डेङ्गी सङ्क्रमण: काठमाण्डू उपत्यका र अन्य जिल्ला पनि उच्च जोखिममा, यी हुन् यो रोगबाट जोगिने उपाय

डेङ्गी लामखुट्टे

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, डेङ्गी भाइरस सार्ने लामखुट्टेले प्राय: मानिसलाई दिउँसो टोक्छ

लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा जनस्वास्थ्यविज्ञहरूले राखेका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाण्डूमा मात्र करिब एक दर्जन व्यक्ति उक्त रोगबाट सङ्क्रमित भएका छन्।

तर यो विवरण राजधानीका केही अस्पतालहरूबाट सङ्कलित सूचनामा मात्र आधारित भएकाले त्यो सङ्ख्या झन् बढी हुन सक्ने अनुमान गरिएको छ।

विशेषत: उष्ण क्षेत्रमा देखा पर्ने उक्त रोग केही समययता जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमानका कारण काठमाण्डू उपत्यका र पहाडी भूभागसहित ४५ भन्दा बढी जिल्लामा देखा परेको सरकारी अधिकारीहरू बताउँछन्।

केही हप्ताअघि पूर्वी नेपालको धरानमा डेङ्गीको प्रकोप फैलिएको थियो।

निकै प्रयास गर्दा पनि सो रोग डेङ्गी नियन्त्रण गर्न नसकिएको भन्दै प्रदेश नं १ को सरकारले जनचेतना अभिवृद्धि गर्ने मात्र नभएर दण्ड जरिवानाको प्रावधानबारे पनि छलफल गरेको थियो।

सामाजिक विकासमन्त्री जीवन घिमिरेलेका अनुसार डेङ्गी नियन्त्रण गर्न जनचेतना आवश्यक भएको र प्रदेश सरकारले त्यसतर्फ काम गरिरहेको छ।

भारतमा पनि दण्डको प्रावधान रहेको दाबी गर्दै उनले बीबीसीसँगको कुराकानीमा भने, "जनचेतना अभियानपछि पनि कसैको घरमा लार्भा भेटिए दण्ड सजायको प्रावधानबारे समेत छलफल गरिरहेका छौँ।"

फैलिनुका कारण के हुन्?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगसम्बन्धी घटनाहरू विश्वव्यापी रूपमै बढ्दो क्रममा छ।

विश्व स्वास्थ्य सङ्गठनले पनि डेङ्गीलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती मानेको छ। संसारभरि यसको सङ्क्रमण ३० गुणाले बढिरहेको सो सङ्गठनले जनाएको छ।

काठमाण्डू उपत्यका तथा अन्य स्थानमा डेङ्गी सार्ने लामखुट्टेका दुवै प्रजाति भेटिएको डेङ्गीबारे अनुसन्धान गरेकी त्रिभुवन विश्वविद्यालय केन्द्रीय सूक्ष्मजीवविज्ञान विभागकी उपप्राध्यापक रेश्मा तुलाधर बताउँछिन्।

सुनसरी जिल्लामा एकै गाउँमा यो वर्ष मात्रै तीन हजार भन्दा बढी व्यक्तिलाई डेङ्गीको सङ्क्रमण भएको पुष्टि भएको सरकारी तथ्याङ्कले देखाउँछ।

डेङ्गी लामखुट्टे
तस्बिरको क्याप्शन, जमेको पानीमा लामखुट्टेले फुल पार्ने र त्यसबाट विकसित लामखुट्टेले डेङ्गीको सङ्क्रमण फैलाउँछ

भर्खरै दक्षिणपूर्वी एशियासम्बन्धी मामिला हेर्ने विश्व स्वास्थ्य सङ्गठनको एउटा टोलीले काठमाण्डूका विभिन्न स्थानको अवलोकन गर्दा डेङ्गी रोग सार्ने लामखुट्टेको फुल र लार्भा प्रशस्त भेटिएको महाशाखा प्रमुख डाक्टर विवेक कुमार लालले जानकारी दिए।

डेङ्गी रोग फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने हुँदा मनसुन र उक्त अवधि सकिएको एक महिनासम्म उच्च जोखिम हुने विज्ञहरू बताउँछन्।

उक्त रोग दिनको समयमा टोक्ने लामखुट्टेबाट सर्ने हुँदा रातको समयमा झुल टाँगेर सुत्ने वा लामखुट्टे मार्ने धूप बाल्दैमा त्यसबाट बच्न नसकिने भुवन विश्वविद्यालयको केन्द्रीय सूक्ष्मजीवविज्ञानकी उपप्राध्यापक रेश्मा तुलाधर बताउँछिन्।

डेङ्गीको लक्षण कस्तो हुन्छ?

उच्च ज्वरो डेङ्गी रोगको प्रमुख लक्षणमध्ये एउटा हो। सुरुमा मन्द ज्वरो आउने र त्यो बढ्दै जान्छ।

केही व्यक्तिमा हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्ने हुन्छ।

"बेहोस हुने तथा उच्च रक्तस्राव हुने जस्ता लक्षण पनि कतिपयमा देखिन्छ," डा. लालले भने।

"विश्व स्वास्थय सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्यु दर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ।"

नेपालमा डेङ्गी सङ्क्रमण. . .
Presentational white space

रोगबाट बच्ने के कस्ता उपाय छन्?

उपप्राध्यापक रेश्मा तुलाधरका अनुसार डेङ्गीबाट बच्न निम्न कार्य गर्न सकिन्छ:

  • लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
  • खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
  • पानी छोपेर राख्ने
  • शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने
  • सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने
  • दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने
  • लामखुट्टेको टोकाइबाट बचाउने मलमहरू प्रयोग गर्ने
डेङ्गी नियन्त्रण
तस्बिरको क्याप्शन, डेङ्गी सङ्क्रमण रोक्ने मुख्य उपाय भनेको लामखुट्टे नियन्त्रण हो

कस्ता मानिसले थप सतर्कता अपनाउनुपर्छ?

विज्ञहरूका अनुसार डेङ्गीबाट ज्यानै जाने सम्भावना भने कम हुन्छ।

तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरूको सुझाव छ।

डेङ्गी लागेको अवस्थामा सुरुमा सामान्य ज्वरो आउने र मानिसको रक्तकोश घट्न जाने अवस्था सिर्जना हुने र त्यसको अवस्थामा प्रतिरोधात्मक क्षमता कम हुने मानिसहरुलाई असर पार्ने जानकारहरू बताउँछन्।

डेङ्गी सार्ने भाइरस मूलत: चार प्रकारका हुन्छन्।

एक प्रकारको विषाणुबाट डेङ्गी भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा भने अवस्था निकै घातक हुने जाने उनीहरू चिकित्सकहरू बताउँछन्।

नेपालमा डेङ्गी कहिले सुरु भयो?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गी सङ्क्रमण चितवनमा आएका विदेशी पर्यटकमा देखा परेको थियो।

त्यसपछि सन् २००६ यता यो प्रकोपका रूपमा क्रमश: बढ्दै गएको छ। त्यस यता नेपालमा कम्तीमा १४ जनाले डेङ्गीका कारण ज्यान गुमाइसकेका छन्।

सन् २०१७ मा सबैभन्दा बढी दुई हजार एक सय ११ जनामा यो सङ्क्रमण देखिएको थियो।

लामखुट्टे
तस्बिरको क्याप्शन, डेङ्गी सार्ने लामखुट्टेले सफा र जमेको पानीमा फुल पार्छ

नेपालमा डेङ्गी भारतलगायतका देशबाट आएको भनिए पनि केही वर्षयता रैथाने डेङ्गी भाइरस पनि देखा परेको छ।

स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदन अनुसार नेपालका पहाडदेखि तराईका विभिन्न जिल्लामा डेङ्गी रोगको सङ्क्रमण बढ्ने क्रम जारी छ।