई पनि शुभकामना दिएका थिए।
तर केही बेरमै उनीहरूबीच फेरि झडप भयो।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Reuters
पच्चीस वर्षीय निगेल चाल नाम गरेका एक प्रदर्शनकारीले रोएटर्स समाचारसंस्थालाई भने, "धेरै हङ्कङवासीलाई यो क्रिस्मस भिन्न नहोला भन्ने लागेको थियो...तर यो वर्ष क्रिस्मसको पूर्वसन्ध्या त लडाइँ गर्ने समय भए जस्तो छ।"
"यो हाम्रा लागि हर्षपूर्ण पर्व र बिदाको बेला भए पनि केही [प्रदर्शनकारीहरू] जेलमा छन्... हामीले अरूलाई हाम्रो सङ्घर्ष अझै सकिएको छैन भनेर सम्झाउनुपर्छ," आफ्नो नाम म्यारी बताउने अर्की प्रदर्शनकारीले रोएटर्सलाई भनिन्।
सरकारका एक प्रवक्ताले दङ्गाकारीहरूले सामाजिक व्यवस्था र क्रिस्मस पर्वको उमङ्ग बिथोलिदिएको आरोप लगाएका छन्।

तस्बिर स्रोत, Getty Images
हङ्कङ किन आन्दोलित छ?
सरकारले हङ्कङका नागरिकलाई मुख्यभूमि चीन सुपुर्दगी गर्न सकिने प्रावधान भएको नयाँ कानुन ल्याउन खोजेपछि हङ्कङ गत जुन महिनादेखि आन्दोलित छ।
उक्त प्रस्तावित कानुन अनुमोदनमा भएमा हङ्कङको न्यायिक स्वतन्त्रता समाप्त हुने र विरोधीहरू खतरामा पर्ने डर धेरैमा उत्पन्न भयो।
चर्को विरोध भएपछि सेप्टेम्बरमा उक्त विधेयक फिर्ता भयो। तर आन्दोलन झन् चर्कियो।
सन् १९९७ सम्म हङ्कङ ब्रिटिश उपनिवेश थियो।
अहिले 'एक राष्ट्र, दुई प्रणाली' नीतिअन्तर्गत हङ्कङ चीनको अर्धस्वायत्त भूभागको रूपमा रहेको छ।
हङ्कङवासीहरू मुख्यभूमि चीनका नागरिकभन्दा धेरै स्वतन्त्र छन्।
हङ्कङको प्रशासनलाई चीनको समर्थनप्राप्त छ। तर गत महिना भएको स्थानीय परिषद्को निर्वाचनमा बेइजिङ समर्थकहरूको पराजय भएको थियो।
चीनले हङ्कङमा भइरहेको आन्दोलनप्रति आपत्ति व्यक्त गर्दै चीन विभाजन गर्न खोजे दमन गरिने चेतावनी दिँदै आएको छ।












