पाकिस्तानमा जब स्वास्थ्यकर्मीले नवजात शिशु चोरेर नि:सन्तान आफन्तलाई दिइन्

शिशु

तस्बिर स्रोत, Family Handout

पाकिस्तानको दक्षिणपश्चिम बलोचिस्तान प्रान्तमा एउटा अस्पतालबाट नवजात शिशु चोरेर आफ्नी नि:सन्तान आफन्तलाई दिएको आरोपमा एक महिला स्वास्थ्यकर्मी पक्राउ परेकी छन्।

उक्त शिशुको परिवारलाई सुरुमा शिशु हराएको पनि पत्तो भएन। शिशुकी आमाले जुम्ल्याहा बच्चालाई जन्म दिएको उनीहरूलाई कसैले बताएको थिएन।

ती महिला होसमा आएपछि उनले अर्को शिशुबारे सोधपुछ गरेपछि मात्र जुम्ल्याहामध्ये एक जना हराएको थाहा भएको परिवारका एक सदस्य अब्दुल हमिदले बीबीसीलाई बताए।

हमिदले जमिला बीबीलाई गाउँभन्दा ६० किलोमिटर टाढा रहेको लोरालाई अस्पताल पुर्‍याएका थिए।

बच्चाको जन्म भएपछि जमिला बीबीको परिवारलाई एक बालिका दिइएको र घर फर्किन भनिएको हमिदले प्रहरीलाई जानकारी दिएका छन्।

तर जमिला बीबीलाई घरमा केही दिनसम्म पूर्ण होस आएको थिएन। साथमा ल्याएको शिशुको पनि ज्यान गयो।

त्यसपछि पूरै होसमा आएपछि उनले आफ्नी अर्की छोरीबारे सोधपुछ गरिन्। परिवार चकित पर्‍यो।

"शुक्रवार जब जमिला बीबीले अर्को बच्चाबारे सोधिन्, हामी सबै छक्क पर्‍यौँ," अब्दुल हमिदले बीबीसीलाई बताए।

पक्राउ

अस्पताल

तस्बिर स्रोत, Amir Afghan

हमिदले प्रहरीमा जानकारी दिएलगत्तै प्रहरीले त्यस बेला अस्पतालमा पालोमा खटिएकी एक महिला स्वास्थ्यकर्मीलाई पक्राउ गर्‍यो। उनले नै अर्को बच्चा भएको स्थानमा प्रहरीलाई पुर्‍याएको लोरालाई प्रहरी चौकीका अतिरिक्त प्रमुख जहाँगिर शाहले बताए।

"उनलाई अरू दुई जनाले उक्त शिशु लैजान सहयोग गरे। सत्र वर्षअघि बिहे गरेपनि नि:सन्तान रहेकी आफ्नी आफन्तलाई उक्त शिशु दिइयो," शाहले भने।

प्रहरीले चारै महिलालाई पक्राउ गरेको छ। शिशुलाई उसको परिवारलाई हस्तान्तरण गरिएको छ।

अधिकारीहरूले अस्पतालको कमजोर सुरक्षाव्यवस्था एवम् प्रक्रियाको अभावका कारण यस्तो घटना भएको बताएका छन्।

बलोचिस्तान प्रान्तको राजधानी क्वेटाकी एक वरिष्ठ स्त्रीरोग विशेषज्ञले यो घटना अभूतपूर्व र चिन्ताजनक भएको बताइन्।

"यो क्षेत्रको कुनै पनि सरकारी अस्पतालमा सुरक्षा प्रक्रिया अपनाइँदैन। आमा र नवजात शिशुलाई ट्यागिङ गर्ने वा तिनको बायोमेट्रिक अभिलेख राख्ने पनि गरिँदैन जुन अस्पतालबाट निस्किँदा ढोकामा जाँच्न सकियोस्," उनले भनिन्।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, भर्खरै जन्मेको शिशु ढलबाट निकाल्दाको क्षण