हङ्‌कङ आन्दोलन: घेराबन्दीमा परेका प्रदर्शनकारी डोरी प्रयोग गरेर भागे

हङ्‌कङ

तस्बिर स्रोत, AFP

हङ्‌कङमा प्रदर्शन गरिरहेको अवस्थामा एउटा विश्वविद्यालयमा प्रहरी घेराबन्दीमा परेका आन्दोलनकारीहरूको एउटा समूह पुलमा बाँधेको डोरीमा झुन्डिएर भाग्न सफल भएका छन्।

त्यसरी नै भाग्न खोजेका एक सय जनाजति लाई प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ। केही पक्राउ परेका छन्।

अझै २०० सय जनाजति प्रदर्शनकारीहरू तेस्रो दिन पनि घेराबन्दीमै रहेको बताइएको छ। उनीहरूले भण्डार गरेको आवश्यक सामग्री कम हुँदै गएको छ।

तर प्रहरीले पक्राउ गर्ने चेतावनी दिएपछि केही प्रदर्शनकारीहरू बाहिर निस्किन हच्किएका छन्।

सोमवार भएको हिंसामा दर्जनौँ मानिस घाइते भएको थिए।

उक्त विश्वविद्यालय लामो समयदेखि चलिरहेको सरकारविरोधी प्रदर्शनको मुख्य केन्द्रमा परिणत भएको छ।

चीनको अर्धस्वशासित भूभागका रूपमा रहेको हङ्‌कङमा आन्दोलन सुरु भएयता अहिले प्रदर्शनले सबैभन्दा उग्र रूप लिएको छ।

सरकारले मुख्यभूमि चीनलाई हङ्‍कङका नागरिक सुपुर्दगी गर्न सकिने प्रावधान भएको एउटा कानुन ल्याउने योजनाको विरोधमा गत जुन महिनामा हङ्‌कङ आन्दोलित भएको थियो।

सरकारले उक्त योजना फिर्ता लिएको भए पनि अहिले आन्दोलनको माग र स्वरूप बदलिएको छ।

बृहत् प्रजातान्त्रिक अधिकार दिइयोस् र प्रहरीलाई उत्तरदायी बनाइयोस् भन्ने मागसहित आन्दोलन चर्किएको हो।

हङ्‌कङ

तस्बिर स्रोत, Getty Images

हङ्‌कङ

तस्बिर स्रोत, Reuters

चीनले "हङ्‌कङको स्थायित्व र आफ्नो सार्वभौम सत्ताको रक्षा गर्ने चाहनालाई कसैले पनि कम आँक्न नहुने" चेतावनी दिएको छ।

युकेका लागि चीनका राजदूतले हङ्‌कङको स्थिति "अनियन्त्रित" हुँदै गए केन्द्र सरकारले हेरेर नबस्ने बताएका छन्।

सन् १९९७ सम्म ब्रिटिश उपनिवेशका रूपमा रहेको हङ्‌कङले प्राप्त गरेको विशेष स्वतन्त्रता प्रभावित हुने हो कि भन्ने विषय पनि आन्दोलनको एउटा कारण हो।

हङ्‌कङको एउटा उच्च अदालतले अनुहार छोप्ने मास्क लगाउने प्रदर्शनकारीहरूमाथि लगाइएको प्रतिबन्ध असंवैधानिक रहेको ठहर गरेको।

सप्ताहान्तमा भएका प्रदर्शनले जिल्लाहरूमा हुने भनिएको निर्वाचन सम्पन्न हुने 'सम्भावना घटेको' हङ्‌कङ सरकारले बताएको भन्दै सरकारी सञ्चारमाध्यम आरटीएचकेले समाचार प्रकाशन गरेको छ।

यूकेले "हिंसा अन्त्य गरेर सबै पक्षलाई अर्थपूर्ण राजनीतिक वार्तामा संलग्न हुन" अनुरोध गरेको छ।

बीबीसीसँग कुरा गर्दै भूतपूर्व विदेशमन्त्री जेरमी हन्टले केही प्रदर्शनकारीहरूले "चीनसँग सैन्य द्वन्द्व" उत्पन्न गराउने खोजेको आरोप लगाएका छन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले हङ्‌कङ सरकारलाई सार्वजनिक सरोकारका विषयलाई सम्बोधन गर्न आग्रह गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हङ्‌कङमा प्रदर्शनकारी र प्रहरीबीच यसरी भयो भिडन्त