"डेङ्गीबाट श्रीलङ्कामै सङ्क्रमित भएका थिए खेलाडी"

तस्बिर स्रोत, www.13sagnepal.com
दक्षिण एशियाली खेलकुद (साग) खेल्न आएका श्रीलङ्काका सात जना खेलाडीहरू नेपाल आउनु अघि नै डेङ्गीबाट सङक्रमित भएको अधिकारीहरूले बताएका छन्।
सागमा सहभागी हुन गत नोभेम्बर २९ तारिखमा श्रीलङ्काका ६४० जना खेलाडीहरू नेपाल आएका थिए। तीमध्ये एकजना टेबल टेनिस खेलाडीको काठमाण्डू पुगेको दुई दिन पछि स्वास्थ्यमा समस्या देखिएको थियो।
बाँकी छ जनालाई क्रमिक रूपमा ज्वरो देखिएको र अस्पताल भर्ना गरिएपछि त्यो डेङ्गी रहेको पुष्टि भएको बताइएको छ।
श्रीलङ्काको राष्ट्रिय टोलीका चिकित्सक डाक्टर लाल एकानाएकेले खेलाडीहरू नेपाल आउनु अघि नै डेङ्गीबाट सङ्क्रमित भएको आफूहरूको बुझाई रहेको बीबीसीलाई बताए।
"सङ्क्रमित भएकामध्ये अधिकांश खेलाडी काठमाण्डू आइपुग्नु अघि एउटै होटेलमा बसेका थिए," चिकित्सक एकानाएकेले बताए। "उनीहरू त्यही सङ्क्रमित भएको हुनु पर्छ। काठमाण्डूको मौसमले पनि यहाँ डेङ्गी हुन सक्ने सम्भावना नरहेको देखाउँछ।"
डेङ्गीबाट ग्रसित श्रीलङ्काका पाँच जना खेलाडीको हाल काठमाण्डूको त्रिपुरेश्वरस्थित एक अस्पतालमा उपचार भइरहेको छ। हालसम्म तीनजनालाई डिस्चार्ज गरिएको अस्पतालका अधिकारीहरूले बीबीसीलाई जानकारी दिए।
सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिएका एक खेलाडी हाल सामान्य रेखदेखमा छिन्। ती महिला फुटबल टोली सदस्यको स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई पोखराबाट हवाइमार्ग हुँदै काठमाण्डू ल्याइएको थियो।

उपचार भैरहेको अवस्थामै श्रीलङ्काका अर्का खेलाडीको अवस्था नाजुक बन्दै गएपछि सोमवार उनलाई आइसीयूमा सारिएको बताइएको छ।
आइसीयूमा राख्नु परेका खेलाडीहरूको प्लेटलेट्स निकै कम देखिको थियो जस कारण उनीहरूको उपचारमा उच्च सतर्कता अपनाइएको उपचारमा संलग्न चिकित्सकहरूले बताए।
अन्य उपचाररत् खेलाडी भने खतरा मुक्त रहेको र उनीहरू मध्य केहीलाई डिस्चार्ज गर्ने तयारी गरिएको ब्लू क्रश अस्पतालका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले जानकारी दिए।
परामर्श
खेलाडीहरूमा डेङ्गी देखिएपछि तिनको उपचारकाबारे श्रीलङ्काका डाक्टरहरूसँग परामर्श गरिएको थियो। उपचार प्रक्रियामा दुई देशका चिकित्सकहरूले सहकार्य गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन्।
रोगबाट सङ्क्रमित एकजना बाहेक अन्य खेलकुदमा सहभागी हुन नपाएको चिकित्सक एकानाएकेले बताए। ती एक खेलाडीले भने एक स्वर्ण र एक रजत पदक जितेको उनले जानकारी दिए।
डेङ्गीबाट संक्रमित एकजना खेलाडीले साग खेल्न नपाउँदा आफूलाई दुख लागेको बताइन्।
"आफ्नो देशका लागि खेल्न नपाउँदा निकै दुख लागेको छ। हाल मेरो अवस्था सुध्रिँदै छ। परिवारसँग फोन मार्फत कुराकानी भइरहेको छ र म चाँडो भन्दा चाँडो घर जान चाहन्छु," उनले बीबीसीसँगको संक्षिप्त कुराकानीका क्रममा भनिन्।
चिकित्सक एकानाएकेका अनुसार खेलाडीहरूको स्वास्थ्य अवस्था स्थिर नभएसम्म उनीहरुको नेपालमै उपचार गरिने छ। त्यसकालागि केही अधिकारीहरू नेपालमै बस्ने छन्। "हामी सजग हुनुपर्ने अवस्था छ। त्यसकारण उनीहरुको स्वास्थय अवस्था यात्रा गर्नका लागि उपयुक्त नहुँदा सम्म उपचार काठमाण्डूमै हुने छ," लाले भने।

तस्बिर स्रोत, AFP
दक्षिण एशियाली खेलकुदको नियम अनुसार प्रारम्भिक उपचारको आर्थिक जिम्मा नेपालको हुनेछ भने जटिल विषयको हकमा भने सम्बन्धित राष्ट्रले नै व्ययभार बेहोर्नुपर्ने सागको चिकित्सा उपचार सम्बन्धि निर्देशिका, मेडिकल ह्यान्डबुक, मा उल्लेख गरिएको छ।
खेलाडीहरूको अवस्थाबारे जानकारी लिन श्रीलङ्काका युवा तथा खेलकुद राज्यमन्त्री समेत अस्पताल पुगेका थिए।
"उनीहरू काठमाण्डूमा खेल्न आएका थिए। उपचार गराउन होइन। उनको अवस्थाबारे परिवार चिन्तित रहेको अवस्थामा मन्त्री भेटघाटका लागि आएका हुन्," चिकित्सक एकानाएकेले भने।
यसै वर्ष लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको थियो। सरकारले उक्त रोग प्रकोपकै रूपमा फैलिएको बताएका कारण पनि श्रीलङ्काका खेलाडीहरू नेपालमा आएपछि सङक्रमित भएका हुनसक्ने आशङ्का उत्पन्न भएको थियो।








