हङ्‌कङ आन्दोलन: अमेरिकी राष्ट्रपतिले गरे प्रदर्शनकारीलाई समर्थन गर्ने कानुनमा हस्ताक्षर

हङकङमा प्रदर्शन

तस्बिर स्रोत, Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्।

अमेरिकी कंग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ।

हङ्‌कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्‌कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ।

ट्रम्पले "राष्ट्रपति सी (जिन्पिङ), चीन र हङ्‌कङका जनता"प्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको बताए।

चीनले के गर्ला?

तर त्यो कानुनले बेइजिङलाई क्रुद्ध बनाउनेछ। चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई चिनियाँ आन्तरिक मामिलामा "हस्तक्षेप नगर्न" चेतावनी दिइसकेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन-अमेरिका व्यापार युद्धलाई अन्त्य गर्न चीनसँग व्यापार सम्झौता गर्न खोजिरहेका छन्।

उनले हङ्‌कङसँग सम्बन्धित अर्को कानुनमा पनि हस्ताक्षर गरेका छन्। त्यसले हङ्‌कङ प्रहरीलाई भिड नियन्त्रण गर्न प्रयोग गर्ने अश्रुग्यास, रबरका गोली र स्टेन गनजस्ता अस्त्र निर्यातमा प्रतिबन्ध लगाइदिएको छ।

ट्रम्प

तस्बिर स्रोत, Reuters

ट्रम्पको भनाइमा "चीन र हङ्‌कङका नेता तथा प्रतिनिधिहरू आफ्ना मतभेदहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर (ती विधेयकहरू) लागु गर्न लागिएको" हो।

नयाँ कानुनमा के छ?

उक्त विधेयक गत जुन महिनामा हङ्‌कङमा प्रदर्शनहरू सुरु हुन लाग्दा अमेरिकी कंग्रेसमा प्रस्तुत गरिएको र गत महिना कंग्रेसबाट अत्यधिक बहुमतले पारित भएको थियो।

त्यो विधेयक भन्छ: "हङ्‌कङ चीनको भाग हो र त्यसको आफ्नै कानुनी र आर्थिक व्यवस्था छ। वार्षिक समीक्षाले हङ्‌कङको कानुनमा निर्दिष्ट गरिए झैँ त्यहाँका नागरिकको स्वतन्त्रता र कानुनी शासनलाई चीनले चलाए नचलाएको भन्ने विषयको आकलन गर्नेछ।"

चिनियाँ मुख्य भूमिमा लागु हुने अमेरिकी कर वा नियम स्वायत्त क्षेत्रको रूपमा रहेको हङ्‌कङमा चाहिँ लागु हुने गरेको छैन।

त्यो कानुनमा अमेरिकाले हङ्‌कङका नागरिकलाई विरोधका क्रममा पक्राउ परेको अवस्थामा पनि प्रवेशाज्ञा दिन सक्ने व्यवस्था गरिएको छ।

हङ्कङको अवस्था कस्तो छ?

हङ्‌कङमा गत जुन महिनामा सुरु भएको प्रजातन्त्रपक्षीय प्रदर्शन केही दिनअघि सम्म जारी थियो।

त्यसले बृहद् प्रजातन्त्रिक आन्दोलनको रूप लिइसकेको छ।

हङ्‌कङ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भर्खरै सम्पन्न स्थानीय परिषद्को निर्वाचनमा प्रजातन्त्रवादीहरूको विजय भएको छ

हिंसात्मक प्रदर्शन चर्किँदै गर्दा प्रदर्शनकारीहरूले बेइजिङ पक्षधर भनिएका व्यापारिक प्रतिष्ठानहरूलाई ताकेर पेट्रोल बम प्रहार गरेका छन्।

प्रदर्शनकारीहरूले प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै विरोध गरिरहेका छन्।

हङ्‌कङमा आइतवार स्थानीय परिषद्‍को निर्वाचनमा भएको थियो।

निर्वाचनमा प्रजातन्त्र पक्षधरहरूले अत्यधिक बहुमत ल्याए। कुल १८ वटा परिषद्‌मध्ये १९ बटामा उनीहरूको विजय भयो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हङ्‌कङमा प्रदर्शनकारी र प्रहरीबीच यसरी भयो भिडन्त

हङ्‌कङ सन् १९९७ सम्म ब्रिटेनको उपनिवेश थियो।

अहिले 'एक चीन, दुई प्रणाली' अन्तर्गत हङ्‌कङ चीनको अर्धस्वयात्त भूभागको रूपमा रहेको छ।

सरकारले मुख्यभूमि चीनलाई हङ्‍कङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा कानुन ल्याउने योजनाको विरोधमा गत जुन महिनामा हङ्‌कङ आन्दोलित भएको थियो।

सरकारले उक्त योजना फिर्ता लिएको भए पनि अहिले आन्दोलनको माग र स्वरूप बदलिएको छ।