हङ्‌कङका प्रदर्शनकारीलाई समर्थन जारी नराख्न अमेरिकालाई चीनको चेतावनी

हङ्‌कङ

तस्बिर स्रोत, Reuters

हङ्‌कङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन जारी राखे वाशिङ्गटनविरुद्ध कडा प्रतिक्रियात्मक कारबाही गर्ने चीनले चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि बेइजिङ् क्रुद्ध बनेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मानव अधिकार तथा प्रजातन्त्र नामक कानुनमा हस्ताक्षर गरेपछि बेइजिङ्ले त्यसलाई दुराग्रहपूर्ण कदम भनेको छ।

सो कानुन बमोजिम अमेरिकी सरकारले हङ्‌कङलाई पर्याप्त स्वायत्तता प्रदान गरिएको छ कि छैन भनेर वार्षिक समीक्षा गर्नुपर्नेछ।

अन्यथा पाइए हङ्‌कङलाई प्राप्त विशेष व्यापारिक हैसियत खोसिन सक्नेछ।

व्यापार युद्ध

हाल ट्रम्म चीनसँग व्यापार सम्झौता गर्न चाहिरहेका छन् ताकि दुई देशबीचको व्यापार युद्ध थामियोस्।

तर पछिल्लो कदमबारे प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले सत्यतथ्यको बेवास्ता गरिरहेको जनाएको छ।

हङ्‌कङका सार्वजनिक सम्पत्ति नष्ट गर्ने, आगो लगाउने, निर्दोष मानिसलाई कुटपिट गर्ने एवम् कानुनी शासन र सामाजिक व्यवस्थामा खलल पार्न खोज्ने हिंस्रक अपराधीहरूलाई खुला रूपमा समर्थन गरिरहेको आरोप उसले अमेरिकामाथि लगाएको छ।

हङ्‌कङ

तस्बिर स्रोत, Reuters

यस्तै गरिरहने हो भने चीनले बदलाको कारबाही गर्ने पनि उसले बतायो।

विश्वका सबभन्दा शक्तिशाली दुई मुलुकबीच चर्किएको पछिल्लो तनावले ती दुईबीच जारी व्यापार युद्ध रोक्न भइरहेका वार्ता थप जटिल हुने कतिपयले ठानेका छन्।

चिनियाँ विदेशमन्त्रालयले अमेरिकी राजदूतलाई डाकेर वाशिङ्गटनलाई चिनियाँ आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेको छ।

हङ्‌कङ सरकारले पनि अमेरिकी कानुनले गलत सन्देश दिने र स्थिति साम्य पार्न नसघाउने जनाएको छ।

तर हङ्‌कङका एक मुख्य अभियानकर्ता जोशुवा वङ्गले अमेरिकी कानुन हङ्‌कङवासीहरूका निम्ति गजबको सफलता भएको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हङ्‌कङमा प्रदर्शनकारी र प्रहरीबीच यसरी भयो भिडन्त